• भदौ ८, २०८३, सोमवार Monday, 24 August, 2026

बोक्सी आरोप लगाउने एकै परिवारका पाँचलाई कैद

  • रासस

बोक्सी आरोप लगाउने एकै परिवारका पाँचलाई कैद

पुस १४, २०७९

 

सप्तरी – ‘बोक्सी’ भन्दै गालीगलौज र कुटपिट गरेको अभियोगमा सप्तरीका एकै परिवारका पाँच जनालाई कैद र जरिमाना गरिएको छ ।

‘बोक्सी’ भन्दै २७ वर्षीया महिलालाई अमानवीय व्यवहार गर्ने सप्तरी अग्निसाइर कृष्णसवरन गाउँपालिका–२ का ५० वर्षीय रामदेव चौधरी, उनकी श्रीमती ४० वर्षीया सुनितादेवी, छोरा २३ वर्षीय प्रकाश, बुहारी २२ वर्षीया बबिता र रामदेवका भाइबुहारी ४० वर्षीया श्रीकुमारीलाई जिल्ला अदालतले जनही ६ महिना कैद र ५ हजार जरिमाना गरेको हो ।

जिल्ला न्यायाधीश डा। राजेन्द्रकुमार आचार्यको इजलासले पा“चै आरोपितलाई सजाय दिने आदेश दिएको अदालतका सूचना अधिकारी भरत पोखरेलले जानकारी दिए ।

त्यस्तै, पीडितले आरोपितबाट जनही ३ हजार क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने पनि आदेशमा उल्लेख छ । रामदेवका भाइ ४० वर्षीय श्यामदेवले भने अभियोगबाट सफाइ पाएका छन् ।

आरोपितका छोराछोरी बिरामी पारेको दोष लगाई १० माघ २०७८ मा बोक्सी आरोप लगाउँदै कुटपिट गर्ने अरोपितविरुद्ध पीडितले कञ्चनरूप इलाका प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् ।

घरको कोठामा प्रवेश गरी आरोपितहरूले ‘बोक्सी’ भन्दै गालीगलौज र कुटपिट गरेको पीडितको भनाइ थियो । इलाका प्रहरी कार्यालयले २० माघमा उजुरी दर्ता गरेपछि २५ माघमा उनीहरूलाई पक्राउ गरिएकामा सुनिताले ३० हजार र रामदेवले २० हजार धरौटी राखेर रिहा भइ तारिक खेप्दै आएका थिए ।

यसैगरी, गत ११ जेठमा हाजिर भएका प्रकाश र बबिता पनि जनही १० हजार धरौटी राखेर बाहिरिएका थिए ।

  • प्रकाशित मिति : पुस १४, २०७९, बिहीवार १०:१२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८