असार ३१,२०७९
काठमाडौं। नेकपा (एमाले) ले सरकारले काठमाडौँ उपत्यकामा फैलिएको हैजा नियन्त्रण गर्न चासो नदेखाएको आरोप लगाउँदै नियन्त्रणका लागि आवश्यक कदम चाल्न आग्रह गरेको छ।
एमालेको स्वास्थ्य तथा जनसङ्ख्या विभागले आयोजना गरेको पत्रकार सम्मेलनमा विभागका प्रमुख योगेश भट्टराईले उपत्यकामा २८ जना हैजाका बिरामी पुष्टि भए पनि सरकारले हैजा नियन्त्रण गर्न कुनै पहल नगरेको आरोप लगाए।
“हैजा जस्तो महामारी नियन्त्रणका लागि उपचार व्यवस्थापन र जनचेतना फैलाउने जस्ता कार्यमा स्वास्थ्य मन्त्रालय बेखबर देखिएको छ, महामारी नियन्त्रण जस्ता कार्यमा लापरवाही गर्नु जनस्वास्थ्यका दृष्टिले गम्भीर कमजोरी हो”, उनले भने।
यस्तै एमालेले कोभिड–१९ महामारीमा खटिने जोखिम भत्ता स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायत अग्रभागमा खटिएका जनशक्तिलाई पनि उपलब्ध गराउन सरकारलाई आग्रह गरेको छ। “सरकारले जोखिमपूर्ण समयमा काम गर्नेहरुलाई निराश बनाएको छ, कोभिड–१९ पोजिटिभ भएका धेरै स्वास्थ्यकर्मीले कोभिड बीमाबापतको रकम हालसम्म पाएका छैनन्”, भट्टराईले भने, “कोभिड–१९ सङ्क्रमणका समयमा बीमा कम्पनीले जनसाधारणका लागि उपलब्ध गराउने भनेको बीमाको रकम करिब छ अर्ब रुपैयाँ हालसम्म पनि भुक्तानी गरेको छैन।”
एमालेले कोभिड–१९ को पूर्ण रुपमा खतरा नटरेको भन्दै गत गत आर्थिक वर्षको तुलनामा आव २०७९र८० मा १९ प्रतिशत कम रहेको जनाएको छ। यस्तै चिकित्सा शिक्षा अध्ययनका लागि बिदेसिने विद्यार्थीको सङ्ख्या बर्सेनि बढ्दै गएको र यसले पूँजी पलायन मात्र नभइ बौद्धिक पलायन पनि निरन्तर भइरहेको भन्दै देशभित्रै गुणात्मक चिकित्सा शिक्षाको सुनिश्चित गरी स्वास्थ्य जनशक्तिलाई देशको समृद्धिको काममा क्रियाशील गराउन सरकारले प्रभावकारी योजना अघि सार्न उनलेअनुरोध गरे।
एमालेले औषधि आयातबाट बर्सेनि अर्बौं रुपैयाँ विदेसिएकाले नेपालमा नै औषधि उत्पादन गर्ने वातावरण तयार गर्न सरकारलाई आग्रह गरेको छ। स्वास्थ्य बीमामा विशिष्टीकृत ज्ञानरसीप भएका जनशक्ति आवश्यक पर्ने भएकाले स्थायी दरबन्दीका लागि बीमा बोर्डबाट सङ्गठन व्यवस्थापन सर्वेक्षण प्रतिवेदन १८ महिनाअघि मन्त्रालयमा पेस भएकामा हालसम्म स्वीकृत नभएकोप्रति आपत्ति जनाए। साथै तुरुन्तै प्रतिवेदन स्वीकृत गरी स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी कार्यान्वयन गर्न स्वास्थ्य विभागका प्रमुख भट्टराईले माग गरे।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८