माघ २०, २०७९
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड यतिखेर आफ्नो राजनीतिक धरातल बिर्सेर आफै उभिएको ठाउँमा खाल्डो खन्न लागिपरेका छन् । उनको यो कालीदासप्रवृत्तिले वर्तमान सत्ता गठबन्धन जोखिममा पर्न लागेको धेरैको आकलन छ । तर आसन्न घटनाक्रम उनले चाहेअनुसार अगाडि बढ्ने पनि सम्भावना छैन । बरु उनी स्वयंको राजनीति धरापमा पर्दै छ । माओवादीभित्रको एकता संकटमा पर्दैछ ।प्रधानमन्त्री दाहाल एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्णय क्षमताका कारण सत्तामा पुगेका हुन् । यस सरकारको अर्को प्रमुख स्तम्भ राष्ट्रिय स्वतन्त्र पार्टी हो । प्रचण्ड अहिले यी दुवै शक्तिलाई चिढ्याउने र धोका दिने बाटोमा अग्रसर भएका छन् । कांग्रेस नेताहरु र केही बाह्य शक्तिको दबाब र उक्साहटमा उनी आफै उभिएको जग भत्काउन घुँडा धसेर लागिपरेका छन् ।
रास्वपा सभापति रवि लामिछानेले अदालतको आदेशअनुसार नागरिकता लिइसक्दा पनि गृह मन्त्री नदिनु दाहालको बेइमानीको पराकाष्ठा हो । दाहालले रविलाई पद र शक्तिको लालसा आकण्ठ भएको आफूसरहकै एक मामुली राजनीतिज्ञका रुपमा बुझेका हुन सक्छन् । यदि यही बुझाइ हो भने उनको सबैभन्दा ठूलो गल्ती यही हुनेछ ।
रवि एक मामुली राजनीतिज्ञ होइनन् । उनी समयको माग हुन् । उनी आजका पुस्ताको विद्रोहका विम्ब हुन् । समाजमा व्याप्त निराशाका प्रतिनिधि आवाज हुन् । उनलाई अपहेलित गर्ने र दूषित सत्ता खेलको दुष्चक्रमा फसाएर आफूसरह नै बनाउने प्रयास सहजै सम्भव हुने छैन ।
थाहा छ कि यो समीकरण नेपालमा अस्थिरता चाहने विदेशी शक्तिका लागि प्रिय छैन । जतिसक्दो चाँडो भत्काउन भारतीयको आदेश हुन सक्छ । त्यस खालका आदेश र निर्देशको सामना गर्ने नैतिक शक्ति दाहालसँग नहुनु पनि कुनै अनौठो होइन । तर अन्तिममा दाहालले के बुझ्नुपर्छ भने उनी जतिसुकै असुरक्षित भए पनि नेपाल र नेपालीका लागि उनले जोखिम मोले भने उनको सुरक्षा नेपालीले नै गर्नेछन् । उनले जति नै बाह्य शक्तिलाई खुसी पार्न खोजे पनि उनको शक्ति क्षय भएको क्षणदेखि कसैले वास्ता गर्ने छैन । त्यसैले आफ्नो राजनीतिक इमान र धरातल दाउमा राखेर बाह्य शक्तिको सेवा गर्न उनले छाड्नुपर्छ ।
यतिखेर बाह्य शक्तिको अर्को दाउ भनेको राष्ट्रपतिमा आफूअनुकूल पात्र ल्याउनु । त्यसका लागि कांग्रेस, माओवादी र तराईका शक्तिहरुलाई एक ठाउँमा मिसाउनु । अनि रवि लामिछाने र केपी ओलीलाई जिल्याउनु । आफ्नो उद्देश्य पूरा भएपछि उक्त शक्तिले दाहाललाई पनि माया गर्ने छैन । यो पनि स्पष्टतः बुझे हुन्छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी पुस ११ देखि सरकारमा छ । पार्टी सभापति रवि लामिछानेले नागरिकताको मुद्दामा माघ १३ गते उपप्रधानमन्त्री तथा गृहमन्त्री पद गुमाए पनि स्वतन्त्र पार्टीका तर्फबाट दुई जना मन्त्री र एक जना राज्यमन्त्री सरकारमै छन् । नेपाली नागरिकता पुनः कायम भएपछि लामिछानेले फेरि गृह मन्त्रालयमा फर्किन चाहेका छन् र एमाले अध्यक्ष ओलीले त्यसमा साथ दिइरहेका छन् ।तर प्रधानमन्त्री पुष्पकमल दाहालले राहदानीबारे छानबिन गर्नुपर्ने देखिएको भनेर उनलाई त्यो मन्त्रालय दिन मानेका छैनन् । जसका कारण सरकारमा बस्ने कि नबस्ने भनेर निर्णय लिन राष्ट्रिय स्वतन्त्र पार्टी सघन छलफलमा छ । बिहीबारको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले दुई दिन कुर्ने निर्णय लिएको छ । साथै सत्ता गठबन्धनको उच्चस्तरीय संयन्त्र बैठकमा यो कुरा उठाउने उसको तयारी छ ।
लामिछानेको सांसद पद गुमे पनि स्वतन्त्र पार्टीसँग १९ सांसद छन् । सत्ता गठबन्धनको तेस्रो ठूलो शक्ति स्वतन्त्र पार्टीले लिने निर्णयलाई लिएर अहिले सर्वत्र चासो छ । स्वतन्त्र पार्टीलाई चिढ्याउँदै गएमा ओलीले पनि दाहाललाई समर्थन गरिरहने छैनन् । बरु गठबन्धन नेतृत्वको अबको प्रयास माओवादीलाई विभाजन गर्नेमा केन्द्रित हुनेछ । यस कामका लागि जनार्दन शर्मा नेतृत्वको एक समूह तम्तयार छ । सके दाहाललाई पार्टीबाटै निकाल्ने, त्यो सम्भव नभए विभाजन अवश्य गर्ने योजनका साथ धेरै चरणका काम भइसकेका छन् । माओवादीको उक्त खेमाको बालकोटतिर आउजाउ र उठबस बढेको छ । राष्ट्रपतिको चुनावअगाडि नै राष्ट्रिय राजनीतिमा उलटपुलट भइहाले कुनै आश्चर्य नमान्दा हुन्छ ।
यसको सबैभन्दा निकट र सुगम परिणाम भनेको प्रधानमन्त्री दाहालको सडकमा अवतरण हो । त्यसैले रास्वपाले दिएका दुई दिन दाहालका लागि अन्तिम मौका हो । रवि र केपीलाई चिढ्याउनु भनेको आफ्नै खुट्टामा बन्चरो हान्नुजत्तिकै आत्मघाती हो । आफैले खाएको थालमा थुकेजत्तिकै अनैतिक हो ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८