• वैशाख १२, २०८१, बुधवार Wednesday, 24 April, 2024

लगातारको बर्षाले झापाका दुई सय ७७ घर डुबानमा

  • खबरदाता

लगातारको बर्षाले झापाका दुई सय ७७ घर डुबानमा

 

असार १४,२०७९

झापा – लगातारको बर्षाले झापाका विभिन्न स्थानमा २ सय ७७ घर डुबानमा परेका छन।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार अहिलेसम्म २ सय ७७ घर डुबानमा परेका हुन्। गौरीगञ्ज गाउँपालिका १ मा बनियानी खोलामा आएको बाढी बस्तीमा पस्दा १० घर परिवार विस्थापित भएका छन्।

उनीहरूलाई नजिकको विद्यालयमा राखिएको झापाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले जानकारी दिए।

कमल तथा बनियानी खोलाले शिवसताक्षी नगरपालिकाका ३, ४ र ५ नम्बर वडाका केही घर परिवार विस्थापित भएका छन्।

कमल खोलामा आएको बाढीका कारण केही घर परिवार बिस्थापित भएका र उनीहरूलाई सुरक्षित स्थानमा सारिएको नेपाल रेडक्रस सोसाइटी झापा शाखाले जनाएको छ।

मंगलबार बिहानै जल तथा मौसम विज्ञान विभागले सूचना जारी गर्दै नदी तटका बासिन्दालाई सतर्क रहन सूचना जारी गरेको थियो।

 

शिवसताक्षी नगरपालिका वार्ड नं ६ मा शताक्षी खोलामा आएको बाढीका कारण कम्तीमा ५० घर डुबानमा परेका छन्। २०७४ सालमा आएको बाढीले मच्चाएको वितन्डाकै झल्को आउने गरी क्षति हुन शुरु भएको रेडक्रसकर्मीहरूले बताएका छन्।

शिवगञ्जमा सडकमै बाढी पसेकाले आवागमन नै ठप्प हुने स्थिति भएको बताइएको छ। वर्षा निरन्तर भएकोले स्थिति भयावह बन्ने अवस्था रहेको बताइएको छ। गौरादह नगरपालिकाको ५ र ६ नम्बर वडामा रतुवा खोलाको बाढीले ६० घर डुबानमा परेका छन्।

गौरादह ६ को लेलिया डाँगीमा १ सय २५ घरको दुबैतर्फबाट रतुवा खोला बगिरहेको छ भने गौरादह–६ को दामुना खोलामा आएको बाढीका कारण सुकुम्बासी बस्तिका ३५ घर उच्च जोखिममा परेका छन्।

रेडक्रस दमकका अनुसार रतुवा नदीले कटान गर्दा ८ घर परिवार विस्थापित भएका छन्। शिवसताक्षी–४ को सुकुम्बासी बस्तीका डुबानमा परेका ३३ परिवारका १ सय १८ जनालाई त्रिभुवन मावि पाँचगाछीमा राखिएको छ। त्यहाँ ४ जना सुत्केरी र ३ जना गर्भवती पनि रहेका बताइएको छ।

बाह्रदशी गाउँपालिका–२ को सुकुम्बासी बस्तीका ४७ घरका १ सय ६५ जनालाई नजिकको शिवालय मन्दिरको सभाहलमा राखिएको नेपाली कांग्रेस झापाका पूर्व सचिव दयानन्द गोश्वामीले जानकारी दिए। उनका अनुसार झोडाका ७ घर डुबानमा पर्दा ३२ जनालाई सामुदायिक वनको कार्यालयमा राखिएको छ।

  • प्रकाशित मिति : असार १४, २०७९, मंगलवार १९:४४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८