• जेठ २, २०८१, बुधवार Wednesday, 15 May, 2024

गठबन्धनलाई हराउँदै माडिको मेयरमा एमालेकी महतो

  • खबरदाता

गठबन्धनलाई हराउँदै माडिको मेयरमा एमालेकी महतो

 

जेठ ३,२०७९

चितवन – माडी नगरपालिकाको मेयर एमालेले आफ्नो पोल्टामा पारेको छ।

मतगणनाको अन्तिम परिणाम अनुसार नेकपा (एमाले)की ताराकुमारी काजी महतो निर्वाचित भएकी हुन । सत्तारुड गठबन्धनको तर्फबाट मेयरको उमेदवार बनेका नेकपा (माओवादी केन्द्र)का ऋषी काफ्ले दुई हजार १७२ मतान्तरले पराजित भएका हुन् ।

मेयरमा निर्वाचित महतोले नौ हजार ९०१ मत प्राप्त गर्दा काफ्लेले जम्मा सात हजार ७२९ मत मात्रै प्राप्त गरे । मेयर र उपमेयर पदमा एमाले र राप्रपाले तालमेल गरेका थिए । उपमेयरमा भने कांग्रेसका खेम महतोले छ हजार ८३० मत ल्याएर निर्वाचित भए । उनका निकटतम प्रतिस्पर्धी राप्रपाका मदन पौडेलले पाँच हजार १४० र स्वतन्त्र उमेदवार कृष्ण पौडेलले तीन हजार ८६ मत ल्याए ।

एक कार्यकाल उपमेयर भएर काम गरेकी ताराकाजी महतो शालिन र लोकप्रिय नेतृ हुन् । विभिन्न सामाजिक क्षेत्रमा काम गर्दै राजनीतिमा प्रवेश गरेकी महतो माडीका विभिन्न वडामा १२ वर्ष वडा सचिव र पाँच वर्ष उपमेयर भएर काम गरिन् ।

माडीमा लोकप्रिय मानिने महतो, यहाँका आदिवासी, महिला, दलित, अल्पसङ्ख्यकलगायत माडीबासीको समस्या र पीडाको बारेमा जानकारी राख्छिन् । सरल, मिठो बोली र सबैको कुरा ध्यानपूर्वक सुन्ने, सहमति र समन्वयबाट विकासका काम गर्नुपर्छ भन्ने मान्यता उनी राख्छिन् ।

लगातार रुपमा वडा अध्यक्ष पद गुमाउँदै गएको एमालेले अन्तिम चरणमा मेयर र वडा नं ६ मा जीत हात पारेको हो । वडा नं ६ मा एमालेका दीपेन्द्रराज पौडेल निर्वाचित भएका छन् । माओवादी केन्द्रले माडी–२, ४, ५ र ९, राप्रपाले माडी–१ र ८ र एकिकृत समाजवादीले माडी–३ र ७ मा विजय हात पारेको हो ।

  • प्रकाशित मिति : जेठ ३, २०७९, मंगलवार १७:२४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८