• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

१६ वर्षको प्रयासपछि सर्वोच्चमा माओवादी घूसपैठ सफल

  • खबरदाता

१६ वर्षको प्रयासपछि सर्वोच्चमा माओवादी घूसपैठ सफल

भदौ २२, २०७९

 

राज्यका सबै निकाय कब्जा गरी प्रचण्ड अधिनायकत्व कायम गर्न लागिपरहेको माओवादी सर्वोच्च अदालतमा घूसपैठ गर्न खोजेको १६ वर्षपछि बल्ल सफल भएको छ । मंगलबार न्याय परिषदले सर्वोच्च अदालतमा ३ न्यायाधीश सिफारिस गर्दा त्यसमा एकजना मा‌ओवादी कार्यकर्ता पनि परेका छन् ।

मंगलबार परिषदले उच्च अदालतका मुख्य न्यायाधीश नीता गौतम दीक्षित र न्यायाधीश विनोद शर्माका साथै नेपाल ल क्याम्पसका प्रमुख डीएन पराजुलीलाई पनि सर्वोच्चको अदालतमा सिफारिस गरेको छ । पराजुली क्याम्पस प्रमुख पनि माओवादी कोटाबाटै नियुक्त भएका थिए । कानुन संकायमा उनीभन्दा कैयन् योग्य र वरिष्ठ प्राध्यापकहरु हुँदाहुँदै योग्यता र वरीयतामा खास नदरिएका पराजुलीलाई माओवादीको चित्त बुझाउनकै लागि सत्ता गठबन्धनले भाग दिएको बुझ्न गाह्रो छैन ।

यसअघि देव गुरुङ कानुनमन्त्री हुँदा सर्वोच्चमा माओवादी घुसाउने प्रयास भएको थियो । बाहिरबाट माओवादी भनेर चिनिएका व्यक्तिलाई घुसाउन सफल नभए पनि सर्वोच्चकै तत्कालीन न्यायाधीश खिलराज रेग्मीसँग भने माओवादीको अस्वाभाविक हिमचिम देखिन्थ्यो । माओवादीले उनलाई रोलक्रमबाट माथि तानेर प्रधानन्यायाधीश बनाउने प्रयास पनि नगरेको होइन । मीनबहादुर रायमाझी, अनुपराज शर्मा र रामप्रसाद श्रेष्ठलाई उछिनेर रेग्मीलाई प्रधानन्यायाधीश बनाउने प्रयास तत्कालीन अदालतभित्रैको शक्ति सन्तुलनका कारण असफल भएको थियो । पछि माओवादीकै प्रस्तावमा रेग्मी प्रधानन्यायाधीश छँदै अन्तरिम चुनावी मन्त्रिपरिषदका अध्यक्ष बन्न सफल भएका थिए ।

त्यसपछि माओवादीले कानुन व्यवसायी तुल्सी भट्टलाई पनि सर्वोच्चको न्यायाधीश बनाउन अनेकन कसरत गरेको थियो । तर त्यसमा एमाले र कांग्रेसको असहयोगका कारण सम्भव भएन । बरु माओवादीले पदम वैदिकलाई आफ्नो कोटाबाट न्याय परिषदको सदस्यका रुपमा घुसाएको थियो । पछि उनले सर्वोच्चको न्यायाधीश बन्ने लोभमा पूरा कार्यकाल नखाई राजीनामा दिए । तर उनलाई न्यायाधीश बनाउन माओवादीले सकेन ।

यसबीचमा दीनमणि पोखरेलको नाम बढी चर्चामा थियो । गठबन्धनले माओवादीलाई न्यायाधीश पद दिन चाहेको तर माओवादीले योग्य उम्मेदवार अघि सार्न नसकेको भनेर चर्चा भइरहँदा दीनमणिवक नाम चर्चामा ल्याइएको थियो । तर माओवादीका धेरै वकिललाई आश्चर्यमा पार्दै डीएन पराजुलीले बाजी मारेका छन् ।यस घटनाले कामु प्रधानन्यायाधीश दीपककुमार कार्की पनि माओवादीपरस्त हुन् कि भन्ने ठाउँ दिएको छ । किनभने सर्वोच्चमा २ जना न्यायाधीशभित्रैबाट सिफारिस हुँदा एक मात्र बाहिरबाट छानिएकामा माओवादीले भाग पाएका छन् । फेरि यस्तो समयमा यो सिफरिस गरिएको छ कि संसदीय सुनुवाइ पनि हुन सक्ने अवस्था छैन । यो महिनाभरिमा संसदीय सुनुवाइ हुन प्रक्रियागत कारणले पनि कठिन छ भने अर्को महिना लाग्नासाथ प्रतिनिधि सभा नै भंग हुन्छ । सुनुवाइ हुन नसके ४५ दिनपछि राष्ट्रपतिले सोझै नियुक्त गर्नुपर्ने व्यवस्था छ ।

अवकाशको नजिक पुगेका बेला दीपककुमार कार्कीले यो निर्णय गरेकाले पनि उनले माओवादीलाई कुन मूल्यमा गुन लगाउन खोजे भन्ने अनुमान लगाउन सकिन्छ । यसबाट के बुझिन्छ भने अदालतमा इतिहासमै सबैभन्दा धेरै अराजक प्रकारको आन्दोलन उनको नेतृत्वमा हुनुमा माओवादी उक्साहट थियो । अर्को कुरा अब कार्की बेरोजगार बस्नुपर्ने छैन । उनलाई माओवादीले नै कुनै पद दिन सक्नेछ ।

  • प्रकाशित मिति : भदौ २२, २०७९, बुधवार ०६:३१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८