• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

तथानाम बोल्दै नेताहरु, लडाईको अन्तिम यात्रा आज !

  • खबरदाता

तथानाम बोल्दै नेताहरु,  लडाईको अन्तिम यात्रा आज !

बैशाख २७, २०७९

काठमाडौँ- चुनाव प्रचारका लागि अब मंगलबार एक दिन(आज राती १२) बाँकी छ। मंगलबार मध्यराति १२ बजेदेखि मौन अवधि सुरु हुन्छ। मौन अवधि मतदाताका लागि उम्मेदवार छनोट गर्ने समय हो। यसकारण उनीहरूलाई प्रभाव पार्न राजनीतिक दलहरू निर्णायक दौडमा छन्।

खासगरी पाँच दलीय गठबन्धन र नेकपा एमाले चुनावी मैदानमा प्रतिस्पर्धी देखिएका छन्। यो बेला शीर्ष नेताहरूको दौडाहा उस्तै छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललगायतका गठबन्धनका शीर्ष नेताहरू एकै दिन दर्जन कार्यक्रममा पुगिरहेका छन्। तीन वटासम्म संयुक्त सभालाई सम्बोधन गरिरहेका छन्।

एमाले अध्यक्ष केपी ओलीलगायतका शीर्ष नेताहरूको दौडाहा उस्तै छ। देशका बिभिन्न ठाउँमा पुगेर गठबन्धनको भन्दा आफ्ना उम्मेदवार सक्षम रहेको, आफ्नो पार्टीले चुनाव जितेमा विकासको लहर ल्याउने सपना देखाइरहेका छन्।

निर्वाचन आयोगका पूर्वप्रमुख आयुक्त सूर्यप्रसाद श्रेष्ठ राजनीतिक दलहरूको निर्णायक दौडमा रहनु स्वाभाविक ठान्छन्। ‘मतदातालाई प्रभाव पार्ने खास समय यही हो’, उनी थप्छन्, ‘यो बेला शीर्ष नेताहरू र उम्मेदवारले गर्ने व्यवहार र बोलीले ठूलो अर्थ राख्छ। उपस्थितिले मात्रै पनि मतदाता प्रभावित हुन्छन्।’

एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङ एमाले स्थानीय तहमा बहुमत ल्याउने गरी निर्णायक दौडमा रहेको बताउँछन्। नेम्वाङ भन्छन्, ‘हामी निर्णायक दौडमै छौं त्यो पनि जित्ने गरी। देशभर एमालेको पक्षमा देखा परेको लहर मतपेटिकामा खस्न मात्रै बाँकी छ।’

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल संसद विघटन गरेर मुलुकमा अस्थिरता निम्त्याउनेलाई दण्डित गर्न नागरिकहरू आतुर रहेको दलिल गर्छन्। नेता पौडेल भन्छन्, ‘छँदाखाँदाको बहुमतको सरकार चलाउन नसकेर संसद विघटन गरेर मुलुकलाई अस्थिरतातर्फ धकेल्ने शक्तिलाई मतदानबाटै आफैँ धकेल्न जनता आतुर छन्।’

नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन संविधान र लोकतन्त्र बचाउनका लागि बनेको गठबन्धनका उम्मेदवारहरूलाई जनताले अनुमोदन गर्ने विश्वास राख्छन्। ‘हाम्रो प्रयास मुलुकमा समावेशी समानुपातिक सहभागितासहितको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान बचाउने हो। यो विषय जनतामा पुगेको छ मतदानबाट फैसला हुने समय आएको छ’, नेता पुनले भने।

मौन अवधिमा मतदाताले स्वतन्त्र रुपमा मतदानको निर्णय गर्ने समय हो। यो अवधिमा हुन सक्ने आचारसंहिता विपरीतका कार्यप्रति आयोगले ख्याल गर्छ।’

उनका अनुसार मौन अवधिमा कुनै प्रकारको प्रचार गर्न बन्देज लगाइएको छ। अन्तर्राष्ट्रिय नाका बन्द गरिनेछन्। सामाजिक सञ्जालको प्रयोगमा पनि ख्याल गर्ने आयोगले जनाएको छ। मौन अवधिमा भित्री रुपमा पैसाको प्रलोभन देखाउने प्रवृति विगतमा देखा परेकाले त्यसलाई पनि आयोगले नजिकबाट नियाल्ने गरी संयन्त्र विस्तार गरेको जनाएको छ। मतदाताको घर जान नै उम्मेदवारलाई रोक लगाइएको हुन्छ।

  • प्रकाशित मिति : वैशाख २७, २०७९, मंगलवार ०५:४६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८