पुस २९, २०७९
प्रतिनिधिसभामा सबैभन्दा धेरै सिट जिते पनि नेकपा माओवादी केन्द्रलाई साथमा राख्न नसक्दा नेपाली कांग्रेस केन्द्रदेखि प्रदेशमा सत्ताबाहिर पुग्यो । प्रधानमन्त्री र राष्ट्रपति छाड्नै नसकिने कांग्रेस नेताहरुका अडानले कुनै पनि पद नपाउने स्थिति बन्यो । माओवादी केन्द्रसँगको गठबन्धन नटुटेको भए यी दुईमध्ये एक पदका साथै चार प्रदेशको मुख्यमन्त्री पनि कांग्रेससँगै हुन्थ्यो । अन्तिम समयमा गठबन्धन टुटेपछि सत्तामा ढिम्किनै नसक्ने अवस्था बन्यो ।
दोस्रो ठूलो दल नेकपा एमालेको नेतृत्वमा नयाँ गठबन्धन बनेपछि रन्थनिएको कांग्रेस संसदीय व्यवस्थाका सम्पूर्ण मूल्यमान्यतालाई तिलान्जली दिएर आफूविरुद्धको गठबन्धनबाट कुनै एक पदको भाग पाउनका लागि माओवादीसँग हारगुहार गरिरहरेको छ । यसका लागि सत्ता गठबन्धनभित्र अविश्वास बढाउने रणनीतिमा लागेको छ । खासगरी उसले माओवादी केन्द्र र नेकपा एमालेबीच दरार उत्पन्न हुने कदम चालिरहेको छ । उसलाई नेकपा एकीकृत समाजवादीले पनि साथ दिइरहेको छ ।
प्रतिपक्षमा बस्ने भन्दै आएको नेपाली कांग्रेसले पुस २६ गते संस्थागत निर्णय गरेरै प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दियो । विश्वासको मत पनि दिने तर प्रतिपक्षमा पनि बस्ने उसको निर्णयलाई राजनीतिक अपरिपक्वता र द्वैध चरित्रका रुपमा अर्थाइएको छ । उसले भने स्थायित्वका लागि आफूहरुले उक्त निर्णय गरेको भन्दै केही पदका लागि मोलमोलाइ सुरु गरेको छ ।
प्रदेशमा लिएका निर्णय र बिहीबार मात्र शेखर कोइरालाले विराटनगर पुगेर दिएका अभिव्यक्ति हेर्ने हो भने कांग्रेस सत्ताबाट एक इन्च पनि पर बस्न नचाहेको प्रस्टै देख्न सकिन्छ । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनलाई हेरेर दाहाललाई विश्वासको मत दिएको कांग्रेसले हालको गठबन्धन भत्काएर आफू सत्तामा जान खोजेको बुझ्न गाह्रो छैन ।
सत्ता गठबन्धन अविश्वास बढाउन कांग्रेसले विभिन्न प्रदेशमा माओवादीका भागमा परेका कतिपय पदमा कांग्रेसले अप्रत्यक्षरुपमा सहयोग गरिरहेको छ । उदाहरणका लागि प्रदेश १ को सभामुख माओवादी केन्द्रको भागमा परेकामा कांग्रेसले उम्मेदवारी नै दिएन । माओवादी केन्द्रका बाबुराम गौतम बिहीबार सर्वसम्मत भए । तर बिहीबार नै कांग्रेसले बागमती प्रदेशको सभामुखमा भने राप्रपाका भुवन पाठकविरुद्ध उम्मेदवारी दियो । अघोषितरुपमा माओवादीलाई सहज हुने काम गरिरहे यो गठबन्धनमा अविश्वास बढ्ने र त्यसको लाभ आफूलाई प्राप्त हुने आशा कांग्रेसका नेताहरुको छ ।
नेकपा एकीकृत समाजवादीले पनि कांग्रेसकै नीति अपनाइरहेको छ । केन्द्रमा प्रधानमन्त्रीलाई विश्वासको मत दिए पनि प्रतिपक्षमा बस्ने भनेको एकीकृत समाजवादीले बाग्मती र कर्णालीमा माओवादी केन्द्रका नेतालाई मुख्यमन्त्री बनाउन समर्थन गरेको छ । जबकि एमाले मुख्यमन्त्री बनेका प्रदेशमा भने एकीकृत समाजवादीले समर्थन गर्न आवश्यक ठानेन ।
अहिलेको भूमिकाले कांग्रेस र एकीकृत समाजवादी एमालेलाई सत्ता गठबन्धनबाट बाहिर पठाउन न्वारानदेखिकै बल लगाइरहेका छन् । सके प्रदेशसभा सदस्यसहितको मतबाट चुनिने राष्ट्रपति पद जसरी पनि हत्याउने, त्यो सम्भव नभए सभामुख पदमै भए पनि चित्त बुझाउने कांग्रेसको चालबाजी देखिन्छ । कांग्रेसले एकीकृत समाजवादीसहितका केही दललाई आफ्नो पक्षमा पार्ने, आफ्ना तर्फबाट उम्मेदवार उठाउने र माओवादीलाई पनि हात लिने रणनीतिका साथ राष्ट्रपति पद ताकेको छ ।
राष्ट्रपति पद नपाएपछि एमालेले दाहाललाई दिएको समर्थन फिर्ता लिने र आफू सत्तामा जान पाउने कांग्रेसको विश्लेषण छ । यस्तै प्रदेश सरकारमा कांग्रेसको पुनरागमन हुन सक्छ । तर कांग्रेस र एकीकृत समाजवादीले सत्ता गठबन्धनमा रोप्न खोजेको अविश्वासको बिउलाई मलजल गर्ने नगर्ने दाहालको हातमा छ । उनले साथ नदिए कांग्रेस र एकीकृत समाजवादीको योजना तुहिनेछ । सत्तालोलुप यस चरित्रले कांग्रेसलाई जनताको नजरबाट फेरि पनि गिराउनेछ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८