• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

सरकार लालपुर्जा बाँडेर भोट किन्दै, निर्वाचन आयोग रमिते !

  • खबरदाता

सरकार लालपुर्जा बाँडेर भोट किन्दै, निर्वाचन आयोग रमिते !

चैत ४, २०७८

 

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशि श्रेष्ठलाई अहिले भ्याइनभ्याइ छ । निर्वाचन आयोग चुनावी चटारोमा जुटेका बेला मन्त्री श्रेष्ठ आउँदो चुनावमा प्रधानमन्त्री शेरबहादुर देउवाका पक्षमा कसरी भोट बढाउन सकिन्छ भनेर सरकारी स्रोत, साधन र सम्पत्तिको भरपूर दुरपयोग गरिरहेकी छन् ।

आज मात्र उनले भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–६, पाटी विहार, पाँचोमा भूमिहीनका नाममा लालपुर्जा बाँड्ने कार्यक्रम छ । निर्वाचन आचारसंहिता राजपत्रमा प्रकाशित गरिसके पनि सरकारका तर्फबाट जग्गा बाँड्ने क्रम रोकिएको छैन । अहिलेसम्म यो सरकारले ६ वटा जिल्लामा १५ हजारभन्दा घरपरिवारलाई जग्गाको लालपुर्जा दिइसकेको छ । कम्तीमा ४१ वटा जिल्लामा अबको केही दिनमा जग्गा बाँडिसक्ने ध्याउन्नमा सरकार लागेको छ ।

कांग्रेस, माओवादी र एकीकृत समाजवादीका कार्यकर्ताले जथाभावी सिफारिस गरेकाहरुलाई भूमिहीन तथा सुकुम्वासीका नाममा जग्गा बाँडिँदै छ । यसमा कुनै मापदण्ड र सर्त हेरिएको छैन । यसअघि केपी शर्मा ओली सरकारले गठन गरेको भूमि आयोगले स्थानीय सरकारलाई जिम्मेवार बनाउने गरी भूमिहीनको लगत संकलनदेखि सार्वजनिक सुनुवाइ र प्रमाणीकरणसम्मका काम गरेको थियो । त्यस आयोगलाई रातारात खारेज गरी आफ्ना कार्यकर्ता भर्ती गरेको देउवा सरकारले विगतको व्यवस्थित र वैज्ञानिक तवरले संकलन गरेको लगतलाई समेत बेवास्ता गरी केवल भोट प्रभावित पार्ने नियतले अहिले हतारहतार लालपुर्जा बाँड्न थालेको हो ।

देउवा सरकारले गरेको यो हतारो चुनावी मूल्य मान्यताविपरीत मात्र छैन, भूमि समस्या समाधानको मापदण्डविपरीत पनि छ । आगामी चुनावमा भोट प्रभावित पार्ने र आफ्ना कार्यकर्ता पोस्नेबाहेक यसमा कुनै अर्को उद्देश्य र नियत छैन । चुनावको मुखमा सरकारी तथा सार्वजनिक जग्गा बाँडेर भोट किन्ने सरकारी हर्कतमा निर्वाचन आयोगसमेत सहयोगी बन्नु अर्को आश्चर्जनक पक्ष छ । यसमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको भूमिका झनै शंकास्पद छ ।

कानुनतः निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउन निर्वाचन आयोगले निर्वाचन आचारसंहिता लागू गरिसक्नुपर्ने हो । वैशाख ३० गते तय गरिएको स्थानीय तहको निर्वाचन आउन अब ५६ दिन मात्र बाँकी छ । तर निर्वाचन आयोगले आचारसंहिता अझै लागू गरेको छैन । बिहीबार बल्लतल्ल राजपत्रमा प्रकाशित गरे पनि आयोगले कहिलेबाट आचारसंहिता लागू गर्ने भन्ने निर्णय नै गरेको छैन।

देउवा सरकारले जग्गा बाँड्नेदेखि आर्थिक सहयोग, चन्दा र पुरस्कारका नाममा राज्यकोषबाट ठूलो रकम वितरण गरिरहेको छ । राज्यका विभिन्न निकायमा कार्यकर्ता भर्ती गरिरहेको छ । सरकारी संरचनाभित्र पनि नयाँनयाँ नियुक्ति र पदको पजनी गरिरहेको छ । चुनावलाई लक्षित गरी आफूअनुकूलका कर्मचारी सरुवा र बढुवालाई तीव्रता दिएको छ । नेपाल प्रहरीमा नयाँ दरबन्दी सिर्जना गरी एआईजी बढुवा गर्दै छ । आफ्ना काममा अदालतले अंकुश नलगाओस् भनेर प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध महाभियोग लगाएर निलम्बित अवस्थामा छाडिदिएको छ । संसदमा महाभियोग अलपत्र पारेर हठात् रुपमा संसद अधिवेशन अन्त्य गरेको छ । यसले अदालत काम चलाउ नेतृत्वका भरमा चल्नुपरेको छ, जसले सरकारको सरकारको आशयविपरीत गएर काम गर्ने निर्भीकता र निष्पक्षता राख्दैन । प्रतिपक्षी आवाज दबाउन संसद बन्द गरिएको छ । सरकारले जे गरे पनि हुने भएको छ ।

यस्तो अवस्थामा निर्वाचन आयोगले सरकारलाई चुनावको स्वस्थता कायम गर्न सीमाबद्ध गरिदिनुपर्ने हो । तर चुनाव आउन ५६ दिन मात्र बाँकी हुँदा पनि आचार संहितामा बाँध्ने आँट आयोगले गरिरहेको छैन । जबकि २०७४ वैशाख ३१ को स्थानीय चुनावका लागि फागुन १८ गते नै आचार संहिता लागू गरिएको थियो । त्यतिखरे चुनाव आउन अढाई महिना बाँकी थियो । २०७० को संविधान सभा निर्वाचनमा त चुनाव आउनुभन्दा तीन महिनाअगावै आचार संहिता लागू गरिएको थियो ।

यसपालि वैशाख ३० गते देशभरका स्थानीय तहमा एकसाथ चुनाव हुँदै छ । त्यो तिथि आउन ५६ दिन पनि बाँकी छैन । तैपनि निर्वाचन आयोगले आचार संहिता लागू गर्न नसक्नुको कारण के हो रु दिनेश थपलिया देउवाका लाचार छायाँ मात्र बन्नुपर्ने कारण के हो रु गम्भीर प्रश्न उब्जिएको छ । यसमा प्रमुख प्रतिपक्षी एमालेको ध्यान जानु जरूरी छ । अन्यथा निर्वाचन आयोगको साख र स्वायत्तता थप कमजोर बन्दै जानेछ भने सरकारले जनतासँग भोट किन्न राज्यको स्रोतसाधन दुरुपयोग गरिरहनेछ ।

  • प्रकाशित मिति : चैत ४, २०७८, शुक्रवार ०८:०४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८