• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

साइकल घोटालामा मुख्यमन्त्री लालबाबु राउत कसरी जोगिए ?

  • खबरदाता

साइकल घोटालामा मुख्यमन्त्री लालबाबु राउत कसरी जोगिए ?

साउन २०,२०७९

 

मधेस प्रदेशको बेटी पढाउ बटी बचाउ कार्यक्रमअन्तर्गत खरिद गरिएका साइकलमा १० करोड ३३ लाख भ्रष्टाचार भएको निष्कर्षसहित अख्तियारले कर्मचारी र आपूर्तिकर्ता गरी ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । यो कार्यक्रम मुख्यमन्त्री लालबाबु राउतको प्रत्यक्ष चासो जोडिएको र मुख्यमन्त्री कार्यालयबाटै कार्यान्वयन भएको हो । तर अख्तियारले कर्मचारीलाई मात्रै दोषी देखाएर मुद्दा चलाएको छ भने राजनीतिक नेतृत्व जोगिएको छ । तर मुख्यमन्त्रीकै कार्यालयका कर्मचारीले यति ठूलो घोटाला राजनीतिक नेतृत्वलाई थाहै नदिई गरे होलान् त रु स्वाभाविक रूपमा यो प्रश्न अहिले सबैतिरबाट उठिरहेको छ ।

 

मुख्यमन्त्री कार्यालयले दुईपटक गरी २७ हजार साइकल खरिद गरेको थियो । यसमा दोस्रोपकट खरिद गरिएका १७ हजार साइकलमा अनियमितता भएको उजुरी परेपछि अख्तियार छानविन गर्न पुगेको थियो । मुख्यमन्त्रीको टेलिफोनले कतै अनुसन्धान प्रभावित त हुने होइन भन्ने आशंका त्यही बेला उत्पन्न भएको थियो । नभन्दै आयोगले बुधबार दायर गरेको आरोप पत्रमा केही कर्मचारी मात्र विपक्षी बनाएको भेटिएपछि त्यही आशंकामा बल पुगेको छ ।

 

प्रदेशभित्रका ८ जिल्लामा छोरीलाई शिक्षाको पहुँचमा पुर्‍याउने उद्देश्यले मधेस सरकारले बेटी पढाउ बेटी बचाउ अभियान सञ्चालन गरेको थियो । यही अभियानका क्रममा साइकल खरिद गर्दा १० करोड ३३ लाख भ्रष्टाचार गरेको अख्तियारको अनुसन्धानले देखाएको छ । अख्तियारले जोगाउँदैमा मुख्यमन्त्री यस प्रकरणमा जिम्मेवारीबाट पन्छिन नपाउने विपक्षीको तर्क छ । प्रदेश सभाभित्रैबाट पनि यस विषयमा टीकाटिप्पणी हुन थालेका छन् ।

 

उनको जानकारी र हिस्सेदारीबेगर विशुद्ध कर्मचारी तहबाट यति ठूलो रकम घोटाला भयो भनेर मान्न सकिने अवस्था पनि छैन । तर कागजातमा हस्ताक्षर नभएका कारण सचिवभन्दा माथिका कसैलाई पनि मुद्दा चलाउन नसकिएको अख्तियारका पदाधिकारी बताउँछन् ।यसरी हेर्दा अख्तियारले राजनीतिक तप्कालाई नचिढ्याउने रणनीतिअनुसार मुख्यमन्त्रीलाई मुद्दा नचलाइएको सन्देश एकातिर गएको छ भने अर्कोतिर मुख्य आरोपीलाई उन्मुक्ति दिँदा मुद्दा कमजोर हुने जोखिम छ ।

  • प्रकाशित मिति : साउन २०, २०७९, शुक्रवार ०५:५८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८