• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

चोलेन्द्रले संसदीय समितिमा पोल्न छुटाएका नामहरू

  • खबरदाता

चोलेन्द्रले संसदीय समितिमा पोल्न छुटाएका नामहरू

भाद्र २८, २०७९

 

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा संसदीय समितिमा जतिजति खुल्दै छन्, न्यायपालिका, राजनीति र सिंगो राज्य व्यवस्थाकै विद्रुप अनुहार उदांगो बन्दै छ । राणाले जोखिम लिएरै सही, भयानक तथ्यहरु सबैले देख्न र सुन्न सक्ने गरी खोलिदिएका छन् । उनले बहालावालादेखि भूतपूर्व न्यायाधीश, देशका प्रमुख राजनीतिक दलका नेता अनि नेपाल बार एसोसिएसनका पदाधिकारीसम्मैको असलियत सार्वजनिक गरेका छन् ।न्यायाधीश हरिकृष्ण कार्कीको दोहोर चरित्रको खुलासा गरे । प्रकाशमानसिंह राउतको चरित्रको अँध्यारो पाटो उघारिदिए । बारका तत्कालीन अध्यक्ष चण्डेश्वर श्रेष्ठदेखि पूर्णमान शाक्यसम्म, हरिहर दाहालदेखिओमप्रकाश अर्यालसम्मका नाम लिए । तर राणाले केही भन्नैपर्ने नाम छुटाएका छन् ।

राणाले रञ्जन कोइरालाको मुद्दामा बालबालिकाको असहायपन हेर्न नसकेर सजाय घटाएको र त्यही कारण महाभियोग सहनुपर्छ भने त्यसका लागि तयार छु भने । तर त्यस्ता अरु कति फैसला भएका छन् र ती फैसला कसले कसरी गरेको छ भन्न उनले छुटाएका छन् ।विशेष अदालत इतिहासमै धेरै बदनाम र विवादित न्यायाधीशको अखडा बनेको छ । विशेषका न्यायाधीशहरु श्रीकान्त पौडेल र रमेश पोखरेलले बदनामीको अगुवाइ गरेका छन् । राणाले १२ वर्षअघि विशेष अदालतमा केही भ्रष्टाचार मुद्दामा अभियुक्तलाई सफाइ दिँदा अहिलेसम्मै जवाफ दिँदै हिँड्नुपरेको छ । तर अहिलेको टिमले त ३ सय मुद्दा फैसला गर्दा ९८ प्रतिशतमा सफाइ दिएका छन् । पप्पु कन्स्ट्रक्सनको मुद्दामा त अबदेखि कुनै ठेकेदार र ठेक्कामा अख्तियारले मुद्दा चलाउन नसक्ने खालको तर्क गरेका छन् ।

रमेश पोखरेलले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलाई पत्रु गाडी भिडाउने ठेकेदार र स्वीकार गर्ने कर्मचारीलाई विज्ञ प्रतिवेदनले औँल्याएका तथ्यको समेत अनदेखा गरी सफाइ दिएका छन् । सरकारी वकिल सुरेन्द्र थापा घूससहित रंगेहात पक्राउ परेको र अकुत सम्पत्तिको समेत मुद्दा एकसाथ राखी सुनपानी छर्किदिएका छन् । यसमा उनले एक त आफ्ना पूर्वसहकर्मीको हेर्नै नहुने मुद्दा हेरेका छन्, अर्कोतिर असम्बन्धित मुद्दालाई लगाउमा राखी जसरी पनि अभियुक्तलाई जोगाउने नियतले एकसाथ फैसला गरेका छन् । विशेषका यी फैसलाले मान्यता पाउने हो अख्तियार नामको संवैधानिक आयोग नै खारेज गर्नुपर्ने हुन्छ ।

राणाका पालामा न्यायालय जति बदनाम भएको थियो, त्योभन्दा बढी बदनाम अहिले भएको छ । विशेष अदालतलाई अदालत भन्न थालिएको छ । सर्वोच्चमा एउटा पनि भ्रष्टाचार मुद्दा हेरिएको छैन । माओवादी कार्यकर्ता डीएन पराजुलीलाई सर्वोच्च अदालतको न्यायाधीश सिफारिस गरेर सत्ता गठबन्धनसँगको साँटगाँठ र सेटिङ प्रमाणित गरिएको छ । यी नाम र प्रकरण संसदीय समितिसमक्ष भन्न राणाले छुटाएका छन् ।अहिले कामु प्रधानन्यायाधीश दीपककुमार कार्की सुशासनका अभियन्ता बनेर निस्कन खोजिरहेका छन् । तर हिजो राणाका हरेक निर्णय र कदममा बराबर साझेदार यिनै कार्की थिए भन्ने तथ्य उनले भन्न भ्याएका छैनन् । उही मञ्चमा बसेर दुईजना मिलेर गरेको काम छ भने एउटा भ्रष्टाचारी र अर्को सदाचारी कसरी हुन्छ रु यो प्रश्न राणाले विदा हुनै लागेका सांसदहरूसमक्ष गर्नुपर्छ ।

  • प्रकाशित मिति : भदौ २८, २०७९, मंगलवार ०६:३१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८