माघ १४, २०७९
रवि लामिछानेले गरेको सानो कार्यविधिगत अपरिपक्वताले उपप्रधानमन्त्री, गृहमन्त्री, सांसद र राष्ट्रिय स्वतन्त्र पार्टीको अध्यक्ष गरी चारवटा पद एकसाथ गुमेका छन् । उनले जितेको चितवन क्षेत्र नं २ मा पुनः चुनाव गर्नुपर्ने भएको छ । उनको पार्टीले तत्कालका लागि डोलप्रसाद अर्याललाई नयाँ अध्यक्ष चयन गरिसकेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले गृह मन्त्रालयको जिम्मेवारी तत्काल अरु कसैलाई नतोक्न सक्नेछन् । यो मन्त्रालय स्वतन्त्र पार्टीकै भागमा रहने भएकाले पनि तत्काल अर्को तोक्दा अरु राजनीतिक समस्याहरु आइलाग्नेछन् ।अब रविसँग आफ्नो नागरिकता कार्यविधिगत प्रक्रिया पूरा गरी पुनः प्राप्ति गराउनुको विकल्प छैन । आइतबार बिहान ९ बजे नै काठमाडौँ जिल्ला प्रशासन कार्यालय गरेर अमेरिकी नागरिकता त्यागेको निस्सा बुझाएर नेपाली नागरिकता उनले जगाउन सक्नेछन् । नेपाली नागरिकता हातमा आउनेबित्तिकै उनीमाथि अहिलेसम्म उठिरहेका धेरै प्रश्न त्यसै सेलाउनेछन् ।उनी नेपाली नागरिक भइसकेपछि पार्टी अध्यक्ष हुन पाउनेछन् । चितवनमा हुने उप निर्वाचनमा उम्मेदवार बन्न पाउनेछन् । फेरि जितेर आएर उपप्रधान तथा गृह मन्त्री बन्न कसैले रोक्न सक्ने छैन ।
नागरिकता पुनः कायम गराउनेबित्तिकै उनी मन्त्री बन्न पनि सक्नेछन् । किनभने मन्त्री बन्नका लागि सांसद नै हुनुपर्छ भन्ने छैन । ६ महिनाभित्र संसदको कुनै पनि सदनको सदस्यता लिने गरी अहिले नै उनलाई मन्त्री नियुक्त गर्न नसकिने होइन । तर उनीमाथि एकसाथ दुई देशको राहदानी प्रयोग गरेको आरोप पनि छ । त्यसबारे प्रहरी र प्रशासनले अनुसन्धान एवं छानबिन गरिरहेका छन् । यस विषयमा अब गृह प्रशासनले यथाशीघ्र छानबिन गरी टुंगो लगाइदिनुपर्छ । यो अनुसन्धान नटुंगिएसम्म रविले कुनै पनि सार्वजनिक पदमा जान्न भनेर भन्न सक्नुपर्छ । नजानु पद गइसक्यो । अब फेरि पनि कमजोर धरातलमा उभिएर आफूमाथि प्रश्न उठ्ने ठाउँ बाँकी नै राखेर सत्तामा जाने हतारो देखाउनुहुँदैन । उनी अब लामो दौडको घोडा बन्नुपर्छ ।
रविको मुद्दामा सर्वोच्च अदालतले आँट गर्यो भन्नेहरु धेरै छन् । निर्भीकता देखायो भनेर सामाजिक सञ्जालदेखि चिया पसलहरु तातेका छन् । हो, बहालवाला गृहमन्त्रीको गाडीबाट झन्डा झिकिदिनु र उदीयमान शक्तिको नेताको रफ्तारमा ब्रेक लगाउनु आँटकै विषय हो । साथसाथै यो आँट रविको मुद्दामा मात्र नभई अरुमा पनि देखाउन सकेको भए अदालत र कानुन सबैलाई समान व्यवहार गर्छ भनेर पनि मान्न हुन्थ्यो । माधव नेपाल र बाबुराम भट्टराईको मुद्दा आए पन्छिने । अग्नि सापकोटालाई सधैँ छूट दिइरहने । अरु कयौँ मुद्दाका पक्षहरुलाई अदालत धाउन लगाएरै थकाउने र धर्धरी रुवाउने । अनि एकजना रविको लागि अदालतले अतिरिक्त हतारो देखाउँदा निर्भीकताको डंका पिटाउनु कति उचित र जायज हुन्छ रु यो पक्ष पनि विचारणीय छ ।
२०७४ सालको चुनावका विषयमा दायर भएका दर्जनौँ मुद्दा अहिले पनि संवैधानिक इजलासले फैसला गरेको छैन । गिरिबन्धु टी स्टेटको मुद्दामा पूर्ण सुनुवाइ गर्ने फुर्सद वरिष्ठ न्यायाधीशहरुले निकाल्न सकेका छैनन् । अरु पनि राष्ट्रिय महत्त्वका यस्ता मुद्दा छन्, जसमा तत्काल अदालतको निर्णय चाहिएको छ । तर, ती मुद्दाका हकमा न्याय निदाएको छ । विशेष मुद्दाहरूमा मात्र जाग्ने न्यायले समन्यायको सन्देश दिन सकिरहेको छैन ।
अदालतले चाहेमा समयमै न्याय निरुपण हुन सक्छ भन्नका लागि भने यो मुद्दा नमुना बनेको छ । यसको प्रारम्भिक सुनुवाइमा इजलासले अन्तरिम आदेश दिएन । तर अर्को सुनुवाइको तिथि इजलासले नै तोक्यो र कर्मचारीले चलखेल गर्ने ठाउँ समाप्त पारियो । कुनै पनि बहानामा स्थगित वा पेसी सार्ने काम गर्न नपाउने आदेशमै लेखियो ।त्यस्तै म्याद तामेल र अन्य प्रक्रियामा हुन सक्ने झैझमेलाका लागि समेत इजलासले नै कठोर आदेश दिइसकेको थियो । त्यस्तै बुधबार पूर्ण सुनुवाइ सुरु हुनुअघि इजलासले नै वकिलहरुलाई समय निर्धारण गरिदियो । इजलासले बुधबार नै फैसला दिने मनःस्थिति बनाएको देखिन्थ्यो । तर त्यस दिन केही लम्बिए पनि निर्णय प्रक्रया नै प्रभावित हुने गरी मुद्दाका पक्षहरुबाट कुनै चलखेल हुन सकेन । शुक्रबार केहीबेरको बहसपछि न्यायाधीश च्याम्बरमा प्रवेश गरे । साँझपख फैसला सुनाइयो । शीघ्र न्यायको यो अनुभूति अरु आमनागरिकका मुद्दामा पनि हुन पाए कति राम्रो हुने थियो रु अदालतप्रति जनास्था बढेरै नै जाने थियो । के यसतिर न्यायमूर्तिहरूको ध्यान गएको छ त ?
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८