• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

फास्ट ट्रयाक विवादः अरू न्यायाधीश तर्किए, मोक्तानले आँट गरे

  • खबरदाता

फास्ट ट्रयाक विवादः अरू न्यायाधीश तर्किए, मोक्तानले आँट गरे

पुस ७, २०७९

 

तराई–मधेस द्रूतमार्गअन्तर्गत छैटौँ प्याकेजको ठेक्का विवादमा धेरै न्यायाधीश पन्छिँदै आएकामा न्यायाधीश टंकबहादुर मोक्तानले अन्तरकालीन अन्तरिम आदेश दिएका छन् ।

उनको एकल इजलासले बुधबार सर्वोच्च अदालतले दुवै पक्षलाई अन्तरिम आदेशका लागि झिकाएका बेला सेनाले विवादित कम्पनीसँग ठेक्का सम्झौता गर्न लागेकोमा तत्काल त्यो काम रोक्न भनेको छ ।नेपाली सेनाले चिनियाँ ठेकेदार कम्पनीलाई २६ मंसिरमा चिठी पठाएर १५ दिनभित्र ठेक्का सम्झौताका लागि जंगी अड्डामा उपस्थित हुन भनेको थियो । यसका लागि २ अर्ब ३१ करोड ७ लाख ७६ हजार ८०० रुपैयाँ रुपैयाँ पर्फर्मेन्स सेक्युरिटीका लागि बैंक ग्यारेन्टी प्रस्तुत गर्न पनि पत्राचार गरिसकेको छ ।

अन्तरिम आदेश हुने नहुने विषयमा छलफल गर्ने भनी सर्वोच्चकै प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसहितको संयुक्त इजलासले भनिसकेको अवस्थामा हतारहतार जंगी अड्डाले चिनियाँ ठेकेदारलाई ठेक्का सुम्पिने उद्देश्यले प्रक्रिया अघि बढाएको भन्दै भारतीय कम्पनीका प्रतिनिधि अर्को रिट निवेदन लिएर सर्वोच्च पुगेका थिए । मंगलबार परेको उक्त रिटमा सर्वोच्चले अन्तरकालीन आदेश जारी गरेको हो ।

कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की र न्यायाधीश पुष्पलता माथेमाको इजलासले २० मंसिरमा गरेको सुनुवाइपछि २६ मंसिरमा ठेक्काका सक्कल दस्तावेज पेस गर्न आदेश दिएको थियो । सेनाले २६ मंसिरमा नै चिनियाँ फर्स्ट हाइवे इन्जिनियरिङ कम्पनी लिमिटेडलाई चिठी लेखेर १५ दिनभित्र ठेक्का सम्झौताका लागि जंगी अड्डामा बोलाएको थियो । सेनाको यस निर्णयविरुद्ध भारतीय कम्पनी एफ्कोन्स इन्फ्रास्ट्रक्चर कम्पनीका तर्फबाट मंगलबार पूरक रिट निवेदन दायर भएको थियो।

यसअघि आयोजना प्रमुख प्राविधिक सहायकरथी कमलविक्रम शाहद्वारा हस्ताक्षरित चलानी नम्बर १५८५३ रहेको चिठीमा चिनियाँ कम्पनीलाई १५ दिनभित्र ठेक्का सम्झौता गर्न बोलाइएको थियो । चिनियाँ कम्पनीले प्रस्ताव गरेको १८ अर्ब आठ करोड ६ लाख २७ हजार ९७५ रुपैयाँमा फास्ट ट्रयाकको छैटौँ प्याकेज निर्माण गर्ने प्रस्ताव गरेको छ ।यस विषयमा परेका पुराना निवेदनमा सर्वोच्चका धेरै न्यायाधीश सुनुवाइ नगरी पन्छिँदै आएका थिए । सेना संलग्न भएका प्रायः मुद्दामा न्यायाधीशहरु पन्छिने गरेको पाइन्छ । त्यसमाथि यस प्रकरणमा भारत र चीनको भूराजनीतिक दाउपेच देखिन्छ । दुवै देशले यसलाई प्रतिष्ठाकै विषय बनाएको घटनाक्रमले देखाउँछ ।

न्यायाधीश मोक्तानको आदेशले ठेक्का प्रक्रिया तत्कालका लागि रोकिएको छ भने अब अन्तरिम आदेश हुने कि नहुने भनेर निर्णयमा पुग्न पनि अदालतलाई दबाब पुगेको छ । यसका लागि अर्को पेसी शुक्रबारलाई तोकिएको छ । अब यो विषय दुई न्यायाधीशको इजलासमा पेस हुनेछ र यसअघिका निवेदन पनि सँगै राखेर हेर्न सकिनेछ ।

छैटौँ प्याकेजमा सुरुमा प्राविधिक प्रस्ताव अस्वीकृत भएको चिनियाँ कम्पनीलाई योग्य ठहर गर्ने सार्वजनिक खरिद पुनरावलोकन समितिको निर्णय यस प्रकरणको मुख्य विवादित पक्ष हो । यो विषय पहिलोपल्ट ८ मंसिरमा सर्वोच्च अदालत पुगेको थियो । अदालतले समयमा निर्णय नदिए राष्ट्रिय गौरवको यो आयोजना नै अलपत्र पर्न सक्नेछ भने लागत पनि बढ्दै जानेछ।

  • प्रकाशित मिति : पुस ७, २०७९, बिहीवार ०६:२४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८