असोज ३, २०७९
संघीय संसदको पहिलो कार्यकाल गम्भीर भूल गर्दै अन्त्य भएको छ । ०७२ को संविधान अन्तर्गत ०७४ मा भएको आमनिर्वाचनबाट संघीय संसद बनेको थियो ।तर, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग सात महिनासम्म पनि नटुंग्याउँदै संसद अत्य भएको छ । उनीविरुद्ध सत्ता गठबन्धनका सांसदहरूले १ फागुन ०७८ मा महाभियोग दर्ता गराएका थिए । सत्ताको छायाँमा रहेको संसदले महाभियोग प्रस्तावमाथि कुनै कारबाही अगाडि बढाएन । बरू प्रतिनिधिसभा अन्त्यको हिसाव किताव गर्दै भदौमा आएर मात्र सभामुख अग्निप्रसाद सापकोटाले सिफारिस समिति गठन गरे, र धमाधम जबरासँग बयान लिइयो ।
सरकारले यो संसदको कार्यकाल आगामी प्रतिनिधिसभा चुनावबाट जनप्रतिनिधि चुनिएर बनेको संसदको पहिलो बैठकसम्म कायम राख्न खोजेको थियो । सरकारको यो कुटिल चालले सफलता पाएन । सरकारको लाचारीपन छोप्न सिफारिस समितिले आगामी संसदबाट छिनोफानो हुनेगरी जबराविरुद्ध महाभियोग सिफारिस गरेको छ, १ असोजमा ।
एकथरी कानुन व्यवसायी प्रतिनिधिसभा अन्तयसँगै महाभियोग असान्दर्भिक भएको बताउँदै आएका छन् अर्कोथरी भने अर्को संसदमा लग्नुपर्ने बताइरहेका छन् ।महाभियोग सिफारिस समितिले शनिबार नै सभामुख सापकोटालाई प्रतिवेदन बुझाउँदै महाभियोग कायमै राख्न भनेको छ । प्रतिवेदनमा भनिएको छ, ‘जबरालाई आरोप लगाइएका केही विषयमा थप अध्ययन, अनुसन्धान गर्नॅपर्ने देखिएकाले संविधानको धारा १०१ को उपधारा ९६० बमोजिम अर्को प्रतिनिधिसभाको बैठकमा पेस गरी टुंगो लगाउनुपर्ने देखिएको छ ।’
समितिमा रहेका एमाले र लोसपा सांसदहरुले भने प्रक्रियामा असहमति जनाउँदै आठ बुँदे फरक मत दिएका छन् ।
तर, जुन संसदमा महाभियोग लागेको हो, त्यहीँबाट छिनोफानो गर्नुपर्नेमा आगामी संसदका लागि सारिएपछि अहिले सरकार र जबराबीचको टकराबका कारण रामशाहपथदेखि बालुवाटारसम्म किचलो बढेको छ ।आइतबार रमिता भयो । जबरा प्रधानन्यायाधीशको हैसियतमा सर्वोच्च फर्कने तयारीमा थिए । सर्वोच्च अदालत गेटमा नेपाल वार एसोसियनका पदाधिकारी छेक्न पुगे । उता गृह मन्त्रालयको आदेशमा प्रशासनले जबरालाई बालुवाटारबाट निस्कन दिएन । जबराकै शव्दमा उनीविरुद्ध ‘नजरबन्द’ भयो ।त्यति मात्र होइन, सरकारले आइतबार नै उनलाई प्रधानन्यायाधीशको हैसियतमा दिइएको सेवासुविधा कटौति गरिदिएको छ ।९८ सांसदले १ फागुन ०७८ मा प्रतिनिधिसभामा महाभियोग प्रस्ताव दर्ता गरेपछि जबरा निलम्बित भएका थिए ।
गलत नजिर
जबरा ६५ वर्षे उमेर हदका कारण २६ मंसिरमा अवकाश पाउँदैछन् । तर, प्रतिनिधिसभाको निर्वाचन ४ मंसिरमा हुनेछ । त्यसपछि गठन भएको संसदले उनीविरुद्धको महाभियोग तत्काल टुंग्याउन असम्भव प्रायः छ । जबराले अवकाश पाइसकेपछि महाभियोगको छिनोफानो हुँदा कुनै अर्थ राख्ने छैन ।
बरु यसले संवैधानिक निकायका प्रमुख वा पदाधिकारीमाथि तरबार झुड्याइराख्न संसदीय इतिहासमा गलत नजिर बनाउनेछ । संवैधानिक निकायका पदाधिकारी सत्ताको छायाँमा हुने भय हुनेछ । किनकी कुनै पनि संवैधानिक निकायका पदाधिकारीमाथि महाभियोग पारित हुन संसदको दुई तिहाइ बहुमत चाहिन्छ ।तर, जबरामाथि ७ महिना अघि दर्ता भएको महाभियोग, ६ महिनासम्म संसदले कुनै कारबाही अगाडि नबढाउनु र महाभियोगको छिनोफानो चालु संसदबाट हुन नसक्नुले के प्रष्ट गर्छ भने सत्ताले चाहेमा जोकोही माथि महाभियोग लाग्न सक्छ, र कार्यकाल नसकुन्जेलसम्म लम्ब्याएर राख्न सकिन्छ । महाभियोग पास, फेलले कुनै अर्थ राख्दैन । ३ जेठबाट बजेट अधिवेशन प्रारम्भपछि प्रतिनिधिसभामा महाभियोग प्रस्तावमाथि छलफल भएन, बरु निर्वाचन घोषणा गरेपछि मात्र महाभियोगको प्रक्रिया अगाडि बढाइएको थियो ।
जबरा आफैंमा दूधले नुहाएका प्रधानन्यायाधीश होइनन् । उनी तमाम विवादमा मुछिए, सर्वोच्च अदालतको इतिहासमा उनले उचो शीर राख्ने ठाउँ दिएनन् ।तर, न्यायको सिद्धान्तले के भन्छ भने कुनै पनि व्यक्ति दोषी वा निर्दोष भनेर छिनोफानो हुनुपर्छ, जिन्दगीभर आरोपमै लपेटनु हुँदैन ।
समितिको गलत सिफारिस
समितिले जबरामाथि छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण विभागमा समेत सिफारिस गरेको छ ।तर, जबरामाथि महाभियोग लागेर निलम्बनमा रहे पनि उनी पूर्वप्रधान्यायाधी होइनन् । त्यसकारण उनीमाथि अख्तियारले छानबिन गर्दैन । उनी सेवानिवृत्त भएपछि मात्र अख्तियारले छानबिन गर्न पाउनेछ ।सर्वोच्च अदालतको भवन निर्माणमा अनियमितता गरेको र विभिन्न मुद्दामा जबराले आर्थिक लेनदेन गरी अकुत सम्पत्ति कमाएको आरोप समितिले लगाएको छ ।समितिले यसअघि बयानका क्रममा जबराले नाम लिएका पूर्वन्यायाधीश र बहालवाला न्यायाधीशलाई पनि बोलाएको थियो, जुन निमयसंगत थिएन ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८