कात्तिक १६, २०७९
चितवनमा घर जग्गाको कारोबारमा गिरावट आएको छ । मालपोत कार्यालय भरतपुरका अनुसार पछिल्लो ६ महिनाको अन्तरालमा घरजग्गा कारोबार झण्डै आधाले घटेको हो ।
गत वैशाखदेखि असोजसम्मको तथ्यांकअनुसार चितवनमा घरजग्गा कारोबार आधाले घटेको पाइएको कार्यालयका प्रमुख शेरबहादुर भण्डारीले बताए । बैंकबाट कर्जा पाउन कठिन र ब्याजदरमा वृद्धि हुँदा घरजग्गा कारोबार शिथिल बनेको उनको भनाइ छ । उनका अनुसार यो महिना त झन् २० प्रतिशत मात्र घरजग्गाको कारोबार भएको छ ।
अहिले बैंक तथा वित्तीय संस्थाले लिलामीमा राखेका घरजग्गा समेत बिक्री नभएको व्यवसायीले बताउँदै आएका छन् । घरजग्गा किन्न खोज्ने पनि सहजै बैंकिङ कर्जा नपाउँदा यो अवस्थामा लगानी गरिहाल्ने मूडमा छैनन् । यो अवस्थामा घरजग्गाको मूल्य घट्ने आकलन व्यवसायीको छ । त्यसकारण पनि खरिदकर्ता पर्ख र हेरको अवस्थामा छन् ।
तरलता अभावसँगै सरकारले भूउपयोग नियमावली कार्यान्वयनमा ल्याएपछि जग्गा वर्गीकरण विना कारोबार गर्न पाइँदैन । सोही कारण घरजग्गा कारोबारको संख्या घटेको प्रमुख भण्डारीले बताए ।
भूमि व्यवस्था मन्त्रालयले आगामी मंसिर २३ गतेभित्र स्थानीय तहलाई आफ्नो कार्यक्षेत्र भित्रको जग्गालाई कृषि क्षेत्र र गैरकृषि क्षेत्रमा छुट्याउनुपर्ने गरी पत्राचार गरेको थियो ।
घरजग्गा व्यवसायी संघ चितवनका अध्यक्ष बाबुराम अधिकारीले चितवनमा घरजग्गा व्यवसायी र किसान दुवै समस्यामा परेको बताए । उनले भने, ‘किसानले बिरामी पर्दा, छोराछोरी विदेश पठाउँदा पनि आफ्नो जग्गा बेच्न पाएका छैनन् । अर्कोतर्फ सबै पालिकामा कित्ताकाट नखुल्दा पनि व्यवसायी र सर्वसाधारण पीडामा परेका छन् ।’
उनले भने, ‘भरतपुर महानगरपालिकामा झण्डै ५०० लिखत निवेदन थन्किएर बसेका छन् । भित्रभित्र एउटा फाइलको ५० हजार रुपैयाँ लिएर सिफारिस गर्ने गरिएको छ ।’ वडाले सिफारिस गरेपछि फेरि महानगरको प्राविधिकले हेर्ने त्यसले माथि प्रतिवेदन दिएपछि प्रमुख तथा उपप्रमुख रहेको अर्को समितिले अध्ययन गर्ने भनेर प्रक्रियालाई झन्झटिलो बनाएर नागरिकलाई दुःख दिने काम भएको उनले बताए ।रासस
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८