पुष २४, २०७९
अदालतबाट गलहत्याइने पूर्वाभास पाएपछि यसरी देखिँदै छ रविको छटपटी
काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादमा सर्वोच्च अदालतले शुक्रबार अन्तरिम आदेश त दिएन । तर यस विषयलाई गम्भीरतासाथ लिएर चाँडै विवाद टुंग्याउने गरी कडा आदेश भने जारी गर्यो । उक्त विवादसँग सम्बन्धित कागजात झिकाउने, माघ ११ गते पूर्ण सुनुवाइमा लैजाने र कुनै पनि पक्षले स्थगित गर्नसमेत नपाउने बुँदा संवैधानिक इजलासको आदेशमा उल्लेख छन् ।
नागरिकता विवादलाई अदालतले उच्चकोटिको अग्राधिकारमा राख्ने आदेश दिएलगत्तै रविले सार्वजनिक खपत र भावनाको व्यापार भन्न मिल्ने फेसबुक वक्तव्य जारी गरे । उनले वक्तव्यमा भनेका छन्- आकस्मिक अवस्थामा बाहेक साइरन बजाएर नागरिकलाई उछिन्दै हिँड्ने छैन । सार्वजनिक बिदाका दिन सरकारी गाडी चढ्ने छैन । सुरक्षाकर्मीका अगुवापछुवा लिएर हिँड्ने छैन । प्रहरी निरीक्षकको नेतृत्वलाई घटाएर प्रहरी नायब निरीक्षक (सई) को नेतृत्व सुरक्षाकर्मी राख्नेछु। सडक नियमको पूर्ण पालना गर्नेछु ।
त्यसको भोलिपल्ट अर्थात् शनिबार अर्को भावुक वक्तव्य दिएका छन् । सशस्त्र प्रहरी बलको हलचोकस्थित मुख्यालय पुगेर उनले पदीय जिम्मेवारी र यथार्थको धरातलभन्दा पनि भावुक र उत्तेजक प्रकारको अभिव्यक्ति दिएका छन् । उनले भनेका छन्- नागरिकको जनधनको सुरक्षा गर्ने नेपाल आमाका वीर सपुतहरुप्रति सलाम छ । मेरो कार्यकालभरि मात्र होइन, जीवन कालभरि तपाईंले गरेको सलामको इज्जत राख्नेछु । देशको जिम्मेवार मन्त्रीले यस्ता अमूर्त भावना व्यक्त गरेर के सन्देश दिन खोजेका हुन् भन्ने स्पष्ट हुँदैन । बरू उनको उद्देश्य कुनै प्रणालीगत सुधारभन्दा पनि अहिले सस्तो प्रचारबाजी र भावनाको व्यापारमा केन्द्रित रहेको प्रस्टै देख्न सकिन्छ ।
देशको उपप्रधान तथा गृहमन्त्रीले म नियम कानुन पालना गर्छु भनेर भनिरहनुपर्ने कुरा होइन । निजी गाडी चढ्छु भन्नु आफूसँग भएको धनको तुजुक देखाउनु हो । गृहमन्त्री भएर सार्वजनिक बिदाको कुरा गर्नु त झनै चटकीपनको हद हो । मन्त्रीको कहिले बिदा हुन्छ र ?अनि उनी सरकारी काममा कतिखेर हिँडे र निजी काममा कतिखेर हिँडे भनेर कसरी थाहा हुन्छ ? के उनले खरिदारले जसरी बिहान १० देखि साँझ ५ बजेसम्मको ड्युटी गर्न लागेका हुन्? के उनले हल्काराजसरी कागजात बोकेर हिँड्नुपर्ने हुन्छ र? भावुक कुरा गरेर जनतालाई दिग्भ्रमित बनाई संवेदनाको व्यापार गर्नुपर्ने निश्चित कारण हुन्छन् । सबैभन्दा मुख्य कारण हो– आफ्ना कमजोरी लुकाएर आफूमाथिको सम्भावित कारवाही रोक्न । कारवाही भइहाले समर्थकहरुबाट त्यसको विरोध र प्रतिरोध गर्न ।
अनि आफूलाई समाजले गर्न सक्ने तिरस्कारको मात्रा घटाउन । अहिले रविले त्यही गरिरहेका छन् । जसको नागरिकताकै टुंगो छैन । गृह प्रशासनले छानबिन गरिरहेको छ । अदालतले गम्भीरताका साथ लिएर तत्काल निर्णय लिनुपर्ने भनेको छ । मातहत निकायले छानबिन गरिरहँदा र अदालतले पनि गम्भीरतासाथ उनीमाथि पर्याप्त शंकासहित प्रश्नलाई ग्रहण गरेका बेला आफू गृह मन्त्रालयको शक्ति र सुविधा ओगटेर बस्नु कति नैतिक र जायज हुन्छ रु यत्ति कुरा मनन गर्न सकेका भए रविको छवि सङ्लिने थियो । उनले आफूमाथि उठेका प्रश्नको स्वतन्त्र र निष्पक्ष छानबिन होस् भनेर राज्यशक्तिबाट आफैलाई स्वनिलम्बनमा राख्न सक्नुपर्थ्यो । तब उनी कदर गर्नयोग्य उच्च नैतिकता भएका व्यक्ति मानिन्थे ।
तर उनी अहिले गृह प्रशासनको छानबिन तुहाउन र अदालतमा उठेका प्रश्नलाई पनि प्रभावित पार्न हरसम्भव प्रयास गरिरहेका छन् । एकातिर सस्तो प्रचारबाजी र भावनात्मक अभिव्यक्तिमार्फत् जनसमर्थन र सहानुभूति बटुल्ने । अर्कोतिर गृह मन्त्रालयको नेतृत्व आफैले गरी मातहत निकायलाई आफ्नो पक्षमा वातावरण बनाउन दबाब दिने । यति मात्र होइन आफ्नो पक्षमा वकालत गर्न महान्यायाधिवक्ता कार्यालयका सरकारी वकिल प्रयोग गर्ने । यो हदसम्मको अनैतिक चरित्र र शक्तिको दुरुपयोग अर्को के हुन सक्छ रु काठमाडौँका सीडीओले छानबिनमै रहेको विषयमा पहिला नै आफ्नो तर्फबाट सफाइसहितको निर्णय एवं राय अदालतलाई बुझाएका छन् ।
जुन तालुक अड्डाका प्रमुखको अस्वाभाविक चाकडी हो ।यसरी हेर्दा रविले आफू नागरिकता काण्डमा पदबाट गलहत्याइने कुराको पूर्वाभास पाइसकेका छन् । यही कारण उनमा अनौठो छट्पटाहट देख्न सकिन्छ र अदालतबाट गलहत्याइनुअघि सबै प्रकारका हत्कण्डा प्रयोग गरिरहेका छन् ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८