चैत १२,२०७८
अमेरिकी राष्ट्रपति जो बाइडेनले पूर्वी युरोपमा तैनाथ भएका अमेरिकी सैनिकको प्रशंसा गर्दै विश्वकै स्वतन्त्रता जोखिममा रहेको बताएका छन् ।
युरोप भ्रमणको क्रममा पोल्याण्डमा तैनाथ अमेरिकी सेनालाई सम्बोधन गर्दै बाइडेनले निरंकुशता विरुद्ध लोकतन्त्रको लागि संघर्षको एक भागको रूपमा पूर्वी युरोपमा अमेरिकी सैन्य तैनाथीको प्रशंसा गरेका हुन् ।
युक्रेनसँगको सीमा नजिक रहेको पोल्याण्डको जेसुफस्थित सैन्य अड्डामा रहेका सैनिकहरुसँग बाइडेनले भेट गरेका हुन् ।
शुक्रबार सेनालाई सम्बोधन गर्दै राष्ट्रपति बाइडेनले उनीहरुको तैनाथी ‘प्रजातन्त्र र कुलीन वर्ग (विशेष गरी रुसी कुलीन वर्ग जसको राजनीतिमा ठूलो पहुँच तथा प्रभाव छ) बीचको संघर्ष’ को अंश रहेको उल्लेख गरे ।
उनले भनेका छन्, ‘तपाईँहरु विश्वकै इतिहासमा उत्कृष्ट सुरक्षा बल हो । तपाईँहरुले जे गरिरहनु भएको छ त्यो प्रभावकारी र परिणाममुखी छ ।’
राष्ट्रपति बाइडेनले सैनिकलाई भनेका छन्, ‘ तपाईँका छोराछोरी र नातिनातिनाहरू उनीहरूको स्वतन्त्रतालाई कसरी हेर्नेछन् भन्ने कुरा वा उनीहरुको स्वतन्त्रता जोखिममा छ । यो युक्रेनका जनताको पीडा र समस्या वा उनीहरुलाई त्यसबाट माथि उठ्न गर्ने सहयोग मात्रै होइन, यो हाम्रा भावी सन्ततीको स्वतन्त्रताको रक्षाका लागि हो ।’
गएको फेब्रुअरी यता अमेरिकाले युरोपमा आफ्ना करिब १२ हजार सैनिक पठाएको छ । त्यसमध्ये अधिकांश पोल्याण्डमा छन् र उनीहरु नेटो राष्ट्रमा रुसी जोखिमको सामना गर्ने तयारी अवस्थामा छन् । अमेरिकाले सन् २००५ देखि युरोपमा सैनिक पठाउन थालेको हो । हाल युरोपमा अमेरिकी सैनिकको संख्या एक लाख पुगेको छ ।
बाइडेनले सैनिकहरुसँगको भेटमा उनीहरु युरोपमा नेटो साझेदार राष्ट्रको सुरक्षाका लागि तैनाथ भएको न कि रुससँगको युद्धका लागि भनेर स्पष्ट पारेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
युरोप भ्रमणको क्रममा बाइडेनले नेटो, युरोपियन युनियन तथा जी सेभेनका नेतासँग ब्रसेल्समा भेट गरेका छन् । उनले शनिबार पोल्याण्डका राष्ट्रपतिसँग द्विपक्षीय वार्ता गर्दै छन् ।
रुसले युक्रेनमा गएको फेब्रुअरी २४ देखि आक्रमण गर्दै आएको छ । त्यसलाई लिएर अमेरिकासहितका पश्चिमा राष्ट्रले रुसमाथि गम्भीर प्रतिबन्ध लगाएका छन् । युक्रेनलाई सैन्य तथा मानवीय सहायता प्रदान गर्दै आएका छन् ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८