आईओसीलाई भुक्तानी गर्नुपर्ने रकम चुक्ता नभएसम्म मूल्य यथावत् रहने निगमको भनाइ
कर समायोजन गरिदिए प्रतिलिटर पेट्रोलमा ६ र डिजेलमा ७ रूपैयाँ नाफा हुन्छ, आईओसीलाई मंगलबार १७ अर्ब रूपैयाँ भुक्तानी गर्दै छौं, बाँकी १४ अर्ब रहन्छ, त्यो रकम पनि चुक्ता भए मूल्य घटाउन सकिन्छ – उमेशप्रसाद थानी, कार्यकारी निर्देशक, नेपाल आयल निगम
साउन ३, २०७९
काठमाडौँ — भारतबाट पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ ७६ पैसा र डिजेलमा १६ रुपैयाँ ५६ पैसा मूल्य घटेर आए पनि नेपाल आयल निगमले मूल्य यथावत् राखेको छ । इन्डियन आयल कर्पोरेसन (आईओसी) लाई भुक्तानी गर्नुपर्ने रकम चुक्ता नभएसम्म निगमले मूल्य यथावत् राख्ने जनाएको छ ।
सरकारले असार ११ मा गरेको निर्णय अर्थ मन्त्रालयले कार्यान्वयन गरिदिए इन्धनको मूल्य घट्न सक्छ । त्यति बेला प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वमा सरकारमा सहभागी शीर्ष दलका नेता, गृहमन्त्री, अर्थमन्त्री, सञ्चारमन्त्री, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री, मुख्य सचिव, अर्थ सचिवसहितको बैठकले प्रतिलिटर पेट्रोलमा २० र डिजेलमा २९ रुपैयाँ कर समायोजन गर्ने निर्णय भएको थियो ।
तर कर समायोजन नहुँदा इन्धनको मूल्य घटेन । कर घटाउने विषयमा सरकारसँग अहिले पनि ‘लबिइङ’ भइरहेको निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले बताए । ‘सरकारको निर्देशनअनुसार अर्थले कर घटाइदिएको भए अहिले खुद्रा मूल्य घट्थ्यो,’ उनले भने, ‘इन्धन फाइदा राखेर बेच्ने होइन, जरुरी पनि छैन । आपूर्ति सहज बनाउन आईओसीलाई बुझाउनुपर्ने रकम चुक्ता भए अन्तर्राष्ट्रिय बजारमा धेरै घट्दा यहाँ घटाउन सकिन्छ ।’ आईओसीबाट इन्धन खरिदको ३१ अर्बमध्ये निगमले मंगलबार १७ अर्ब रुपैयाँ तिर्न लागेको उनले जनाए । त्यसपछि आईओसीलाई भुक्तानी गर्नुपर्ने रकम १४ अर्ब बाँकी रहन्छ ।
आईओसीले जुलाई १५ मा पठाएको मूल्य सूचीअनुसार प्रतिलिटर पेट्रोलमा १४ रुपैयाँ १९ पैसा, डिजेलमा २१ रुपैयाँ ९२ पैसा र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर ५ सय ८२ रुपैयाँ ४२ पैसा नोक्सानी छ । मट्टीतेल र हवाई इन्धनमा नाफा भए पनि १५ दिनमा २ अर्ब १६ करोड रुपैयाँ नोक्सान रहेको निगमको दाबी छ । नोक्सानी बढ्नुको मुख्य कारण कर नै हो । निगमका अनुसार आईओसीबाट १ सय १७ रुपैयाँ ४२ पैसामा किनिएको पेट्रोलमा ६३ रुपैयाँ ३६ पैसा सरकारी कररराजस्व जोडिन्छ । ढुवानी भाडा, निगमको प्रशासनिक खर्च, बिमा खर्च, विक्रेता कमिसन, ढुवानी भाडासहित जोडेर पेट्रोलको मूल्य १ सय ८१ रुपैयाँ तोकिएको छ ।
डिजेल १ सय ३७ रुपैयाँ ३६ पैसामा खरिद भएको छ । त्यसमा ४७ रुपैयाँ ३ पैसा सरकारी कररराजस्व जोडिएको छ । ढुवानी भाडा, निगमको प्रशासनिक खर्च, बिमा खर्च, विक्रेता कमिसन, ढुवानी भाडासहित जोडेर बिक्री मूल्य १ सय ७२ रुफैयाँ तोकिएको छ । यसरी अचाक्ली कर हुँदा खुद्रा बिक्री मूल्य बढेको हो । बित्री मूल्य बढ्दा बजार भाउ पनि नियन्त्रण बाहिर छ । तर अर्थले कर समायोजन गर्न कुनै चासो दिएको छैन । ‘नोक्सानीको नोक्सानी ५५ अर्ब रुपैयाँ छ । आपूर्ति सहज बनाउनकै लागि सरकारसँग ७ अर्ब ऋण र वाणिज्य बैंकबाट ३ अर्ब ऋण लिएका छौं,’ थानीले भने, ‘निगमको पहिलो दायित्व आपूर्ति सहज गर्नु नै हो । सरकारले पूर्वाधार कर शीर्षकको बाहेक कर समायोजनको रकम दिएको छैन ।’कान्तिपुरबाट
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८