• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

फिर्ता भयोनागरिकता विधेयक , अर्घेल्याइँ सरकारको कि राष्ट्रपतिको ?

  • खबरदाता

फिर्ता भयोनागरिकता विधेयक , अर्घेल्याइँ सरकारको कि राष्ट्रपतिको ?

साउन ३०, २०७९

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक पुनःविचारका लागि संसदमै फिर्ता पठाइदिएकी छन् । प्रतिनिधि सभाका तर्फबाट संसद सचिवालयले साउन १५ गते शीतलनिवास पठाएको विधेयक अध्ययनपछि आइतबार साउन २९ गते फेरि संसदमै पुगेको हो ।राष्ट्रपति भण्डारीले पुनर्विचार हुन आवश्यक देखिएको उल्लेख गरी विधेयक फिर्ता पठाएकी हुन् । विधेयक प्रतिनिधि सभाबाट साउन ६ गते र राष्ट्रियसभाबाट साउन १२ गते बहुमतले पारित भएको थियो । नेपाली पुरुषसँग विवाह गर्ने महिलालाई नागरिकता दिन समयसीमा नतोकेको भनेर प्रमुख प्रतिपक्षी नेकपा एमाले भने विधेयकको विपक्षमा उभिएको थियो ।

विधेयक पुनःविचार हुनुपर्ने आधार र कारण उल्लेख गरी शीतलनिवासबाट एउटा बृहत् सन्देश पनि पठाइएको छ । दुईवटा खण्डमा विभाजित सन्देशमा सुरुमा नागरिकता कानुनको ऐतिहासिक विकास क्रम उल्लेख गरिएको छ भने दोस्रो खण्डमा अहिलेको विधेयकसँगका सरोकार उल्लेख गरिएको छ ।नयाँ संविधान जारीपछिको पहिलो नागरिकता कानुनले इतिहासले थाती राखेका विवादको समाधान दिनुपर्ने राष्ट्रपतिको सुझाव छ । नागरिकता कानुन बारम्बार जारी गरिने वा संशोधन हुने विषय नभएकाले संविधान जारी भएपछिको पहिलो विधेयकले स्थायी समाधान दिनुपर्ने सन्देशमा उल्लेख छ । सधैँभर तदर्थ शैलीमा नागरिकता वितरण गर्दाका सम्भावित जोखिम र असरबारे पनि सचेत गराइएको छ ।

संविधानले प्रादेशिक पहिचानसहितको नागरिकता दिने उल्लेख गरे पनि त्यसतर्फ विधेयक मौन रहेकोमा पनि संसदको ध्यानाकर्षण गराइएको छ । राज्यले नागरिकता प्रदान गर्दा केकस्ता सिद्धान्त र मान्यता अंगीकार गर्ने भन्नेमा पनि स्पष्ट भई नागरिकता कानुन बनाउनुपर्ने राष्ट्रपतिको राय छ ।अंगीकृत नागरिकताको विवाद दीर्घकालीन रुपमा समाधान गर्ने सुनिश्चितता नभएकाले राष्ट्रपतिले विधेयक फिर्ता गरेको उनका सल्लाहकारहरुले बताएका छन् । अहिले ४ प्रकारका अंगीकृत नागरिकताको व्यवस्था रहेको र यी अभ्यास कति असल हुन् भनेर पनि शीतलनिवासले प्रश्न गरेको छ । यदि असल अभ्यास हो भने अन्यत्र यस्ता अभ्यास कहाँकहाँ छन् र यदि अन्यत्र यो अभ्यास छैन भने हामीकहाँ के आधारमा यो राखियो भन्नेमा विस्तृत विवेचना हुन आवश्यक रहेको पनि सन्देशमा औँल्याइएको छ ।

आमाको नामबाट नागरिकता दिने प्रयोजनका लागि पतिको पहिचान नभएको स्वघोषणा गर्नुपर्ने व्यवस्थामा राष्ट्रपतिबाट गम्भीर चासो व्यक्त भएको छ । यस व्यवस्थाले महिलाको प्रजनन् र गोपनीयताको अधिकारमा आघात पुग्ने र महिलाको आत्मसम्मानमा समेत ठेस पुग्ने राष्ट्रपतिको सन्देशमा उल्लेख छ ।संसदका दुवै सदनले पारित गरेको विधेयक फिर्ता गर्ने अधिकार राष्ट्रपतिलाई संविधानले दिएको छ । प्रमाणीकरणका लागि प्राप्त भएको १५ दिनभित्र सुझावसहित विधेयक फिर्ता गर्न सक्ने व्यवस्था संविधानमा छ । त्यो १५ दिन मंगलबार पूरा हुँदै थियो ।

अब राष्ट्रपतिको सन्देशसहितको विधेयक प्रतिनिधि सभाको बैठकमा पेस हुनेछ । बैठक मंगलबार बस्दै छ । प्रतिनिधि सभाले पुनःविचार गर्न आवश्यक ठानेको अवस्थामा यसले पुनः विधायिकी प्रक्रिया पूरा गर्नुपर्नेछ । तर सत्ता गठबन्धनले चुनावको मुखमा भोटको राजनीति गर्न खोजेमा राष्ट्रपतिको सन्देशका अक्षर र अर्थ केलाउने कष्ट पनि नउठाइकन सोझै अस्वीकार गरी पुनः जस्ताको तस्तै विधेयक शीतलनिवास पठाइदिन सक्नेछ । त्यसपछि राष्ट्रपतिसँग पनि यो विधेयक जारी गर्नुको विकल्प हुने छैन ।

संसदको राज्य व्यवस्था समितिमा २२ महिनासम्मको छलफल, बहस र गृहकार्यपछि सदनको निर्णायक चरणमा पुगिसकेको विधेयक सरकारले फिर्ता लिएर आफ्नो काम देखाउन हतारहतार नयाँ विधेयकका रुपमा दर्ता गराएको थियो । त्यसपछि समितिमा पठाउने प्रक्रिया पनि छलेर द्रूत प्रक्रियाबाट साउन ६ मा प्रतिनिधि सभाबाट र १२ गते राष्ट्रिय सभाबाट यो विधेयक पारित गरिएको थियो । तर सम्बोधन गर्नैपर्ने कतिपय विषयतिर ध्यानै नदिई एक थान नागरिकता कानुन जारी गरेको देखाउन सत्तापक्षले यो अर्घेलो गरेको थियो । राष्ट्रपतिले आफ्नो कार्यकालमा गरेको अहिलेसम्मकै विवेकपूर्ण र परिपक्व कदमका रुपमा यसलाई लिइएको छ । यसले राष्ट्रपति संस्थाका लागि भावी दिनमा पनि असल नजिर कायम गरेको छ ।

  • प्रकाशित मिति : साउन ३०, २०७९, सोमवार ०६:०१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८