फाल्गुन ३०, २०७८
काठमाडौँ । ह्या ! यस्ता गीत गाउँदिनँ–बनाउँदिनँ भन्छु तर फेरि कसो–कसो सिर्जनाहरु उतै मोडिन्छन् । थाहा छैन– म निराशावादी हो कि हामी बाँचेको समय र परिवेश निराशाजनक हो ?
गायक प्रकाश सपुतले आइतबार मध्यराति ट्वीटरमा लेखेका माथिका शब्दले नै धेरै कुरा भन्छन् । दृश्यसहितको सांगीतिक प्रस्तुति पीर तयार गर्दा उनीभित्र देशको अवस्थाले कसरी हुँडलो मच्चाएको रहेछ भन्ने अनुभूत गर्न सकिन्छ । देशको यो अवस्था बनाउने को हुन् भन्नेचाहिँ गीतले बताउँछ । गीतका शब्द सुनुपर्दैन । दृश्यले बताउँछन् ।
यथार्थ अवस्थालाई जस्ताको तस्तै दृश्यमा उतारिदिएपछि अहिले माओवादी नेता र तिनका वरिपरि झुम्मिएर शुभलाभ गरिरहेका कार्यकर्तालाई खपी नसक्नु बनाएको छ । पञ्चा सिंहदेखि रामप्रसाद सापकोटा दीपशिखासम्मले प्रकाश सपुतमाथि खनिएका छन् । उनीहरु युट्युबबाटै गीत हटाउन दबाब दिइरहेका छन् । दबाब नमाने जे पनि हुन सक्ने भन्दै उनीहरुले धम्की पनि सँगसँगै दिइरहेका छन् ।
उनीहरुले प्रकाश सुपतलाई कति चिनेका छन् थाहा छैन । यदि थाहा छैन भने थाहा होस्– सपुत एक जिउँदा सर्जक हुन् । लोकको स्पन्दन समातेर उनी सिर्जनामा भर्छन् । त्यसैले उनका रचना पनि जिउँदा हुन्छन् । धेरैका मुटु हल्लाउँछन् । हातखुट्टा कपाउँछन् । गालामा झापड लगाउँछन् । जिउमा सिस्नुपानी लगाउँछन् । यही कारण उनी आफ्ना संगीत–सिर्जनाका कारण चर्चामा रहिरहन्छन् ।
यस्ता जिउँदाजाग्दा सर्जक प्रकाश सपुतमाथि अहिले असहिष्णु व्यवहार भएका छन् । माओवादीको १० वर्षे सशस्त्र संघर्ष र यसैको सेरोफेरोमा रहेर सिर्जना गरेको नयाँ म्युजिक भिडियो ‘पिर’ सार्वजनिक भएपछि सपुतले माओवादीवृत्तबाट आलोचना र दबाब झेल्नुपरेको छ । नेताका अगाडि कार्यकर्ताको हविगत देखाइदिँदा माओवादीलाई लाज लागेको छ अहिले । माओवादी सत्तामा छ । मन्त्रीहरु ठाँट र विलासमा डुबेका छन् । कार्यकर्ताका पिर देखाएर सपुतले नेतालाई झिँजो पैदा गरिदिएका छन् ।
एउटा सार्वभौम र सार्वजनीन पक्ष के हो भने कला, साहित्य र संगीत समाजका ऐना हुन् । समाजमा जे देखिन्छ, त्यसको प्रतिविम्ब सर्जकले रचनामा उतार्छन् । त्यसक्रममा अनेकन विम्ब वा प्रतीकको प्रयोग हुन्छ । व्यंग्य र घोचपेच चल्छ । अनि त्यही विषयलाई लिएर सर्जकमाथि खनिनु या त कलालाई नबुझ्नु हो, या त आलोचना स्वीकार्ने संस्कारै नहुनु हो । अहिले त्यही भइरहेको छ( गायक प्रकाश सपुतको एउटा भिडियो संगीतलाई लिएर ।
प्रतीकात्मक रुपमा माओवादीको १० वर्षे सशस्त्र संघर्षमा संलग्न लडाकुको व्यथा समेटिएको सपुतको गीतको समर्थन र विरोधमा अहिले सामाजिक सञ्जाल पनि तातेको छ । गीतले समेटेको विषयवस्तुबाट असन्तुष्ट माओवादी नेता तथा कार्यकर्ता धम्कीको तहमा उत्रिएका छन् । ठीक तीन वर्षअघि अर्का गायक पशुपति शर्माले यही अवस्था व्यहोरेका थिए । सत्तामा हुन् वा प्रतिपक्षमा, राजनीतिक दलले आलोचना पचाउनै नसक्ने संस्कृतिले पञ्चायतकालको झल्को दिन्छ ।
विकृतिको खबरदारी गर्ने सर्जकलाई धम्क्याउने हदसम्मको यस कार्यले लोकतान्त्रिक व्यवस्था र खुला समाजको खिल्ली उडाइरहेको छ । कोही किन सिर्जनासँग डराउँछ रु सिर्जनाप्रति हाम्रो राजनीतिक तप्का कति असहिष्णु छ भन्ने देखाइरहेको छ । अनि कला र साहित्यप्रति सत्तारुढ दलबाटै यस खालका व्यवहार हुनुमा सत्ताको दम्भ पनि कतै न कतै प्रकट भइरहेको छ ।
खासमा भन्दा पुष्पकमल दाहाल, जनार्दन शर्मा, वर्षमान पुन, ओनसरी घर्ती, शक्ति बस्नेत, पम्फा भुसाल, देवेन्द्र पौडेललगायत सत्ताको स्वादमा मदहोस् अवस्थामा पुगेकाहरुले यत्ति बुझे हुन्छ कि– तिमी नाङ्गो छौ भनेर अर्काले भन्दिँदा आफ्नो लाज ढाक्ने कि नाङ्गो देख्ने आँखा फुटाउने ? काम्रेडहरूको मति फिरोस् ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८