चैत २०,२०७८
विगत तीन वर्षदेखि पटकपटक मिति तय भएर पनि सञ्चालन हुन नसक्दा निराश बनेका यस क्षेत्रका नेपाली जनताको रेल चढेर भारतीय सीमावर्ती बजार जयनगरसम्म घुम्न जाने सपना बल्ल पुरा भएको हो ।
नेपाल–भारतबीच सन् २०१० मा भएको सम्झौता अनुसार जयनगर–जनकपुर–भङ्गहा–बर्दीवास रेल मार्ग निर्माण तथा विस्तार आयोजना सुरु भएपछि २०७० साल माघ १७ गतेदेखि रेल सेवा बन्द भएको थियो ।
आठ वर्ष २ महिनापछि विधिवत रुपमा रेल सञ्चालन भएको आफ्नै आँखाले हेर्न शनिबार हजारौं सर्वसाधारण बिहानैदेखि जनकपुर रेल्वे स्टेशनमा भेला भएका थिए । प्रचण्ड गर्मीका बावजुद स्कुले छात्र–छात्रा घण्टौं लाइनमा उभिएर पाहुनाको स्वागत गर्न रेल्वे स्टेशनमा आएका थिए । सर्वसाधारणको भीड व्यवस्थापन गर्न जनपद र सशस्त्र प्रहरीलाई हम्मेहम्मे परेको थियो ।
अपराह्न पौने तीन बजे पाहुनासहितको रेल जनकपुर रेल्वे स्टेशन पुग्दा सर्वसाधारणले जयघोष गरेर पाहुनालाई स्वागत गरेका थिए । नियमित रुपमा रेल सञ्चालनमा आएपछि महोत्तरी विजलपुराका रामपुजन महराले रेल चढी जयनगरसम्म घुमेर आउने योजना आफूले बनाएको बताए । उनले भने , ‘‘मैले सुनेको यो रेल जनकपुर–कुर्थाबाट एकपटक बिहान जयनगर जान्छ रे । साँझ फेरि फर्किन्छ । त्यसैले म बिहानै रेल चढेर जयनगर जान्छु, साँझ फर्किन्छु भन्ने योजनाका साथ जनकपुर रेल्वे स्टेसनमा आइपुगेको छु ।’’ उनले आफू यसअघि कहिल्यै रेल नचढेको पनि बताए ।

प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्तरुपमा शनिबार भर्चुअल माध्यमबाट रेल्वे सेवाको उद्घाटन गरेसँगै आजदेखि नियमित रेल सेवा सञ्चालन भएको छ । दैनिक दुई पटक जयनगर–कुर्था रेल चल्ने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिए । आइतबार देखिनै तालिका अनुसार नियमित रेल सञ्चालन भएको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक नीरञ्जन झाले जानकारी दिए । झाका अनुसार दिनको दुई पटक आउने र दुई पटक जाने गरी समय तालिका निर्धारण गरिएको छ । जयनगरबाट ८ः३० र ३ बजे छुट्नेछ भने कुर्थाबाट १०ः३० र ५ः१५ मा अर्को रेल छुट्ने उनले जानकारी दिए ।
यसरी दैनिक बिहान साढे ८ बजे जयनगरबाट कुर्थाका लागि छुट्ने रेल बिहान १० बजे कुर्था स्टेशन पुग्नेछ भने पौने ११ बजे जनकपुरधामको कुर्थाबाट जयनगरका लागि चल्ने रेल साढे १२ बजे जयनगर स्टेशनमा पुग्ने महाप्रबन्धक झाले बताए । जयनगर पुगेको रेल पुनःदिउँसो ३ बजे कुर्था फर्केर आउनेछ भने बिहान साढे ८ बजे जयनगरबाट आएको रेल बेलुका ५ बजेर १५ मिनेटमा फर्कने गरी रेल्वेको समय निर्धारण गरिएको महाप्रबन्धक झाको भनाइ छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८