बैशाख ७,२०७९
चितवन – आसन्न स्थानिय निर्वाचनमा भरतपुर महानगरपालिकाको मेयर पाउनुपर्ने दाबी गर्दै आएको चितवन काँग्रेस केन्द्रको निर्णय सँगै ब्याक हुन पुगेको छ ।
सत्ता गठबन्धन दलको निर्णयले महानगर भागवन्डा गर्दा भरतपुर भने पुनः माओवादीकै पोल्टामा परेको हो ।
यसपटक काङ्ग्रेसले कुनैपनि हालतमा भरतपुरमा आफ्नो पार्टीको मेयर हुनुपर्ने भन्दै लामो समयदेखि दबाब तथा केन्द्रसम्म लबिङ गर्दै आएको थियो । तर गठबन्धन सरकारलाई निरन्तरता दिने बताउँदै काँग्रेस सभापति शेरबहादुर देउवाले चितवनको भरतपुर माओवादीका प्रचण्डलाई सुम्पिएका छन् । चितवनका काँग्रेसले गरेको लामो प्रयास र लबिङ अनन्त विफल भएको छ । यो पटक सहित काँग्रेस कार्यकर्ताहरु १० वर्षसम्म आफ्नो चुनावचिन्ह रुखमा मत हाल्नबाट बञ्चित हुने भएका छन् ।
अघिल्लो स्थानिय निर्वाचनमा माओवादीलाई सघाएका काँग्रेसहरु यसपटक भरतपुर कुनै पनि हालतमा आफुले पाउनेमा विश्वस्त थिए । यसैबीचमा माओवादीले भरतपुरलाई दाबी गर्न थालेपछि चितवन काँग्रेसले मेयर छाड्न नसक्ने भन्दै चेतावनी समेत दिर्दै आएको थियो । उनीहरुले यसै विषयलाई लिएर प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा लगायत एक दर्जन नेतालाई भेटेर ध्यानाकर्षण समेत गराएका थिए ।
यता भरतपुर महानगरका २९ वटै वडाका वडा सभापतिहरुको बैठकले भरतपुरको मेयर नपाए एक्लाएक्लै चुनाव लड्ने भनेर निर्णय गर्दै जिल्ला कार्यसमितीमा माइनटनै बुझाएका थिए।
तर गठबन्धनको निर्णयअनुसार भरतपुर माओवादीलाई पर्ने निश्चित भएपछि आक्रोसित बनेका कार्यकर्तालाई मत्थर पार्न सभापति देउवाले जिल्ला सभापति राजेश्वर खनाललाई बोलाएर सत्तागठबन्धनलाई निरन्तरता दिनका लागि भरतपुरको मेयर माओवादीलाई दिनुपर्ने अवस्था आएको जानकारी गराएका थिए ।
तर मेयरका लागि चितवन काँग्रेसले गरेको ‘इफोर्टलाई देउवाले गठबन्धनको नाममा मैदान छाड्न दबाब दिएपछि चितवनका काँग्रेसीहरुको अहिलेसम्मको त्याग र तपस्या बालुवामा पानी खनाएसरह भएको छ ।
माओवादीले मेयर पाउने निश्चिति भएपछि चितवन काँग्रेसहरु अब के हुन्छ भनेर केन्द्रको निर्णय पर्ख र हेरको अवस्थामा रहेको देखिन्छ । गठबन्धनले गरेको निर्णयलाई तल्लो तहले कार्यान्वयन गर्नुपर्छ भन्ने मानसिकतामा पुगेका चितवनका काँग्रेसहरु बाँकी रहेका सबै पदहरुमा आफ्नो दाबी रहने तर्फ लागेको देखिन्छ ।
जिल्ला देखि वडासम्मका नेताहरुको एउटै भनाइ छ उपमेयर लगायत सबै वडामा काँग्रेसको नेतृत्व हुनपर्यो ।
भरतपुर –१४ का वडाअध्यक्ष राजेन्द्र शाखी उपमेयर सहित सबै वडा काँग्रेसले पाउनुपर्ने तर्क राख्छन् । मेयर नपाएपनि आफुहरुले वडामा हुने गठबन्धनको मोडालिटीलाई हेरेर अब के गर्ने भन्ने निष्कर्ष निकाल्ने उनले बताए ।
‘गठबन्धनको कुरा छ त्यसको मोडालिटी भने २९ वटै वडामा काँगेसले प्रमुख पद पाउनुपर्छ भन्ने हो ’ उनले भने।
अबको यदि हामीले भनेजस्तो निर्णय नभएमा मेयरमा माओवादीलाई सघाउनै पर्छ भन्ने बाध्यता आफूहरुलाई नहुने शाखीले बताए । पार्टीले निर्णय गरेपनि अघिल्लो चुनावझै यसपाली रेनु दाहाललाई जिताउन झण्डा बोकेरै आफुहरु लागिपर्न नसक्ने शाखीको भनाइ छ ।
गठबन्धनका नाममा केन्द्रलेनै सबै निर्णय गर्दै गएपछि तल्लो तहको निकायको कुनैपनि भूमिका अडिग हुन नपाउने उनको भनाइ थियो । उनले भने, ‘पार्टीले निर्णय गरिसकेपछि हाम्रो खास भूमिका के रह्यो र रु तर यसपाली हामीलाई हसिया हथौडा बोक्नैपर्छ भन्ने जरुरी छैन उनले भने ।
।अहिलेको समय संवेदनसील रहेको बताउँदै उनले तत्कालै क्रिया प्रतिकृयामा उत्रनभन्दा पनि जिल्ला तहको गठबन्धनको संयन्त्रले सबै वडामा कसरी टुङ्गाउछ र जिल्लाको नेतृत्वले आफूहरुलाई कसरी सम्बोधन गर्छ पर्ख अनि हेरको अवस्थामा रहेको उनको भनाइ छ ।
भरतपुर २१ का वडासभापती कृष्णकान्त भण्डारी केन्द्रको निर्णय आएपछि आफूहरु चुप लागेर बस्नुको विकल्प नरहेको बताउँछन् । तर अहिलेको चुनावमा पहिलेजस्तो लागिपरेर मेयरलाई जिताउनै पर्छ भन्ने बाध्यता महसुस नभएको उनको भनाइ थियो । उनले भने, ‘हामीले यो परिस्थिति स्वीकार गरेर अगाडि बढ्ने अवस्था छैन । अब साइलेन्ट बस्ने भन्दा अर्को विकल्प रहेन । पहिले जस्तो हामी उनीहरुलाई पुरस्कृत गर्न लाग्दैनौ । शान्त बस्छौ ।’
भरतपुर २८ का वडासभापति डन्डपाणि ढकालले उपमेययर लगायत सबै वडा काँग्रेसले पाउने हो भने मेयरमा माओवादीलाई सघाउन सकिने बताए । उनले भने ‘केन्द्रमा रामचन्द्र पौडेलले उठाएको जस्तो मेयर बाहेक सबै वडा र उपमेयर काँग्रेसले पाउने भयो भने कुरा मिल्न सक्छ नत्र परिस्त अर्कै बन्न सक्छ ।’
काँग्रेसका केन्द्रिय सदस्य टेकप्रसाद गुरुङले भरतपुरको मेयर काँग्रेसले पाउने पालो हुँदाहुँदै केन्द्रले गरेको निर्णय अझैपनि भरतपुरले स्विकार्न नसकेको बताए । उनले भने,‘म त अझै पनि पोइन्टमै छु भरतपुर काँग्रेसले नै पाउनुपर्छ । यसमा हामी सबै प्रतिबद्ध छौ ।’ पछिल्लो समय काँग्रेस माओवादीको दबाबमा फस्दै गएको उनले बताए । काँग्रेसले पाउने भाग माओवादीकै दबाबमा केन्द्रले निर्णय गरेको उनको भनाइ थियो । उनले भने,‘केन्द्रले निर्णय गरिहाल्यो, त्यसमा हाम्रो भन्नु केही छैन । तर उपमेयर लगायत सबै वडा काँगेसले पाएमा अझैपनि केही कुरा मिल्न सक्छ।’ अहिलेसम्म केन्द्रले जिल्लालाई निश्चित निर्णय नपठाएको उनले बताए ।
उनले भने,‘चितवन काँग्रेसले गरेको निर्णयलाई उल्टाउने काम पनि त चितवन काँग्रेसले नै गर्नुपर्यो नि त्यसको बारेमा हामीलाई कुनै जानकारी आएको छैन ।’
तर आफु भरतपुर महानगरको मेयरको दाबेदार नभएको गुरुङले बताए । उनले भने , ‘कसैले मेरो नाम पनि मेयरमा राखिदिएछन। जसले माया गरेर मन जितेर राख्यो उसलाइ धन्यवाद तर मेरो आफ्नो इच्छा भने होइन।’
लगातार १० वर्षसम्म काँग्रेसले रुखमा भोट मत हाल्न नपाउँदा महानगरमा काँग्रेसको अवस्था कस्तो छ भनेर आकलन गर्न समेत कठिन हुने उनले बताए ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८