कात्तिक ५, २०७९
निर्वाचन आयोगले कात्तिक १८ गतेभन्दा यता चुनावी सभा गर्न निषेध गरेको छ । २५ जनाभन्दा बढी भेला भएर कुनै पनि चुनावी गतिविधि नगर्न पनि आयोगले सचेत गराएको छ । तर सत्तारुढ पाँच दलीय गठबन्धन भने दिनदिनै सभा गरिरहेको छ र त्यसमा स्वयं प्रधानमन्त्री शेरबहादुर देउवालगयत शीर्ष नेता नै उपस्थित भइरहेका छन् । यस्ता भेला र सभामा राज्यको शक्ति र स्रोत पनि दुरुपयोग भइरहेको छ ।
शुक्रबार मात्र पाँचदलीय गठबन्धनले पोखरामा शुक्रबार प्रदेशस्तरीय कार्यकर्ता भेला गरेको छ । पोखरा सभागृहमा भएको भेलालाई सम्बोधन गर्दै कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन आजको आवश्यकता भएको जिकिर गरे । उनले गठबन्धनका नाममा जनतासँग भोट माग्दै भने, ‘कुनै पार्टीको बहुमत आउन सक्दैन । त्यसैले पार्टीहरू मिल्नुपरेको हो । गठबन्धनका साथीहरूलाई शंका पैदा गर्ने, मतभिन्नता ल्याउने कुनै पनि काम नगरौं ।’
उनले गठबन्धनमा सबैको जित भएको र यसलाई कायम राख्दा सबैको पालो आउने भनेर लोभ पनि बताए । ‘हाम्राबीचमा सबै पार्टीका साथीहरूले कसैले टिकट पाउनुभएन होला, कतिले पाउनुभयो होला, सबै पार्टीमा त्यस्तै छ,’ उनले भने, ‘सबैको पालो आउँछ । गठबन्धनको सरकार बन्यो भने सयौं ठाउँ हुन्छन् ।’
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठबन्धन दलका उम्मेदवारलाई सबै दलका उम्मेदवारले राख्नु पर्ने बताए । उनले निर्वाचनमा हसियाँ हथौंडामा भोट हाल्दिनँ, रुखमा भोट हाल्दिनँ, कमलमा भोट हाल्दिनँ भनेको सुनेको बताउँदै गठबन्धनलाई भोट हाल्नुपर्ने भन्दै दबाब नै दिएका थिए ।
उनले गठबन्धनलाई विश्वास नगर्ने हो भने प्रतिगमनको खतरा देखाए र गठबन्धनका उम्मेदवारलाई भोट नहाले पाप लाग्नेसम्मको चेतावनी पनि दिए । ‘स्थानीय तहको निर्वाचनमा सबभन्दा बढी कांग्रेसले लाभ लिएको छ भने अरूले पनि लिएका छन् तर सोचेजस्तो भएन,’ उनले भने, ‘गठबन्धनलाई भोट हाल्दिनँ भन्दा पाप पलाउन सक्छ, पाप धुरीबाट कराउँछ ।’
एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र कांग्रेस नेता रामचन्द्र पौडेल पनि मञ्चमा थिए । यसअघि काठमाडौँ क्षेत्र नम्बर २ मा माओवादीकी ओनसरी घर्तीका लागि भोट माग्न सार्वजनिक सभा नै गरेका थिए भने त्यसको केही दिनमा ललितपुरमा यस्तै कार्यक्रम गरेका थिए । निर्वाचन आयोगले यस्ता सभा गरे उम्मेदवारी खारेज गर्नेसम्मको चेतावनी दिएको छ।
निर्वाचनलाई स्वच्छ र मीतव्ययी बनाउन आयोगले यस्तो आचारसंहिता बनाएको हो । आचारसंहिताका यी व्यवस्था पालना गर्ने सबै दलको प्रतिबद्धता छ । अझ आयोगले जारी गरेको आचारसंहिता र अन्य कानुनको पालना गर्ने–गराउने प्रथम कर्तव्य पनि सरकारकै हो । त्यसमा पनि प्रधानमन्त्रीको सर्वाधिक ठूलो दायित्व र भूमिका हुन्छ ।
तर यहाँ प्रधानमन्त्रीकै नेतृत्वमा आयोगलाई र आचारसंहितालाई चुनौती दिने काम भइरहेको छ । कांग्रेस नेतृत्वको गठबन्धनले दिनदिनैजसो चुनावी सभा र भेला गरिरहेको छ र ती हरेकमा प्रधानमन्त्री देउवा आफै पुगेर भोट मागिरहेका छन् । प्रधानमन्त्रीबाटै भइरहेको उल्लंघनमा निर्वाचन आयोग पनि रमिते बनिरहेको छ । के आचारसंहिता भनेको पद र शक्तिमा हुनेलाई नलाग्ने हो ?
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८