• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

नारायणगढमा सडक सीमाभित्रका संरचनामा डोजर चलाइँदै

  • खबरदाता

नारायणगढमा सडक सीमाभित्रका संरचनामा डोजर चलाइँदै

पुस ६,२०७९

 

 

भरतपुर – गोन्द्राङ छ लेन सडक विस्तारका क्रममा सडक सीमाभित्र रहेका घरटहरामा डोजर चलाइने भएको छ । डिभिजन सडक कार्यालय भरतपुरले डोजर चलाउन लागेको हो ।

कार्यालयले दुई पटकसम्म सूचना जारी गर्दासमेत घरधनीले अटेर गरेपछि भत्काउन लागिएको हो । कार्यालय प्रमुख रमेशप्रसाद पौडेलका अनुसार पुल्चोकबाट भरतपुर बसपार्कसम्म ५८ घर सडक सीमाभित्र पर्दछन् । सडक सीमाभित्रका घरका टप तथा कौसी भत्काउनुपर्नेको सङ्ख्या एक सयभन्दा माथि छ । ती घरहरुको टपबाहेक १० सेन्टिमिटरदेखि एक दशमलव पाँच मिटरसम्म भत्काउनुपर्ने देखिएको छ ।

पौडेलका अनुसार आगामी साताबाट घर भत्काउन थालिने भएको छ । हेबी इक्युप्मेन्ट डिभिजन कार्यालय हेटौँडाबाट एक्साभेटर मगाइँदैछ । उनले भने , “आज हामी प्रमुख जिल्ला अधिकारीसँग बसेर छलफल गरी आउँदो साताबाट घरटहरा भत्काउन सुरु गर्दैछौ ।”

सडक ५० मिटर फराकिलो हुने भएकाले त्यसभित्र परेका संरचना भत्काइने उनले बताए । यसअघि ३५ दिन र १५ दिनको समय दिएर सूचना जारी गर्दा अटेर गरेको बताए । सो सडक विस्तारको काम भइरहेको छ ।

प्रजिअ अस्मान तामाङले डिभिजन सडक कार्यालयको काममा सहयोग गरिने बताए । उनले भने , “उहाँहरुले कहिलेबाट काम थाल्नुहुन्छ, आवश्यक सुरक्षा हामी दिन्छौँ ।” भत्कने धेरै घर नारायणगढ बजार क्षेत्रका छन् । केही घरहरु भरतपुरको हाकिमचोक लगायतका क्षेत्रका छन् ।

घरधनीहरुले तत्कालीन भरतपुर नगरपालिकामा नक्सा पास गरेकाले जबर्जस्ती भत्काउन नहुने भन्दै वैकल्पिक उपायको खोजी गर्नुपर्ने बताउँदै आएका छन् ।रासस

  • प्रकाशित मिति : पुस ६, २०७९, बुधवार १५:२८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८