• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

बीमामा नयाँ कार्यक्रम

  • खबरदाता

बीमामा नयाँ कार्यक्रम

जेठ  १६ ,२०७९

 

आगामी आवको बजेटले बीमा क्षेत्रको अधिकांश माग सम्बोधन गरेको देखिएको छ । आगामी आवको बजेटमा बीमासम्बन्धी थुप्रै नयाँ कार्यक्रम ल्याइएको छ ।

आइतवार सार्वजनिक गरिएको बजेटमा बीमा क्षेत्रलाई उचित ढंगले सम्बोधन गरिएको सरोकारवाला बताउँछन् ।

सरकारले बीमासम्बन्धी राष्ट्रिय नीति ल्याउने भएको छ । नेपालमा बीमा व्यवसाय शुरू भएको ७ दशकपछि यस्तो नीति ल्याइन लागेको हो । विपद् जोखिम बीमा रणनीति पनि बनाएर कार्यान्वयन गरिने बजेटमा उल्लेख छ । ‘एक परिवार स् एक बीमा’ अवधारणालाई साकार पार्न आवश्यक कार्यक्रम सञ्चालन गरिने अर्थमन्त्री शर्माले बताए ।

सरकारले बीमा महाविपत्ति बन्ड जारी गर्ने सम्बन्धमा आवश्यक अध्ययन गर्ने बताएको छ । विभिन्न देशले बीमा महाविपत्ति बन्ड जारी गर्दै आएका छन् । त्यसमा सबैले लगानी गर्ने गर्छन् । विशेषगरी यसको सम्बन्ध पुनर्बीमासँग बढी हुन्छ । मुलुकमा भूकम्प जस्ता महाविपत्ति आएका बेला त्यसमार्फत राहत दिइन्छ ।

बीमा व्यवसायलाई सामाजिक संरक्षणको एक महत्त्वपूर्ण आधार स्तम्भका रूपमा विकास गर्ने पनि बजेटमा उल्लेख छ । यसका लागि गरीब, विपन्न तथा कृषिक्षेत्रलाई समेट्ने गरी लघुबीमा कम्पनीको स्थापना गरिने बताइएको छ ।

बीमा सूचना केन्द्र स्थापना गरिने, बीमा कलेज स्थापना गर्न प्रोत्साहन गरिने पनि बजेटमा उल्लेख छ ।

बीमा कम्पनीले आफ्नो लगानीको निश्चित प्रतिशत पूर्वाधार विकास आयोजनामा लगानी गर्न दिने बताइएको छ ।

बीमाका लागि व्यक्तिले वार्षिक ४० हजार रुपैयाँसम्ममा कर छूट पाउनेछ । यसअघि यस्तो छूट पाउने रकम २५ हजार रुपैयाँ थियो । सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई बीमा कम्पनीमार्फत पनि सञ्चालन गर्ने बताएको छ । हाल स्वास्थ्य बीमा बोर्डले यस्तो कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले यसपालिको बजेटबाट बीमाक्षेत्र सन्तुष्ट भएको बताए । ‘यसपालिको बजेटले बीमाक्षेत्रका लागि नयाँ नयाँ कार्यक्रम घोषणा गरेको छ, जुन स्वागतयोग्य छ,’ उनले भने, ‘त्यसको सफल कार्यान्वयन गर्न हामी तयार छौं ।’ एनएलजी इस्योरेन्सका प्रमुख कार्यकारी निर्देशक सुनीलवल्लभ पन्तले पनि बीमासम्बन्धी कार्याक्रम स्वागतयोग्य भएको बताए ।

  • प्रकाशित मिति : जेठ १६, २०७९, सोमवार ०६:४८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८