भदौ २७,२०७९
प्रतिनिधि सभाको कार्यकाल सकिएपछि पनि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरूद्धको महाभियोग अनिर्णीत रहेमा के गर्ने भन्ने प्रश्नले यतिखेर सत्ता गठबन्धनको मथिंगल हल्लिएको छ । असोज १ मा प्रतिनिधि सभाको कार्यकाल सकिने र विचाराधीन महाभियोग प्रस्ताव पनि निष्क्रिय हुने भएकाले राणाविरुद्धको महाभियोग त्यसअगावै निष्कर्षमा पुर्याउन दलहरुमाथि दबाब छ । त्यसैले महाभियोग स्वतः निष्कृय हुन नदिन अनेक उपायको खोजी भइरहेको छ ।
अब असोज १ पछि प्रतिनिधि सभा कायम नरहनेमा कुनै दुविधा छैन । नयाँ जनप्रतिनिधि नआउन्जेल अहिलेकैलाई कायम राख्न ऐन नै ल्याउन खोजे पनि त्यसको व्यापक विरोध भएपछि सरकार पछि हटिसकेको छ । अब प्रतिनिधि सभा नरहने भएपछि त्यहाँ विचाराधीन रहने विधेयक पनि स्वतः निष्क्रिय हुनेछन् ।
हुन त विधेयक निष्क्रिय भए पनि महाभियोग निष्क्रिय हुन्छ कि हुँदैन भन्नेमा थरीथरी मतमतान्तर कायमै छन् । एकथरीले महाभियोग प्रस्ताव विधेयकभन्दा पनि कमजोर हुने भएकाले प्रतिनिधि सभाको कार्यकाल सकिएसँगै स्वतः शून्यमा परिणत हुने तर्क राखेका छन् । तर कतिपयले महाभियोग झन् गम्भीर विषय भएकाले जनप्रतिनिधि नरहँदैमा त्यसै नसकिने र नवनिर्वाचित सभालाई हस्तान्तरित हुन सक्ने जिकिर गरिरहेका छन् ।
यही अन्योलका बीच सत्ता गठबन्धन र खासगरी सरकारी पक्षले महाभियोगको अन्योल कायम नरहने गरी प्रतिनिधि सभाको कार्यकाल सकिनुअगावै निर्णयमा पुर्याउने भित्रभित्रै गृहकार्य गरिरहेको छ । यसका लागि कानुनमन्त्री गोविन्द बन्दीसहित केही मन्त्री, सांसद र महान्यायाधिवक्ता खम्म खाती दिनहुँजसो छलफलमा छन् । महाभियोग अलपत्र छोडेर संसद अन्त्य गर्दा सत्तारुढ दलकै लागि प्रत्युत्पादक हुने निष्कर्षसाथ भदौ ३० भित्रै यो विषय टुंगोमा पुर्याउने प्रयासमा बालुवाटार पनि जुटेको हो ।
समयको दबाब रहेकै कारण आइतबार संसदको महाभियोग सिफारिस समितिले राणासँग अरु दिनभन्दा बढी प्रश्न सोधेको थियो । अहिलेसम्म ३५ वटा प्रश्न सकिएका छन् । समितिले बयान सँगसँगै प्रतिवेदन लेखनको तयारी पनि गर्दैछ । अर्को बैठक भदौ २८ गते बस्ने र त्यही दिन बयान सकेर अरु पक्षहरुसँग सोधपुछ तथा प्रमाणको मूल्यांकन गर्ने तयारी छ ।
महाभियोग सिफारिस समितिले संसदमा दर्ता गरेको प्रस्ताव पारित हुन प्रतिनिधिसभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य सङ्ख्याको कम्तीमा दुई तिहाइ आवश्यक पर्छ । अहिलेसम्म एमाले राणाको बचाउमा देखिएको छ । एमालेबिना दुईतिहाइ बहुमत पनि पुग्दैन । तर मतदानमै लगेमा चुनावको मुखमा राणाजस्तो विवादित पात्रका पक्षमा उभिएर एमालेले जनमत गुमाउने अलोकप्रिय काम गर्ने छैन भन्ने सत्तापक्षको बुझाइ छ । अर्थात् महाभियोग पारित भए आफ्नो तागतले भन्ने र नभए एमालेले जोगायो भन्ने सत्तापक्षको चाल देखिन्छ ।
महाभियोग पारित भए मात्र राणा तत्काल पदबाट मुक्त हुनेछन् । त्यसपछि राणाले पदीय हैसियतमा पाउने कुनै सुविधा र भविष्यमा सार्वजनिक पद पनि पाउने छैनन् । महाभियोग पारित भएपछि अख्तियार, सम्पत्ति शुद्धिकरणलगायतका अन्य निकायलाई समेत राणामाथि छानबिन गर्न दबाब पर्नेछ ।महाभियोगको टुंगो नलागेमा विवादित छविका प्रधानन्यायाधीशको अदालतमा पुनरागमन हुन सक्नेछ । मंसिर अन्तिम साता मात्र उनी ६५ वर्षे उमेर हदका कारण अवकाश पाउनेछन् । लगभग तीन महिना उनी प्रधानन्यायाधीशको कुर्सीमा बस्न सक्नेछन् ।
तर महाभियोग लागेको राणाको फिर्तीले न्यायालयको साखमा फेरि धब्बा लाग्नेछ । महाभियोग अलपत्र परे दलहरुको निर्णय क्षमतामाथि पनि सदाका लागि प्रश्न उठिरहनेछ । उनीहरुले न्यायालयमा सुधारको कुरा गरे पनि विवादितलाई प्रश्रय दिइरहेको नजिर स्थापित हुनेछ । अझ चुनावको मुखमा यही विषय अब भोटको राजनीतिका लागि मुख्य मुद्दा बन्न सक्नेछ ।
त्यसो त राणा अदालत फर्किए पनि नियमित काम गर्न भने चुनौतीपूर्ण नै हुनेछ । महाभियोगअघि बार र बेन्चको अवरोध सहेका राणाले महाभियोग सिफारिस समितिमा दिएको बयानले झन् उनीहरु चिढिएका छन् । त्यसैले उनको पुनरागमन सहज भने छैन । राणामाथि न्यापालिकामा भ्रष्टाचारलाई संस्थागत गरेको, सत्तासँग भागबण्डा खोजेकोलगायतका आरोप छन् ।
यी गम्भीर आरोपसहितै राणा इजलासमा बस्दा त्यतिखेर राजनीतिक दलहरुको अकर्मण्यता झनै छताछुल्ल हुनेछ । त्यसैले सत्ताधारी दल प्रतिनिधि सभाको कार्यकाल सकिनुअगावै निलम्बित प्रधानन्यायाधीश राणामाथिको महाभियोग प्रस्ताव सके सदनबाटै पारित गर्ने र नभए अर्को कुनै उपायबाट भए पनि महाभियोग जीवित राख्ने उपायको खोजीमा लागेका हुन् ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८