• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

मोदीसामु लम्पसार देउवाः नेपालका मुद्दामा मौन, भारतका प्रस्तावमा भटाभट दस्तखत

  • खबरदाता

मोदीसामु लम्पसार देउवाः नेपालका मुद्दामा मौन, भारतका प्रस्तावमा भटाभट दस्तखत

चैत२०, २०७८

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा भारतीय समकक्षी नरेन्द्र मोदी समेतको उपस्थितिमा दुई देशबीच केही दस्तावेजमा हस्ताक्षर गरिए । दुवै देशका प्रधानमन्त्रीले कुर्थादेखि जनकपुरसम्मको रेल सेवा शुभारम्भ गरे । नयाँ दिल्लीस्थित हैदरवाद हाउसमा भएको द्विपक्षीय वार्तापछि दुवै देशका प्रधानमन्त्रीले नेपाल(भारत सम्बन्ध थप सुदृढ भएको परम्परागत मन्त्र पनि वाचन गरे । तर हुनुपर्ने काम केही भएन । खासमा नेपालको आँखाबाट हेर्दा भारतले फेरि धोकाधडी र छलछामको नीति अपनायो । प्रधानमन्त्री देउवा त्यसैमा लुटपुटिएर हाँस्नु न रुनुको अवस्थामा पुगेर फर्किँदै छन् ।

बाहिरबाट हेर्दा देउवालाई भारत र मोदीले पूरापूर सम्मान गरेको देखियो । देउवा पनि यसैमा दंग देखिए । भित्रभित्रै मोदीको कुटिल चाल देखियो । शनिबार बिहान हैदरावाद हाउसमा देउवाको स्वागतका लागि मोदी पहिला नै पुगिसकेका थिए । देउवा आएपछि सत्कारका निम्ति मोदी गाडीको ढोकैसम्म पुगे ।सामान्य शिष्टाचार र औपचारिकतापछि दुवै प्रधानमन्त्री वार्ता कक्षतर्फ लागे । सुरुमा देउवा र मोदीसँगै केही मन्त्रीहरु बसेर कुरा भयो । त्यसपछि देउवा र मोदीबीच एक्लाएक्लै वार्ता भयो । त्यो सकिएपछि दुवै देशका प्रतिनिधि मण्डलसहित वार्ता चल्यो । त्यस क्रममा नेपाल(भारत साझेदारीका चारवटा दस्तावेजमा हस्ताक्षर भयो।

अन्तर्राष्ट्रिय सोलार गठबन्धनका लागि फ्रेमवर्क सम्झौतामा हस्ताक्षरपछि सौर्य उर्जासम्बन्धी अन्तर्राष्ट्रिय सञ्जालमा नेपाल जोडिएको भनिएको छ । तर यो सम्झौता नेपालको आवश्यकतासँग नभई भारतीय प्रधानमन्त्री मोदीको स्वार्थ र नाराको भारी मात्र हो । कोइला विस्थापन गरी सौर्य ऊर्जा खपतका लागि मोदीले बनाएको अन्तर्राष्ट्रिय गठबन्धन हो, जसमा ८१ देश सदस्य छन् । नेपालमा कोइला प्रयोगको त्यो अवस्था नै छैन । त्यसैले अन्तर्राष्ट्रिय जगतमा मोदीको शक्ति र प्रभाव बढेको देखाउनेबाहेक अरु कुनै अर्थ छैन यसको ।

त्यस्तै रेल क्षेत्रमा प्राविधिक सहयोग अभिवृद्धि गर्ने समझदारी पत्रको आदानप्रदान भएको छ भने पेट्रोलियम पदार्थको आपूर्ति र पेट्रोलियम पदार्थको क्षेत्रमा प्राविधिक विशेषज्ञता आदानप्रदानसम्बन्धी सम्झौतामा पनि दुई देशका अधिकारीबीच हस्ताक्षर भएको छ । जुन कुरा प्रधानमन्त्री नजाँदा पनि हुने नै थिए । यी कुनै नयाँ समझदारी नभई नवीकरण मात्र गरिएका हुन् । यसलाई प्रधानमन्त्री भ्रमणको उपलब्धि भन्न थालेमा त्यो भ्रमणकै अवमूल्यन हुनेछ ।

हस्ताक्षरको कार्यक्रम सकिएलगत्तै दुवै देशका प्रधानमन्त्री संयुक्त पत्रकार सम्मेलनका लागि उपस्थित भए । त्यही कार्यक्रमबाट दुवै प्रधानमन्त्रीले हरियो झण्डा देखाएर कुर्थादेखि जनकपुरसम्मको रेल सेवा शुभारम्भ गरे । यसअघि नै पटकपटक शुभारम्भ र उद्घाटन भइसकेको रेल दुई देशका प्रधानमन्त्रीलाई उभ्याएर पुनः उद्घाटन गर्नु अर्को भुलभुलैया मात्र हो । फेरि यो रेल नेपालले झण्डै १ खर्ब रुपैयाँ खर्चेर किनेको हो । भारतीय अनुदान वा सहयोगमा आएको होइन । यसमा भारतीय प्रधानमन्त्रीबाट किन उद्घाटन गराइयो भन्ने अर्को आश्चर्य छ ।

यस्तै सोलु करिडोर १३२ केभी डबल सर्किट विद्युत प्रसारणलाइन पनि उद्घाटन गरे। सोलुखोला जलाधार क्षेत्रका जलविद्युत आयोजनाहरुबाट उत्पादित विद्युत् राष्ट्रिय प्रणालीमा प्रवाह गर्न निर्माण भएको प्रसारणलाइन करिब ३ वर्ष ढिला गरी गत २ फागुनमा चार्ज गरिएको थियो । यसमा भारतीय एक्जिम बैंकको तीन अर्ब २० करोड रूपैयाँ ऋण छ । अस्ति भर्खर पोखरा विमानस्थल चीनबाट हस्तान्तरण गरेभन्दा कुनै अर्थमा फरक छैन यो ।

भारतीय कार्ड ‘रूपे’ नेपालमा सञ्चालनको शुभारम्भ गरेका छन् । यो विशुद्ध भारतीय लाभका लागि मात्र हो । विश्वव्यवापी भुक्तानी गर्न मिल्ने र ७० करोड भारतीयले प्रयोग गर्ने दावी गरिएको सो कार्ड नेपालमा एसबीआई बैंकमार्फत् मात्र चल्ने र भारतीय नियन्त्रणमा रहनेछ । भारतीय सहयोगमा भूकम्पपछि पुनर्निर्माण भएका १ सय ३२ स्वास्थ्य चौकीको प्रगति अवलोकन त्यही मञ्चबाट गरियो । यही नाममा २०७२ देखि भारतले आफ्नो दानको प्रचार दर्जनौँपटक गरिसकेको छ । अझै गरिरहेको छ नेपालीको शिर निहुराउनलाई ।

नेपाल-भारत सीमा समस्या र पञ्चेश्वर परियोजनाका विषयमा मोदीले अल्मल्याउने कुरा मात्र गरे । देउवाले सीमा समस्या द्विपक्षीय स्थापित संयन्त्रबाट टुंग्याउनुपर्ने प्रस्ताव राख्दा मोदीले अन्यत्रै मोडेर खुला सीमा व्यवस्थापनको चर्चा गरिएको बताएका थिए ।

कार्यक्रममा मोदीले सदाझैँ यसपालि पनि पञ्चेश्वर बहुउद्देश्यीय परियोजनालाई गेम चेञ्जर बनाउने वचन दिन भ्याए ।तर नेपालका महत्त्वपूर्ण र खास चासोहरुमा भने भारतको प्रस्तुति ठोस र उत्साहजनक देखिएन । नेपालका सरोकारलाई भारतले बेवास्ता र विषयान्तर गरेको छ । सीमा अतिक्रमणका विषयमा नेपालले द्विपक्षीय स्थापित संयन्त्रबाट टुंग्याउन प्रस्ताव गर्दा त्यसलाई त बेवास्ता गर्‍यो नै, दुवै देशको प्रबुद्ध व्यक्ति समूह (ईपीजी)ले संयुक्त रुपमा बुझाएको प्रतिवेदनबारे एक शब्द उच्चारण गरिएको छैन । त्यसबाहेक कुनै नयाँ रणनीतिक समझदारी पनि भएको छैन । यस हिसाबले हेर्दा दुई देशबीच राजनीतिक तहमा विश्वास र सद्भावको आदानप्रदानमा यो भ्रमण केन्द्रित भएको देखिएको छ ।

देउवाको भारत भ्रमणका क्रममा न पुराना गाँठा फुकाइए । न त कुनै नयाँ परियोजनाको घोषणा वा समझदारी भयो । यसअघि भइसकेका कतिपय साझेदारीका कामलाई उपलब्धिका रुपमा देखाइयो । केही भारतीय चासोका विषय मिसाएर द्विपक्षीय उपलब्धिका रुपमा अगाडि सारियो ।

अनि नेपालले भारतबाट बेहोर्दै आएको पीडाबारे एक शब्द बोलिएको छैन । नेपाली भूमि अतिक्रमणदेखि सीमा क्षेत्र तथा भारतीय भूमिमै नेपालीमाथि भइरहेका अमानवीय व्यवहार नेपालको मुख्य चासो थियो । स्वयं प्रधानमन्त्रीको गृह क्षेत्रमा भएको तुइन प्रकरणको कुरा उठ्ला कि आशा पनि नभएको होइन । तर यी कुनै कुरा भएनन् । अझ इपीजी प्रतिवेदनबारे दुवै पक्ष मौन बस्दा अब त्यो अस्वीकृत वा असान्दर्भिक भएको पो हो कि भन्नुपर्ने भएको छ ।

भन्न त भारतका प्रधानमन्त्री मोदीले पञ्चेश्वर बहुउद्देशीय परियोजना ऊर्जा क्षेत्रका लागि गेमचेन्जर हुने र अगाडि बढाउने भनेका छन् । तर यो भन्न थालिएको पनि अढाइ दशक भइसकेको छ । अब परियोजनास्थलमा भौतिक प्रगति नभएसम्म गुलिया कुरा गरेकै भरमा विश्वास गर्न सकिने आधार छैनन् ।

सधैँझैँ यसपालि पनि नेपाल–भारत सम्बन्ध संसारमै अद्वितीय रहेको वा यस्तै कैयन् अमूर्त फुँदा लगाएर महत्तागान गरिएको छ । तर नेपालको चासो जोडिएका महत्त्वपूर्ण मुद्दामा कुनै ठोस निकास वा ब्रेक थ्रु भएको छैन । चुच्चे नक्सा र सीमा अतिक्रमणको विषयमा नेपालले वार्ता प्रस्ताव गरेको धेरै भइसकेको छ तर भारत अमूर्त कुरामा भुलाउने प्रयास गर्दै आएको छ । यसपटक पनि उसले त्यही गरेको छ ।

सारमा यो भ्रमण प्रधानमन्त्री देउवाका निम्ति मोदीसँग नजिकिने अवसर बन्यो भने मोदीका निम्ति नाकाबन्दीदेखि सीमा अतिक्रमणसम्मका ज्यादतीलाई सामान्यीकरण गर्ने । चुनावको मुखमा देउवाले यो भ्रमण गरेर भाजपा र मोदीको विश्वास त जितेका छन् तर मोदीसामु उनी जसरी लम्पसार परे, त्यसले नेपालीको विश्वास कति जिते रु आउँदो चुनावले नै देखाउनेछ ।

  • प्रकाशित मिति : चैत २०, २०७८, आइतवार ०६:०९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८