• भदौ ८, २०८३, सोमवार Monday, 24 August, 2026

गुपचुप लुक्न आएका चार्ल्स शोभराज कसरी सेलिब्रिटी भएर फर्किए ?

  • खबरदाता

गुपचुप लुक्न आएका चार्ल्स शोभराज कसरी सेलिब्रिटी भएर फर्किए ?

पुस ९ ,२०७९

 

सर्वोच्च अदालतले फ्रान्सेली कुख्यात अपराधी चार्ल्स शोभराजलाई १५ दिनभित्र स्वदेश फर्काउने व्यवस्था मिलाउन पुस ६ मा आदेश दियो । त्यसको दुई दिनपछि शुक्रबार उनी कारागारमुक्त मात्र भएनन्, स्वदेश फर्किए । गृह मन्त्रालयले १० वर्षसम्मका लागि निष्काशन गर्ने निर्णय गरेका शोभराजलाई अध्यागमन विभागले साँझ ६ बजे कतार एयरवेजको उडानमार्फत् उनकै देश फ्रान्स पठाएको हो ।

आफ्ना अपराध शृंखला घटाउन र दबाउन गुपचुप नेपाल आएका उनी अन्ततः एक प्रकारले सेलिब्रिटी भएर फर्किएका छन् । उनको रिहाइ र स्वदेश फिर्ती विश्व सञ्चार माध्यमकै शीर्ष समाचार बन्न पुगेको छ ।२०३२ सालमा दुई दिनभित्र दुई विदेशी नागरिकको हत्या गरेका शोभराज १९ वर्ष २ महिना नेपालमै कैद बसे । उनलाई सर्वोच्च अदालतको आदेशमा केन्द्रीय कारागार व्यवस्थापनले शुक्रबार कैदमुक्त गरी अध्यागमन विभागको जिम्मा लगाएको थियो । सर्वोच्चले ७७ वर्ष उमेर भइसकेको र ७५ प्रतिशत सजाय काटिसकेपछि बाँकी सजाय मिनाहा हुने कानुनी व्यवस्था देखाएर रिहा गर्न आदेश दिएको थियो ।

सो आदेशका आधारमा भक्तपुर र काठमाडौं जिल्ला अदालतले शोभराजलाई रिहा गर्न कारागार व्यवस्थापनलाई बिहीबार अनुमति दिएका थिए । कारागारबाट अध्यागमन विभागमा पुर्‍याइएपछि दिनभर कागजी प्रक्रिया तयार पार्ने काम भयो । शोभराज पक्षले टिकटको व्यवस्था गर्‍यो । अनि पत्नी र प्रेमिका भनिनेहरुलाई नेपालमै छाडेर एक्लै स्वदेश उडे ।

शोभराजले किशोरवयमै अपराधमा हात हाले । भारतीय मूलका बाबु र भियतनामी आमाका सन्तान शोभराज पहिलोपटक ५९ वर्षअघि चोरीको आरोपमा जेल परेका थिए । जेलबाट छुटेपछि पनि उनले अपराधलाई नै निरन्तरता दिए । ३० वर्षको उमेरमा उनले पहिलो हत्या गरे । उनीविरुद्ध भारत, टर्की, थाइल्याण्ड, इरानलगायत देशमा २० जनाभन्दा बढीको हत्या गरेको अरोप छ ।

२०३२ मा नेपाल आएका बेला अमेरिकी युवती कोन्निजो ब्रोन्जिजको काठमाडौंको मनहरा र त्यसको दुई दिनपछि क्यानाडेली महिला लरेन्ट अरमान क्यारिअरेको भक्तपुरको साँगामा हत्या गरे । नेपाल आउनुअघि उनले थाइल्याण्डमा ३ पर्यटकको हत्या गरेका थिए । नेपालबाट भागेर भारत गएका शोभराज त्यहाँ फ्रान्सका पर्यटकलाई विष खुवाएको आरोपमा पक्राउ परेका थिए । भारतमा १२ वर्षको कैद सजाय सुनाइएकामा १० वर्षपछि जेलमै जन्म दिनको भोज खुवाउने बहानामा औषधी मिसाएर खाना खुवाई उनी भाग्न सफल भएका थिए ।

शोभराज २०६० मा नेपाल आए । ३०३२ मा फरार भएका शोभराज २८ वर्षपछि नेपाल प्रहरीको पञ्जामा परे । काठमाडौं र भक्तपुर जिल्ला अदालतले सर्वस्वसहित जन्मकैदको फैसला सुनाए । उनी २०६० मै केन्द्रीय कारागार चलान भएका थिए ।शोभराजले २०६५ मा कारगारमै निहिता विश्वाससँग बिहे गरे । निहिता उनको पक्षमा वकालत गरेकी कानुन व्यवसायी शकुन्तला थापाकी छोरी हुन् । उनै निहिता केही वर्षयता कानुन व्यवसायीका रुपमा शोभराजलाई छुटाउन सक्रिय रहिन् । शोभराजले २०६७ फागुन २७ मा जेलभित्रै भारतीय नागरिकमार्फत् युनुस अन्सारीको हत्या गरे । सो घटनामा पनि उनलाई ५ वर्ष कैद सजाय तोकियो ।

सेलिब्रेटी सिरियल किलरका रुपमा कुख्यात शोभराजका अपराध श्रृंखलाबारे लाइफ एण्ड क्राइम अफ चार्ल्स शोभराज नामक किताबसमेत छापिएको छ । त्यस्तै ओटीटी प्लेटफर्म नेटफ्लिक्सले उनकै विषयमा केन्द्रित भएर द सर्पेन्ट नामक सिरिज नै तयार गरेको छ । भारतमा मे और चार्ल्स नामक चलचित्र बनेको छ ।
कारागारमुक्त भएर स्वदेश फर्किएका शोभराजलाई नेपाल सरकारले १० वर्षसम्म नेपाल आउन नपाउने गरी निष्काशन गर्दा पनि सेलिब्रिटीजस्तै भएर फर्किएका छन् ।

  • प्रकाशित मिति : पुस ९, २०७९, शनिवार ०७:०९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८