• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

उम्मेदवार बहसः एमालेले नयाँलाई अवसर दिने

  • खबरदाता

उम्मेदवार बहसः एमालेले नयाँलाई अवसर दिने

भदौ ११, २०७९

 

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको चटारो सुरु भएको छ । प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ ८४ दल दर्ता भएका छन् भने समानुपातिक प्रणालीतर्फ दल दर्ताको क्रम शुक्रबारबाट सुरु भएको छ ।निर्वाचन आयोगमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा प्रतिनिधि सभातर्फ २९ दल दर्ता भएका छन् । नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा एकीकृत समाजवादी पहिलो दिन नै दर्ता भए । सिके राउत नेतृत्वको जनमत पार्टी सबैभन्दा पहिले दर्ता भएको छ । समानुपातिकतर्फ दल दर्ताका लागि भदौ १२ सम्मको समय छ । आयोगका अनुसार प्रदेश सभातर्फ प्रदेश एकमा २५ , मधेश प्रदेशमा २७, बाग्मतीमा २६, गण्डकीमा २५, लुम्बिनीमा २६, कर्णालीमा २२ र सुदुरपश्चिम प्रदेशमा २३ दल दर्ता भएका छन् । समानुपातिकतर्फ दर्ता भएका दलले असोज २ र ३ गते उम्मेदवारको बन्द सूची पेस गर्न पाउनेछन् ।

यता दलहरूमा उम्मेदवार चयनको प्रक्रिया र मापदण्डमा मन्थन सुरु भएको छ । यी प्रक्रिया र मापदण्ड हेरी सम्भावित उम्मेदवारको पनि आकलन गर्न थालिएको छ ।साथै एमाले चुनावकेन्द्रित रणनीति पनि बनाउन होमिएको छ। जिल्लाजिल्लामा चुनाव केन्द्रित कार्यक्रम सुरु गरेको एमालेले शुक्रबार काठमाडौँमा सुरु भएको केन्द्रीय कमिटी बैठकबाट निर्वाचनका लागि आवश्यक नीति तय गर्ने भनेको छ। पाँच दलीय गठबन्धनविरुद्ध प्रतिस्पर्धा गर्नुपर्ने भएपछि एमालेले उम्मेदवारको मापदण्डबारे पनि गम्भीर छलफल सुरु गरेको छ ।

चुनावकेन्द्रित रणनीति बनाउन शुक्रबार सुरु भएको एमालेको केन्द्रीय कमिटी बैठकमा उम्मेदवार छनोट प्रक्रिया र मापदण्डसम्बन्धी प्रस्ताव पनि पेस भएको छ । जसमा निर्वाचन क्षेत्र समन्वय कमिटी हुँदै जिल्ला तथा प्रदेशले गरेको सिफारिसलाई आधार मानेर उम्मेदवार तय गर्ने प्रस्ताव छ । स्थानीय तह निर्वाचनमा उम्मेदवार छनोटलाई गम्भीरतासाथ नलिँदा धेरै ठाउँ गुमाउनुपरेको निष्कर्षमा पुगेको एमालेले आसन्न निर्वाचनमा जित्ने आधार हुनेलाई उम्मेदवार बनाउने गरी छलफल अघि बढाएको छ ।

पार्टीभित्र केन्द्रीयता हाबी हुँदा लामो समय योगदान गरेका नेताहरुले अवसर पाइरहेका छैनन् भन्ने विषय जोडतोडले उठिरहेको छ । प्रत्यक्षतर्फ टिकट पाउने अवस्था नबने समानुपातिबाट छिर्ने धेरैको दाउ हुन्छ। एमालेले यसपटक समानुपातिकका हकमा समेत नयाँलाई प्राथमिकता दिने गरी छलफल गरिरहेको छ । समानुपातिक प्रणालीबाट पटकपटक सांसदमा दोहोरिन दिन नहुने प्रस्तावमा उल्लेख छ।

हुन त प्रत्यक्षतर्फ पनि दुईपटक सांसद बनेकाहरुलाई फेरि टिकट दिन नहुने आवाज उठिरहेको छ । यद्यपि अध्यक्षसहितका प्रभावशाली नेताहरु नै मैदानमा उत्रिन चाहिरहेकाले यसले मापदण्डकै रुप लिन्छ भन्न कठिन छ । त्यसैले यो विषयलाई लिएर नेताहरुमा मतभेद देखिएको छ ।

उम्मेदवार छनोटको मापदण्ड र प्रक्रिया टुंगो लगाएर भदौ तेस्रो सातासम्म नाम सिफारिस गर्न परिपत्र गर्ने एमालेको तयारी छ। तर पार्टीमा लामो समयदेखि अवसर नपाएका नेताको सूची लामो रहे पनि नेतृत्वलाई रिझाएर अवसर लिनेहरु हाबी रहेकाले मापदण्ड कतै देखाउनका लागि मात्र बनाउन लागिएको त होइन भन्ने कोणबाट पनि कार्यकर्ताले चर्चा गरिरहेका छन् । तर यसपालि जतिसक्दो नयाँ उम्मेदवारलाई अवसर दिने जुन नीतिगत सोच अघि सारिएको छ, गैरदलीय र नवदलीय उम्मेदवारको माहोललाई केही भए पनि सन्तुलनमा राख्ने विश्लेषण गरिएको छ ।

  • प्रकाशित मिति : भदौ ११, २०७९, शनिवार ०६:२४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८