• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

प्रधानमन्त्रीको भारत भ्रमणः ईपीजी प्रतिवेदनको कुरा उठाउलान् ?

  • खबरदाता

प्रधानमन्त्रीको भारत भ्रमणः ईपीजी प्रतिवेदनको कुरा उठाउलान् ?

चैत १७, २०७८

नेपाल–भारत सम्बन्धका समस्याबारे अध्ययन गरी सुझाव दिन २०७१ मा दुवै देशका चार(चार सदस्य रहने गरी प्रबुद्ध व्यक्ति समूह (ईपीजी) गठन गरिएको थियो । समूहले बनाएको प्रतिवेदन तयार भएको तीन वर्ष भइसक्दा पनि भारतले बुझ्न मानेको छैन । खासगरी पूर्ववर्ती केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा दुई देशबीच सम्बन्ध चिसिएका कारण मोदीले त्यो प्रतिवेदन बुझ्न नमानेको एकथरीको भनाइ थियो । त्यसो भन्नेहरुमा सबैभन्दा बढी कांग्रेसी थिए ।

अहिले तिनै कांग्रेसीहरु सरकारमा छन् । कांग्रेस नेतृत्वको गठबन्धन सरकारका तर्फबाट प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार भारतको औपचारिक भ्रमणमा जाँदै छन् । अब प्रश्न उठ्छ– के देउवाले अविच्छिन्न उत्तराधिकारीका रुपमा ईपीजीको प्रतिवेदन बुझेर कार्यान्वयनमा लैजान जोडबल गर्न सक्लान् ?

यदि देउवामा न्यूनतम राजनीतिक इमानदारी छ भने यो प्रतिवेदन बुझ्नुपर्ने अडान मोदीसमक्ष राख्नुपर्छ । किनभने, प्रधानमन्त्री ओली हुन् वा देउवा, जो भए पनि ती नेपालका प्रधानमन्त्री हुन् । प्रधानमन्त्री जो आए पनि, जो गए पनि राष्ट्रिय अडान फेरिँदैन । मोदीले बोली फेरे भन्दैमा नेपालले आफ्नो अडान फेर्नु जरुरी छैन । नेपालले आफ्नो राष्ट्रिय अडान, मान्यता र दाबीलाई निरन्तर कायम राख्नुपर्छ । मोदीको ठाउँमा अर्को प्रधानमन्त्री आए पनि नेपालको अडान उही हुनुपर्छ र हिजो यो अध्ययन गर्ने विज्ञ समूह बनाउँदा भारतका तर्फबाट कबुलिएका कुरा स्मरण गराउन पनि तयार हुनुपर्छ । फेरि यो प्रतिवेदन नेपालको एकपक्षीय नभई दुवै देशका विज्ञ सम्मिलित समूहले गरेको अध्ययन टोलीले तयार पारेको हो ।

यो प्रतिवेदन नेपालको मात्र सरोकारको विषय होइन । भारतका लागि पनि उत्तिकै महत्त्वपूर्ण छ । किनभने नेपालजस्तो निकट छिमेकी मुलुकसँगको सम्बन्ध के सधैँ उस्तै समस्यायुक्त राखिरहनु उचित हुन्छ भारतका लागि रु के सधैँ अविश्वासकै सम्बन्ध कायम राखिरहन चाहन्छ भारतले रु यसकारण पनि भारतले निकासका निम्ति तयार हुनैपर्छ ।नेपाल(भारत सम्बन्धका धेरै समस्या सन् १९५० को शान्ति तथा मैत्री सन्धिसँग जोडिएका छन् । सन्धिको धारा २ मा कुनै छिमेकी मुलुकसँग गम्भीर मतभेद वा असमझदारीको अवस्था आए एकअर्कालाई खबर गर्ने उल्लेख छ । पछि सन्धिलाई थप व्याख्या गरी पाँच बुँदे पत्र आदानप्रदान भयो । र त्यसको पहिलो बुँदामा दुवै सरकारले एकअर्काको सुरक्षामा विदेशी हस्तक्षेप नसहने र त्योसँग जुध्न सामूहिक प्रत्याक्रमण गर्ने लेखियो । त्यसयता भारतले कुनै न कुनै रुपमा नेपालको विदेश र सुरक्षा नीति आफ्नो छातामुनि राख्न चाहेको देखिन्छ ।

नेपालको प्राकृतिक स्रोत वा औद्योगिक योजना विकासमा विदेशी सहायता लिँदा पनि भारतलाई प्राथमिकतामा दिनुपर्नेदेखि औद्योगिक र आर्थिक विकासमा एकअर्काका नागरिकलाई प्राथमिकता दिने पत्रमा उल्लेख छ । अझ बसोवास, सम्पत्ति खरिद, व्यापार र वाणिज्यमा सहभागिता वा आवातजावतका लागि एकअर्काका नागरिकलाई राष्ट्रिय व्यवहार गर्ने सन्धिको धारा ७ मा उल्लेख छ। यही कारण राहदानी र प्रवेशाज्ञा नचाहिने गरी एकअर्का देशमा आवागमन त सहज भएको छ तर श्रमिकलाई न्यूनतम सम्मान सुरक्षा र पारिश्रमिकको ग्यारेन्टी नगरिँदा भारतमा श्रम बगाउने ठूलो नेपाली समुदाय ठगिएको छ ।

यस्तै नेपालले आफ्नो सुरक्षाका लागि हातहतियार भित्र्याउँदा पनि भारतको सल्लाह लिनुपर्ने सन्धिको व्यवस्थाले पनि दुई सार्वभौम मुलुकबीच असमान दृष्टिकोण राख्छ ।
यस्तै भारतले नेपालतर्फबाट हुने आवागमनसँग सुरक्षा चासो व्यक्त गरिरहेको छ । यी र यस्ता समस्याको समग्र अध्ययन गरी समाधानका उपाय सुझाउन ०६८ कात्तिकमा तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराई भारत भ्रमणमा जाँदा विज्ञ समूह अर्थात् इपिजी गठन गर्ने सहमति भएको थियो ।

त्यसको तीन वर्षपछि ०७१ साउनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका वेला दुवैतिर चार–चार सदस्य रहने गरी इपिजी गठन गर्ने टुंगो लाग्यो । र त्यसको कार्यकाल २ वर्ष तोकियो । त्यसैअनुसार नेपालले २०७१ पुस अन्तिम साता र भारतले फागुन ८ गते समूहमा आफ्ना सदस्य घोषणा गर्यो ।

नेपालबाट पूर्वपरराष्ट्रमन्त्री भेषबहादुर थापाको संयोजकत्वमा पूर्वमन्त्री नीलाम्बर आचार्य, सांसद राजन भट्टराई र पूर्वप्रशासक सूर्यनाथ उपाध्याय समितिमा राखिए । भारतले सांसद भगतसिंह कोसियारीको संयोजकत्वमा पूर्वराजदूत जयन्तप्रसाद, प्राध्यापक बिसी उप्रेती र प्राध्यापक महेन्द्र पी लामा रहेको समूह बनायो । समूहले संयुक्त प्रतिवेदन तयार गरी दुवै सरकारलाई बुझाउन खोज्दा भारतीय प्रधानमन्त्री मोदीले समय नै दिएनन् ।

  • प्रकाशित मिति : चैत १७, २०७८, बिहीवार ०६:३१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८