बैशाख ४, २०७९
काठमाडौँ । सत्ता गठबन्धन दलले उम्मेदवारको नाम सिफारिस गर्न आफ्ना जिल्ला संयन्त्रलाई वैशाख ३ सम्मको समयसीमा दिएका थिए । तर तालमेल गर्ने गठबन्धनको निर्णयलाई लिएर खासगरी प्रमुख सत्तारुढ नेपाली कांग्रेस देशैभर विभाजित छ । गठबन्धनका अन्य पार्टीमा समेत तालमेलबारे असन्तुष्टि बढेको छ । जसका कारण धेरैजसो जिल्लामा गठबन्धनको बैठक बस्नै सकेको छैन ।
आफ्नो पकड रहेका क्षेत्र अर्को दललाई छोड्न नमान्ने स्थितिका कारण गठबन्धन दल उम्मेदवार सिफारिस गर्न असफल भएका छन् । कतिपय स्थानीय तहमा कांग्रेसले एकतर्फीरुपमै उम्मेदवार छानेको छ । सत्ता गठबन्धनका शीर्ष नेताको चैत २९ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले तालमेलको ढाँचा र मापदण्ड तय गरेको थियो । त्यही बैठकले वैशाख ३ सम्म उम्मेदवारको नाम सिफारिस गर्न जिल्ला संयन्त्रलाई निर्देशन दिएको थियो ।
त्यसपछि निर्देशनअनुसार उम्मेदवारको नाम सिफारिस हुनु त परै जाओस्, स्थानीय तहमा उम्मेदवारको भागबण्डा मिलाउन गठबन्धनलाई सकस परेको छ । खासगरी तालमेलको निर्णयलाई लिएर कांग्रेसका कार्यकर्तामा व्यापक आक्रोश छ । उम्मेदवार सिफारिस नभएको मात्र होइन, भागबण्डा र सिफारिसका लागि धेरै जिल्लामा गठबन्धन दलको बैठक नै बस्न सकेको छैन ।
मुख्य प्रतिस्पर्धी नेकपा एमाले विभाजित रहेकाले जित हासिल गर्न कठिन नहुने कांग्रेसका स्थानीय मात्र होइन, उच्च तहकै धेरै नेताको बुझाइ छ । त्यही भएर तालमेल गर्नुपरेकै अवस्थामा पनि कांग्रेसका स्थानीय र जिल्ला तहका नेता आफ्नो पकड रहेका क्षेत्र अरु दललाई छोड्ने पक्षमा छैनन् ।
भरतपुर महानगर माओवादी केन्द्रको भागमा पर्ने निश्चितजस्तै भएपछि असन्तुष्टि जनाउँदै कांग्रेसका ५० कार्यकर्ताले शनिबार पार्टी छोडेको घोषणा नै गरे । मोरङमा कांग्रेस कार्यालयमा कार्यकर्ताले गठबन्धनको विरोधमा नाराबाजीसमेत गरे ।
उसो त कांग्रेसमा आकांक्षीको कमी छैन । आफ्नो नाम सिफारिसका लागि आकांक्षीहरुले जोडबल बढाएका छन् ।आकांक्षीको लर्को र कार्यकर्ताको दबाबका कारण प्रदेश तहका नेता नै महानगर र उपमहानगरबाहेक अन्यत्र गठबन्धन गर्न नसकिने निष्कर्षमा पुगेका छन् ।
आफ्नो पकड रहेका क्षेत्र माओवादी केन्द्र र जनता समाजवादी पार्टीले पनि छोड्न चाहेका छैनन् । आफ्नो पकड क्षेत्र छोड्न नचाहने र कमजोर ठाउँमा भाग खोज्ने प्रवृत्तिले गठबन्धनमा समस्या देखिएको हो । जनता समाजवादी पार्टीले केन्द्रको निर्देशनविपरीत कैलालीमा गठबन्धन बाहिरका पार्टीसँग तालमेलको निर्णय गरेको छ।
पाँच वर्षपछि हुन लागेको निर्वाचनमा कार्यकर्ताले आफ्नो पार्टीका उम्मेदवार चाहनु अन्यथा होइन । तर कार्यकर्ताको चाहनालाई बेवास्ता गरी केन्द्रबाट निर्णय थोपरिएकाले उम्मेद्वार सिफारिस त प्रभावित भएको छ नै, तालमेल हुने नहुने अन्योल बढेको हो ।
गठबन्धन वा तालमेल नगर्न कांग्रेसभित्र परेको दबाबकै परिणामस्वरुप केन्द्रीय नेतृत्व पनि निर्णय लाद्न नसक्ने अवस्थामा पुगेको छ । शनिबार कांग्रेस कार्य सम्पादन समितिको बैठक बसिरहेकै बेला प्रवक्ता प्रकाशशरण महतले पत्रकारहरुसँग भने– सकेसम्म तालमेलको प्रयास हुन्छ । त्यो हुन नसके गठबन्धनकै घटकबीच मित्रवत् प्रतिस्पर्धा हुन्छ । उता माओवादी र एकीकृत समाजवादीका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधव नेपालले पनि एक्लै प्रतिस्पर्धा गर्न तयार रहेको सार्वजनिक प्रतिक्रिया दिनुले गठबन्धनभित्र गडबडी बढ्दै गएको स्पष्ट भएको छ । गठबन्धनको गाँठो फुस्किँदै जाँदा मूलतः एमाले र कांग्रेसकै बीचमा प्रतिस्पर्धा हुने देखिएको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८