• वैशाख २३, २०८१, आइतवार Sunday, 05 May, 2024

चितवनमा सुरु भयो कृषि गणना: १९ सुपरीवेक्षक र ६५ गणक पुगे कृषक परिवारमा

  • खबरदाता

चितवनमा सुरु भयो कृषि गणना: १९ सुपरीवेक्षक र ६५ गणक पुगे कृषक परिवारमा

बैशाख ६,२०७९

चितवन । सातौँ राष्ट्रिय कृषि गणना २०७८ आजबाट चितवनमा पनि सुरु भएको छ ।

जिल्लाका सातैवटा स्थानिय तहमा आजै देखि गणक र सुपरीवेक्षकहरु पुगेर गणना सुरु गरेका हुन।

जिल्ला कृषि गणना चितवनका अधिकृत यज्ञमुर्ति भण्डारीका अनुसार १९ जना सुपरीवेक्षक र ६५ जना गणकहरु कार्यक्षेत्रमा पुगेर काम सुरु गरिसकेका छन।

हरेक १० र१० वर्षमा गणना हुने गर्दछ । ‘कृषि गणनाको सार, कृषि योजनाको पूर्वाधार’ भन्ने मूल नारा सहित सुरु भएको गणना आजदेखि जेठ १९ गते अर्थात ४५ दिन सम्म चल्नेछ। संघीयता पछिको भने यो पहिलो कृषि गणना हो।

जिल्लाभरका १७९ गणना क्षेत्रमा सुपरिवेक्षक र गणक गरि ८४ जना कार्य क्षेत्रमा खटिएका छन। उनीहरु आजबाट घर घर पुगेर विवरण संकलन गरिरहेका छन् ।

उनीहरुले केन्द्रिय तथ्यांक बिभागले उपलब्ध गराएको क्षेत्रमा पुगि लगत १ अन्तर्गत सूचीकरण कार्य गर्नेछन। साथै नमुना छनोट बिधिबाट २०-३० कृषक परिवारहरु छानेर लगत २ अन्तर्गतको मुख्य प्रश्नावली पनि गणकले भर्ने छन र लगत ३ अन्तर्गतको वडा स्तरीय प्रश्नावली सुपरिवेक्षकहरुले भर्ने छन।

अधिकृत भण्डारी सहित तथ्याङ्क कार्यालय चितवनका कर्मचारीले आज माडी क्षेत्रमा गणना कार्यको अनुगमन समेत गरेका छन ।

अनुगमनका क्रममा सहजै गणनाको कार्य भइरहेको भण्डारीले बताए । साथै गणनाको समयमा पर्ने कठिनाइलाई हटाउन स्थानीय तहमा स्थानीय तह सहजीकरण समिति बनाएर वडास्तरीय सहजीकरण समिति समेत बनाउन पहल भइरहेको भण्डारीको भनाई छ।

जिल्लाका सात वटा स्थानीय तहमध्ये भरतपुर महानगरपालिकामा ३७ वटा गणना क्षेत्रमा १४ गणक र ४ जना सुपरीवेक्षक, रत्ननगर नगरपालिकामा २५ गणना क्षेत्रमा ९ जना गणक र ३ जना सुपरीवेक्षक, खैरहनी नगरपालिकामा २८ वटा गणना क्षेत्रमा १० जना गणक र २ जना सुपरीवेक्षक,राप्तीमा २५ गणना क्षेत्रमा ९ जना गणक र २ जना सुपरीवेक्षक, कालिकामा २२ गणना क्षेत्रमा ८ जना गणक र २ जना सुपरीवेक्षक, माडीमा २८ गणना क्षेत्रमा १० जना गणक र ४ जना सुपरीवेक्षक र इच्छाकामना गाउँपालिकामा १४ गणना क्षेत्रमा ५ जना गणक र २ जना सुपरीवेक्षकलाई खटाइएको छ ।

यसरी सातौँ राष्ट्रिय कृषि गणना २०७८ सफल पार्न छनौटमा परेका १७९ गणना क्षेत्रमा ६५ जना गणक र १९ जना सुपरीवेक्षक खटिएका हुन् । सुपरीवेक्षक उत्तम पौडेलले १० वर्षपछि आएको गणनामा कृषकले उत्साहित भएर तथ्याङ्क दिएको बताए । अहिले सूचीकरणको कार्य भइरहेको र गणकलाई आइपर्ने समस्यालाई समाधान गर्न लागिरहेको उनको भनाइ थियो।

यो महाअभियानमा आफू समेत सहभागी हुन पाउँदा उत्साहित रहेको उनले बताए ।

  • प्रकाशित मिति : वैशाख ६, २०७९, मंगलवार २१:०५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८