• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

दुःख पाएकालाई सुख दिन जनप्रतिनिधि बनाउने हैन : अध्यक्ष तिमिल्सिना

  • खबरदाता

दुःख पाएकालाई सुख दिन जनप्रतिनिधि बनाउने हैन : अध्यक्ष तिमिल्सिना

 

चैत १९,२०७८

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले दुख पाएकालाइ सुख दिने किसिमले जनप्रतिनिधि नबनाउन आग्रह गरेका छन।

नारायणी टुडे मासिक पत्रिकाको २१औँ वार्षिकोत्सवलाई सनिवार भरतपुरमा सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन। आउँदो स्थानिय चुनाबमा काम गर्न सक्ने हिम्मतिलो ब्यक्तिलाइ प्रतिनिधि बनाउनु पर्नेमा उनको जोड थियो।उनले भने , “दुःख पाएकालाई सुख दिन प्रमुख, मन्त्री बनाउने होइन, काम गर्न जाने हो त्यहाँ त काम गर्ने व्यक्तिलाई टिकट दिनुर्छ र निर्वाचित गराउनुपर्छ ।” निर्वाचनले जनप्रतिनिधिमात्रै फेर्ने नभई देशले काँचुली फेर्ने नेतृत्वलाई विजयी गराउन उनको सुझाव थियो ।

कार्यक्रममा बोल्दै पत्रकारिता क्षेत्रले चौथो अङ्गको मर्यादालाई कायम राख्नुपर्नेमा उनले जोड दिए । मिसन पत्रकारिताको नाममा गलत प्रविधि बढेको उनले बताए । उनले भने , “गलत खालको मिसन पत्रकारितालाई शुद्धीकरण गर्दै जानुपर्ने आवश्यकता रहेको छ ।” चौथो अङ्गको मर्यादालाई कसरी कायम राख्ने भन्ने विषयमा सबैले ख्याल राख्नुपर्ने उनले बताए । उनले भने , “कुनै समय लोकतन्त्रका लागि मिसन पत्रकारिता थियो, अहिले त्यसको गलत प्रयोग गरिन थालिएको छ ।”

अहिलेको समयमा पत्रकारिता क्षेत्रलाई प्रयोग गरी गलत कामको ढाकछोप र प्रचार प्रसार गर्ने प्रचलन बढेको भन्दै उनले इमान्दार पत्रकारलाई अझै जोखिम हुने गरेको बताए । उनले भने, “निर्धक्क भएर सूचना सम्प्रेषण गर्न अझै पनि कठिन छ ।” पत्रकारितालाई चौथो अङ्गका रूपमा स्थापित गराउने मान्यतालाई बदनाम गराउनेले पत्रकारको बदनाम गराएको उनको भनाइ थियो ।

पत्रकारिता सहज नभएको भन्दै उनले लोकतान्त्रिक गणतन्त्रमा प्रेस स्वतन्त्र रहेको बताए । उनले भने , “राज्य, व्यक्ति र संस्थाका गलत क्रियाकलापलाई बाहिर ल्याउनु र जनतालाई सूचना दिनु पत्रकारको धर्म हो ।”

कार्यक्रममा बागमती प्रदेशका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मिलनबाबु श्रेष्ठले देश र जनताको पक्षमा पत्रकारिता अघि बढ्नुपर्ने बताए। उनले भने , “समाज परिवर्तनमा पत्रकारको महत्वपूर्ण भूमिका रहेको छ ।” नेपाल प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, प्रेस काउन्सिल नेपालका सदस्य ठाकुर बेल्बासे, नेकपा (एमाले)का जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने, भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारी, नेपाल पत्रकार महासङ्घका अध्यक्ष नारायण अधिकारी, पूर्वअध्यक्ष विष्णु छिमेकी, समाजसेवी नारायणसिंह कुँवर, मञ्जु खाँडा, सीता सापकोटा, राजु पौडेललगायतले बोलेका थिए ।

वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा कृष्ण पौडेल र पत्रकार शान्ता अधिकारीलाई सम्मान गरिएको थियो । सो अवसरमा पत्रिकाका प्रधानसम्पादक वीरेन्द्रमणि पौडेलले हालसम्म १७१ अङ्क प्रकाशित भएको जनाउँदै सबैको साथ र सहयोगबाट मोफसलमा स्थापित हुनसकेको बताए ।

 

  • प्रकाशित मिति : चैत १९, २०७८, शनिवार २१:१५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८