फागुन १२, २०७९
काठमाडौं । केही दिनयता एमालेलाई चिढ्याएर कांग्रेससँग नजिकिए पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड त्यहाँ पनि आफूअनुकूल पात्रलाई मात्र राष्ट्रपति बनाउने अडानमा छन् । कांग्रेसले दिएका उम्मेदवारलाई उनी नमान्ने भएका छन् । कांग्रेसभित्र पनि उम्मेदवार आफै छान्न खोजिरहेका छन् ।
एमालेलाई धोका दिएर कांग्रेस नेतृत्वको पुरानो गठबन्धन ब्युँताउन लागिपरेका दाहाल कांग्रेसले रामचन्द्र पौडेलकै पक्षमा अडान लिए साथ नदिने अडान लिएका छन् । उनले कांग्रेसकै कृष्णप्रसाद सिटौलाको नाम लिएर उक्त पार्टीभित्र द्वन्द्व र अविश्वास बढाउने काम गरिरहेका छन् ।कांग्रेसभित्र पनि पौडेललाई राष्ट्रपति बनाउँदा एक सिट भए पनि गुम्ने भएकाले गैरसांसदलाई राष्ट्रपति बनाउनुपर्ने आवाज उठिरहेको छ । रामचन्द्र तनहुँबाट जितेका सांसद हुन् भने सिटौला झापाबाट पराजित भएका हुन् ।
यता जनता समाजवादी पार्टी र एकीकृत समाजवादी पार्टीसँगको छलफलमा भने माओवादीले कांग्रेस उम्मेदवारलाई सघाउनेबारे एक शब्द उच्चारण गरेनन् । बिहीबार दिनभर तिनै दुई दलसँग द्विपक्षीय र त्रिपक्षीय छलफल गरेका माओवादी नेताहरुले कांग्रेसका उम्मेदवारको सट्टा माधव नेपालको नाममा छलफल गरेका हुन् । नेपाललाई सघाउने विषयमा उनीहरुबीच करिब सहमति पनि बनेको छ । यद्यपि नेपाललाई एमालेको उम्मेदवार नमानेर पुरानै गठबन्धनको उम्मेदवार मानेर जिताउनुपर्ने तर्क प्रचण्डको थियो ।
शुक्रबार बिहानै कांग्रेस र माओवादीबीच थप छलफल हुँदै छ । सम्भवतः कांग्रेस नेताहरुलाई दाहालले स्पष्ट शब्दमा सिटौलाको नाममा सहमति जुटाउन प्रस्ताव गर्नेछन् । त्यसले कांग्रेसभित्र नयाँ प्रकारको भाँडभैलो सुरु हुनेछ । कांग्रेस सभापति शेरबहादुर देउवाले गत महाधिवेशनमै पौडेललाई राष्ट्रपति बनाउने लोभ देखाएर सभापतिको दौडबाट रोकेका थिए ।
अहिले फेरि धोका हुने भएपछि पौडेल थप विचलित भइरहेका छन् ।पौडेलले आफूलाई धोका हुने संकेत पाएपछि बुधबार एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग पनि भेटेर छलफल गरेका थिए । उनले नेपाललाई प्रधानमन्त्री बनाउने आश्वासन पनि दिएका थिए । तीन वर्ष दाहाललाई प्रधानमन्त्री बनाउने र बाँकी एक–एक वर्ष देउवा र नेपाललाई बनाउन सकिने पौडेलको प्रस्ताव थियो । त्यसपछि नेपालले आफूलाई प्रधानमन्त्री बनाउने ग्यारेन्टी खोजेका थिए । पौडेलले यही कुरा कांग्रेस र एससँगको छलफलमा उठाउन खोज्दा अहिले त्यसतिर प्रवेश गर्न नहुने भन्दै देउवाले रोकेका थिए । किनभने प्रचण्डले खाएर बाँकी रहेको अवधि अर्थात् अन्तिमका दुवै वर्ष देउवा आफै प्रधानमन्त्री बन्न चाहन्छन् ।
यता एमालेलाई धोका दिने सम्भावना बढेपछि दाहालसँग केपी शर्मा ओली नराम्रोसँग चिढिएका छन् । कांग्रेसले प्रधानमन्त्री पद नदिँदा रन्थनिएर बालकोट पुगेका बेला आफैले काँध थापेको दुई महिनामै धोका दिन तयार हुने प्रचण्डप्रति ओलीले बिहीबार सार्वजनिकरुपमै पनि आक्रोश पोखिसकेका छन् । फागुन १ गतेलाई उनले जनयुद्ध दिवस नभई हिंसा दिवस भनेर टिप्पणी गर्दै आफै सहभागी रहेको सरकारका निर्णयप्रति उनले रुखो टिप्पणी गरेका छन् ।
एमालेलाई धोका दिइसकेको र कांग्रेसभित्र पनि खेल्न खोजेको अवस्थामा अन्ततः प्रचण्ड दुवै दलबाट बहिष्कृत हुने सम्भावना पनि उत्तिकै छ । प्रचण्ड अति बाठो हुन खोज्दा एमाले र कांग्रेस मिलेर उनलाई नै सडकमा ल्याइपुर्याउने सम्भावना टरिसकेको छैन ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८