• असोज १५, २०७९, शनिवार Saturday, 01 October, 2022
centreal college

काङ्ग्रेसका केही मान्छेले फालेको रुखलाई चौतारो बनाइ छाड्ने पाका नेताको अडान !

  • केपी शर्मा

काङ्ग्रेसका केही मान्छेले फालेको रुखलाई चौतारो बनाइ छाड्ने पाका नेताको अडान !

बैशाख १३,२०७९

आसन्न स्थानिय निर्वाचन, २०७९ को उम्मेद्वारी मनोनयनको दोस्रो दिन मंगलबार भरतपुर स्थिति मुख्य निर्वाचन अधिकृतको कार्यालयमा दिनभर उम्मेद्वारी दर्ता गराउनेहरुको भिडभाड रह्यो । स्वतन्त्र देखि पार्टीगततर्फका उम्मेद्वार र तीनका समर्थक, प्रस्तावक लगायत केही कार्यकर्ता कार्यालयको परिसरभर यत्रतत्र थिए ।

केन्द्रीय गठबन्धनले भरतपुरको मेयर माओवादीलाई सुम्पिएपछि काँग्रेसभित्र असन्तुष्ट बनेको एउटा ठूलै समूह तामझामका साथ मेयरमा वागी उम्मेद्वार लिएर मनोनयन दर्ता गराउन आइपुग्यो । जस्को नेतृत्व आठ दशक पार गरेका काङ्ग्रेसीहरुले गरिरहेका थिए। जसलाइ युवा जमातको पनि राम्रै समर्थन देख्न सकिन्थ्यो ।

सो समूहबाट मेयरमा बागी उम्मेद्वार भने काँग्रे नेता पूर्वसांसद जगन्नाथ पौडेलले थिए । उनीसँगै दरिलो साथ दिन उभिएका थिए काँग्रेसका अन्य पुराना नेताहरु ।

गठबन्धनलेको तर्फबाट भरतपुरको मेयरमा उम्मेद्वार पाएकी रेनु दाहालले मनोनयन दर्ता गराउन आउनु अगावै पौडेलले मनोनयन दर्ता गर्न पुगेका थिए । पौडेलको मनोनयन नसकिर्दै गठबन्धनबाट उपमेयरका उम्मेद्वार बनेका चित्रसेन अधिकारी सहित माओवादीको तर्फबाट मेयरकी उम्मेदवार दाहाल सहितको टोली पनि मुख्य निर्वाचन अधिकृत कार्यालय परिसर भित्र प्रवेश गर्‍यो । सो दृश्य छेउमै बसेर गठबन्धनविरुद्ध वागी उम्मेद्वारी दर्ताको समर्थक बनेर आइपुगेका ८४ वर्षीय काङ्ग्रेसका संस्थापक सभापति कृष्णलाल सापकोटा सहितका पुराना नेताले नियालिरहेका थिए । आफ्नो जिवनकालको इतिहासमा पार्टीले पार्टीकै विरुद्ध कदम उठाउन बाध्यात्मक परिस्थीती सिर्जना गरेको अवस्थालाई ८४ वर्षीय सापकोटाले अवश्य अत्यास लाग्दो तरिकाले मनन गरिरहेका थिए ।

स्थानिय निर्वाचनका लागि भरतपुरमा मेयर आफूहरु पाउनुपर्ने लबिङ जिल्लाका नेताहरुले केन्द्रसम्म पुगेर नगरेका पनि होइनन । तर सत्ता जोगाउने बहानामा शेरबहादुर देउवाले भरतपुरको मेयर माओवादीले चाहेअनुसार नै दाहालको पोल्टामा फालिदिए । लामो समयसम्म मेयरकै लागि लबिङ गरिरहँदा केन्द्रको निर्णयलाई जिल्लाले सदर गर्नुपर्ने बाध्यता खडा गरियो । भरतपुरमा काँग्रेसले २० वटा वडाअध्यक्ष पाएपछि जिल्लाका नेता केही हदसम्म कन्भिस भएका हुन् । तर जिल्लाकै अर्को असन्तुष्ट समूह भने मेयर नपाएपछि विद्रोहको बाटो समात्न बाध्य भएको थियो ।

सो समूहले गत शुक्रबार पार्टी कार्यालयमै केन्द्रीय नेताहरु दिनेश कोइराला, टेकप्रसाद गुरुङ लगायतको उपस्थितिमा बागी उम्मेद्वारी उठाउने सल्लाह गरे । नेता कार्यकर्ताले सोही दिन सभापनि राजेश्वर खनालको कार्यकक्षमा तालाबन्दी समेत गरे । तालाबन्दीपश्चात असन्तुष्ट समूहले भोलिपल्ट भेला बसेर उचित निर्णय लिने तारतम्य त मिलायो तर शनिबारको भेलामा अघिल्लो दिनसम्म असन्तुष्टलाई उचालेर टुप्पोमा पुर्‍याउने केन्द्रीय नेताद्धय गुरुङ र कोइराला नआइपुगेपछि त्यो दिन भेला अलमलमै सकियो । त्यसोत हरेक भाषणमा माओवादी र तालमेलको विरुद्धमा चर्को भाषण गर्ने निर्वतमान अध्यक्ष जितनारायण श्रेष्ठ पनि त्यस दिनदेखि गुमनाम नै रहे ।

तर असन्तुष्ट समूह यतिमै रोकिएन आइतबार फेरि भेला बसेर काँग्रेस नेतृ मिना खरेलको प्रस्तावमा संस्थापक अध्यक्ष कृष्णप्रसाद सापकोटाको समर्थनमा अनन्त वागी उम्मेद्वारको रुपमा पूर्वसांसद रहेका पौडेललाई उठाउने निर्णय गरेरै छाड्यो।

वागी उम्मेदवारी दर्तापछि निर्वाचन अधिकृत कार्यालय छेउमै अडेस लगाएर बसेका पार्टीका पूर्वसभापति ७३ वर्षीय टिकाराम न्यौपानेले यसपालीको चुनावमा काँग्रेसको मेयरको उम्मेद्वार नभएकाले आफूहरुले मेयरको उम्मेद्वार लिएर आएका बताए । रुख चिन्हलाई लिएर काँग्रेसीहरुको खिन्न भएको मनलाई र काँग्रेसले चौतारो बनाउँदै आएको रुखलाई बचाउनका लागि वागी उम्मेद्वारी लिएर आएको प्रतिक्रिया उनको थियो । ‘हामी व्यक्ति चिन्दैनौ, जगन्नाथ पौडेल चिन्दैनौ तर उनले बोकेको रुख चिन्छौ ।’ उनी भन्दै थिए ‘२०१७ सालदेखि काँग्रेस चिन्दै र बोहोर्दै आएको म अहिले ७३ वर्षको भएँ आजपनि म बिरामी नै छु तर काँग्रेसको मायाले यहाँसम्म ल्याइपुर्‍यायो । यो हाम्रो एक किसिमको विद्रोह हो यसमा हामी जित हाँसिल गरेरै छाड्छौ । काँग्रेसका केही मान्छेले फालेको रुखलाई हामि चौतारो बनाएर छाड्छौ ।’ उनले भने ।

काँग्रेसबाट पौडेललाई मेयर बनाउने निर्णय आफूहरुले कुनै पक्ष विपक्षमा भन्दा पनि सच्चा काँग्रेसीको आत्माले गरेको निर्णय भएको न्यौपानेको भनाइ थियो । ‘आत्माको निर्णय कुनै पनि डर, त्रास र धम्कीले डग्न सक्दैन । हामी सत्यको लागि आत्मसम्पर्ण गर्दैनौ । केन्द्रले गरेको असत्य कार्यको पाप  काँग्रेसको उम्मेद्वार जिताएर पखाल्छौं । त्यसका लागि हामी मेयर मात्र बोकेर आएका छौं । अरु त सबै रुख लिएर वडाबाटै आएका छन् । ’ उनले दृढ हुँदै भने ।

उनीसँगै उभिएका संस्थापक अध्यक्ष कृष्णलाल सापकोटाले मेयर नपाएको खण्डमा आफैंसमेत  उम्मेद्वार बन्न तयार भएको अवस्थामा पौडेल उठ्ने भएपछि आफू समर्थकको रुपमा उभिएको बताए।
‘त्यो मेरो रुख जोगाउने बाध्यता थियो । तर त्यसैबेला जगन्नाथ जीलाई मेयर उठाउने प्रस्ताव आउँदा मेरो आधा बिराम आफै सञ्चो भयो । म जस्तो बुढोले रुख जोगाउँछु भन्दै मैदानमा लडाइ गर्नुपरेन । तर उक्त लडाइमा म सधैं अगाडि नै रहनेछु ।’ उनले आफ्नो प्रतिबद्धता सुनाए ।

पार्टीले स्वतन्त्र उम्मेद्वार उठाएबापत कारबाही गर्ला भन्ने कुरामा आफू पछि नहट्ने उनको तर्क थियो । कारबाहीबारे हामीले तेर्साएको प्रश्नमा उनले हाँस्दै जवाफ फर्काए ‘८३ वर्षको उमेरमा ३० औँ पटक त यस्ता कारबाहीहरु खेप्दै आइयो । डराउने कुरै छैन । २०१७ सालमा ३३ वर्षे मुद्धा लाग्यो, ज्यान मुद्धासमेत लगाइयो । त्यो पनि भोगियो टारियो । परमात्माले गरेको कारबाही भए डराउँला । मान्छेको कारबाहीले केही हुनेवाला छैन ।’

पूर्वसांसद भिमबहादुर श्रेष्ठ पनि रुख जोगाउने अभियानमा ८४ वर्षे सापकोटाकै लाइनमा थिए । उनले केन्द्रले गठबन्धनको नाममा १० वर्ष भरतपुरका काँग्रेसीहरुलाई बन्धक बनाएको बताए ।
अझैपनि सभापति शेरबहादुर देउवाले केही मिलाउनुहुन्छ भन्ने आसा गरेको उनको भनाइ थियो । उनले भने ,‘भरतपुरको मामलामा माओवादीलाई मेयर दिँदा देउवासँग पक्कै सौदाबाजी नभएको हुनुपर्छ । यसपटक माओवादीलाई मेयर दिएपछि संघीय चुनावमा पनि प्रचण्डजीलाई सांसद बनाउनुपर्ने होला १ त्यसो हुँदा काँग्रेस खै रु रुख कहाँ गयो रु’ उनको प्रतिप्रश्न थियो । ‘लोकतान्त्रिक पार्टीको कार्यकर्ता भएपछि पार्टीमा पनि लोकतान्त्रिक प्रवृती देखाउनु हाम्रो बाध्यता हो । त्यसैले त छाहारी दिने रुख जोगाउन यो टन्टलापुर घाममा सडक तताउँदै यहाँसम्म आइपुगेका छौ ।’ उनले भने।

काँग्रेस जोगाउन मेयर बनेका पौडेलले कुनै पनि हालतमा उम्मेद्वारी फिर्ता नहुने बताए । आफ्नो अधिकांश समय काँग्रेसमा व्यतित भइसकेकोले अब बाँकी रहेको समय कारबाही भए पनि पछो उनले आफ्नो अडान सुनाए ।उनले भने‘मेरो मनोनयन फिर्ता हुन्छ हुँदैन भनेर १६ गतेपछि मलाई भेट्नुहोला त्यसबेला थाहा हुने छ । ’

पौडेलको उम्मेद्वारीको प्रस्तावक नेतृ खरेलले गठबन्धनलाई बिचलित गराउने नभइ पार्टीको आस्था सिद्धान्त अनुसार यो खालको कदम उठाउन बाध्य भएको बताइन् । काँग्रेसले काँग्रेसकै चिन्हमा मत हाल्न पाउनुपर्ने नैसर्गिक अधिकार रहेको उनको भनाइ थियो । उनले भनिन् ‘काङ्ग्रेसको चुनाव चिन्ह रुख लिएर जो मैदानमा उत्रन्छ काङ्ग्रेसीले उसैलाई मत हाल्ने छन । यदि त्यसरी मत हाल्दा पार्टीले जुनसुकै कारवाही गरेपनि हामी भोग्न तयार हुनु पर्छ । मलाई पहिला कारवाही होस ।’

  • प्रकाशित मिति : वैशाख १३, २०७९, मंगलवार २२:२१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८