• वैशाख २३, २०८१, आइतवार Sunday, 05 May, 2024

निर्वाचनको नतिजा स्वीकार्न किन सक्दैनन ओली ?

  • खबरदाता

निर्वाचनको नतिजा स्वीकार्न किन सक्दैनन ओली ?

जेठ १४, २०७९

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले निर्वाचनअघि ७० प्रतिशत स्थानीय तह जित्ने दाबी हरेकजसो भाषणमा गरेका थिए । तर परिणाम उनले चाहेजस्तो आएन । एमालेले ३० प्रतिशत स्थानीय तहको नेतृत्वमा जित हात पार्न पनि मुस्किल भयो । पार्टीको प्रतिकूल परिणाम आएपछि उनलले चुनावमा धाँधली भएको आरोप लगाएका छन्, जसरी २०७० को चुनावमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यस्तो आरोप लगाएका थिए ।

चितवनमा प्रचण्डपुत्री रेनु दाहाललाई जिताउन सम्पूर्ण राज्यशक्ति र संयन्त्र परिचालित गरिएकै हो । यति हुँदाहुँदै पनि एमाले अध्यक्ष जुन तवरले प्रस्तुत भइरहेका छन्, त्यो एउटा लोकतान्त्रिक पार्टीका नेताका हैसियतमा नसुहाउने खालको छ । प्रक्रिया स्वीकार गरिसकेपछि नतिजा स्वीकार गर्नु हरेक लोकतान्त्रिक शक्तिको आधारभूत विशेषता हो । पञ्चायतमा गरिएको जनमत संग्रह त स्वीकार गरियो भने अहिले खुला समाजमा नागरिक स्वतन्त्र निर्वाचन आयोगले नागरिक सरकार परिचालन गरी सम्पन गरेको चुनावको नतिजामा शंका गर्नु आफ्ना कमजोरीको ढाकछोप गर्ने प्रयत्न मात्र हो भन्दा फरक पर्दैन ।

ओलीले संसदमा बोल्दा चुनावमा धाँधली भएको प्रसंग उठाउनु सान्दर्भिक पनि थिएन । किनभने बिहीबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफलको कार्यसूची थियो । सभामुख अग्नि सापकोटाले प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष ओलीलाई बोल्न समय दिए । ओली नीति तथा कार्यक्रमभन्दा निर्वाचन परिणाममा बढी केन्द्रित भए । उनले सरकारले राज्य संयन्त्रको दुरुपयोग गरेर एमालेलाई हराएको आरोप लगाए ।

मतदानको दुई सातापछि निर्वाचन परिणामबारे पहिलोपटक सार्वजनिक अभिव्यक्ति दिंदै ओलीले गठबन्धनका निम्ति अनुकूल वातावरण बनाउन धाँधली र हस्तक्षेप कहीँकतै बाँकी राखिएन भने । ओलीले संसद बैठकमा तीन घण्टा लामो भाषण गर्दा अधिकांश समय मतदानका दिन मात्र नभई मतगणनाका बेलासमेत एमालेलाई हराउन धाँधली गरेको आरोप लगाउनमै खर्च गरे ।

साथै ४० महिना सुविधाजनक बहुमतको सरकारको नेतृत्व गर्दा परिणाममुखी काम गर्न नसकेका ओलीले पार्टीभित्रको झगडा मिलाउन नसकेर दुई–दुईपटक संसद विघटन गरेकाले पनि मतदाता अरु दलतिर लागे । अझ चुनावको मुखमा ओलीले पार्टीका विवादित उम्मेदवारको पक्षमा वकालत गरी विरोध गर्नेहरुमाथि धारे हात लगाएपछि मतदाता थप चिढिए । आफ्नो कमजोरी स्वीकार गरी मतदातासँग माफी र विनयभाव प्रकट गर्नुको साटो ओली अझै पनि अरुमाथि दोष थोपरेर पार्टीको हारमा पानीमाथिको ओभानो बन्न खोजिरहेको सन्देश गएको छ ।

  • प्रकाशित मिति : जेठ १४, २०७९, शनिवार ०८:०७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८