चैत २१, २०७८
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाको बेमौसी भारत भ्रमण सकिएको छ । चुनावको मुखैमा गरिएको यो भ्रमण समय र सन्दर्भका हिसाबले त बेमौसमी थियो नै, शैलीका हिसाबले पनि उत्ताउलो नै रह्यो ।
देउवाले यस भ्रमणका दौरान आफ्नो पद र कूटनीतिक मर्यादालाई कम, भारतीय जनता पार्टीको इशारालाई बढी महत्त्व दिए । यही कारण उनले काठमाडौँबाट दिल्ली अवतरण गरेकै दिन भाजपाको मुख्यालय गएर राजनीतिक भेटघाट गरे । बहालवाला प्रधानमन्त्री औपचारिक भ्रमणमा जाँदा कुनै दलको पार्टी मुख्यालयमा पुगेर भेटवार्ता गर्नु शिष्टाचारको उल्लंघन मात्र थिएन, राष्ट्रकै शिर निहुराउने काम पनि थियो ।
भारतकै कंग्रेस पार्टीका नेताहरुलाई भेट्दै नभेटेका देउवा भाजपाका नेताहरुलाई खोजीखोजी एकल र सामूहिकरुपमा भेटे । कतिसम्म भने उनले उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथलाई भेट्न वाराणसीमा कार्यक्रम मिलाए ।यी सारा कृत्यहरु एकसाथ गर्नुको कारण थियो, भारतीय सत्ताको विश्वास जित्नु र आगामी चुनावमा पनि साथ पाउनु । किनभने, विगतमा केपी शर्मा ओलीले भारतकै साथ र विश्वास नपाउँदा दुई तिहाइनजिकको सत्ता गुमाउनुपरेको देउवाले राम्ररी बुझेका छन् । अझ ओलीले त सीमा अतिक्रमण र नाकाबन्दीको खुलेर विरोध जनाएका थिए । त्यसबाट चिढिएको भारतले देउवालाई भरपूर स्वागत गरेर ओलीलाई देखाउन चाहन्थ्यो । देउवाले लगभग यसअघि कहिल्यै नपाएको मेहमानी पनि पाए ।
भाजपा मुख्यालयमा त भारतीय नेताहरुले देउवालाई गठबन्धन सरकार जोगाउने र टिकाउने सूत्र नै सिकाए । आफ्नै दलको बहुमत हुँदा पनि आफूहरुले गठबन्धनलाई धोका नदिएको सन्दर्भ अघि सारी आगामी चुनावमा गठबन्धनलाई साथै लिएर मैदानमा जान पनि सुझाए । यी सबै प्रकरणहरु केलाउँदा भारतीय सत्ताको देउवालाई पूरापूर समर्थन र साथ रहेको स्पष्ट हुन्छ ।
यस भ्रमणबाट देउवाले आफ्नो सत्ता टिकाउने र आउँदो चुनावमा पनि भारतीय सदभाव रहने गरी व्यक्तिगत रुपमा ठूलै उपलब्धि हासिल गरेका छन् । तर देशको तर्फबाट हेर्दा कुनै सन्तोष गर्ने ठाउँ देखिन्न । कतिसम्म भने दुई प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्दा पनि संयुक्त वक्तव्य जारी भएन । यसको एउटै कारण थियो, देउवाले सीमा समस्याको कुरा उठाएका थिए तर भारत त्यसलाई वक्तव्यमा राख्न तयार थिएन । देउवाले जित्ने तर देशले हार्ने खेल यहीँनिर खेलिएको छ ।
अब चुनावको मुखमा भारतीय संस्थापनबाट प्राप्त आशिर्वादले देउवालाई कति हित गर्ला त रु नेपालमा यसै पनि भारतविरोधी भावना बढी छ । त्यसमाथि केही समययता नेपालमाथि भारतीयको थिचोमिचो झन् बढेको छ । नेपालको विरोधका बाबजुद लिपुलेकमा बनाएको सडक होस् या महाकालीको तुइन काटिदिएर जयसिंह धामीलाई जिउँदै नदीमा बगाइएको प्रसंग होस्, नेपालीका निम्ति यी आलो घाउ बनेर बसेका छन् । अनि यी प्रकरणमा देउवाले एक शब्द पनि उच्चारण नगरी खाली मोदीदेखि आदित्यनाथको दर्शनमै रमाइदिँदा नेपालीको चित्त झन् पोलेको छ ।
हो, भारतीय सदाशय हुँदासम्म नेपालमा सत्ता चलाउन सहज हुन्छ । सत्तामा टिकिरहन पनि सकिन्छ । तर, जनताको मनमा रहेन भने भारतले टिकाइदिएको सत्ता जतिखेर पनि ढल्न सक्छ । कम्तीमा अर्को चुनावमा जनताले यसको सबक सिकाउन सक्छन् । यसै पनि देउवा नेकपा एमाले र यसका अध्यक्ष केपी शर्मा ओलीसँग चुनावमा आमने–सामने हुन डराइरहेका छन् । यही कारण गठबन्धन कायम राख्नुपर्ने भन्दै हिँडेका छन् । त्यसले नपुगेर भारतमा उनले धार्मिक आवरण पहिरिएर कांग्रेसलाई भाजपाको नेपाल संस्करणका रुपमा देखाउन खोजेका छन् । र, नेपालका हिन्दु अतिवादीको भोट आफूतिर तान्न सक्ने उनको आकलन होला । तर, देउवाले जुन रुपमा यी तुरुपहरु खेलिरहेका छन्, ती कुनै पनि कामयावी नहुन पनि सक्छन् । जब नेपाली जनताले त्यसलाई अस्वीकार गर्छन् भने ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८