• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

चितवनमा बन्यो १७ करोड लागतमा २५ सय मेट्रिकटन क्षमताको शीत भण्डार

  • खबरदाता

चितवनमा बन्यो १७ करोड लागतमा २५ सय मेट्रिकटन क्षमताको शीत भण्डार

 

फागुन २९,२०७८

चितवन – चितवनमा १७ करोड लागतमा शीत भणडार निर्माण गरिएको छ।

भरतपुर महानगरपालिका–१८, चनौलीमा निर्माण गरिएको शीत भण्डार सोमबारदेखि सञ्चालनमा आउने भएको हो । आइतबार चितवन चनौली शीत भण्डार सहकारी संस्था लिमिटेड द्वारा आयोजित पत्रकार सम्मेलनमा शीत भण्डार परियोजना सञ्चालनबारे जानकारी दिएको हो ।

सहकारीका अध्यक्ष सूर्यमणि पौडेलले शीत भण्डार सञ्चालमा आएसँगै किसानहरुले आफ्नो उत्पादनलाई मूल्य नपाएर फ्याँक्नुपर्ने अवस्थाको अन्त्य हुने बताए । उनले प्रदेशकै ठूलो र नमुना शीत भण्डार निर्माण गरेको दाबी गरे । शीत भण्डारको २ वटा ठुला च्याम्बर छन् । वातावरण अनुकुल बनाइएकाले उत्पादित सामानहरुलाई सुरक्षित रुपमा भण्डारण गर्न सकिने अध्यक्ष पौडेलको भनाइ थियो।

‘सहकारीको मोडलबाट आएको देशकै लिफ्टयुक्त स्टील स्टक्चरको नमुना शीत भण्डार हो’ उनले भने, ‘तापक्रम सन्तुलन गर्नका लागि हामीले प्यानल इन्सुलेटेड गरेका छौँ ।’

२ हजार ५ सय मेट्रिक टन क्षमता रहेको शीत भण्डार सात कठ्ठामा फैलिएको छ ।

शीत भण्डारमा सहकारी विभागको पाँच करोड ८१ लाख ४८ हजार, भरतपुर महानगरपालिकाको ४ लाख ८२ हजार, संस्थाको शेयर पुँजी आठ करोड ६१ लाख ४२ हजार र नेपाल बङ्गलादेश बैंकको कर्जा २ करोड ९५ लाख गरी १७ करोड लगानीमा परियोजना सञ्चालनमा आएको अध्यक्ष पौडेलले जानकारी गराए ।

सरकार, सहकारी संस्था र किसानहरुको त्रिपक्षीय लगानीमा पिपिसीपी मोडलमा भणडार सञ्चालन आएको हो । शीत भण्डार निर्माणका लागि जिल्लाभित्र छरिएर रहेका २८ वटा सहकारी संस्था गोलबद्ध भई २०६९ सालमा वृहत शीत गृह बनाउनका लागि विधिवतरुपमा काम अगाडि बढेको थियो । यद्यपि ९ वर्षसम्म अन्योलमा रहेको परियोजना २०७७ को आठौँ साधारणसभाबाट नयाँ सञ्चालक समिति गठन गरी सञ्चालनमा ल्याउन सफल भएको अध्यक्ष पौडेल बताउँछन् ।

‘परियोजना सफल बनाउन आठ वर्षमा डेढ गुणा बढी शेयर सदस्य बृद्धि र संस्थाको शेयर पुजीँ चार गुणा वृद्धि गर्दै हाल ५४ वटा सहकारी संस्था र ९४९ जनाको व्यक्तिगत शेयर गरी एक हजार तीन सदस्य पुर्‍यायौँ’ उनले भने । शीत भण्डारले गुणस्तरीय भण्डारणको प्रबर्दन गर्दै किसानहरुलाई सस्तो दर र सहुलियतमा सेवा उपलब्ध गराउने लक्ष्य रहेको उनले बताए ।

चितवनमा निजी शीत भण्डारण २ वटा रहेका छन् । ‘स्थानिय किसानलाई अब उत्पादन आफ्नै ठाउँमा भण्डारण गर्न सक्नेछन् । निजी शीत भण्डारले भन्दा हामीले किसानलाई सहुलियत दरमा सेवा दिनेछौँ’ उनले भने ।

किसान उत्साहित

शीत भण्डार सञ्चालनमा आउने भएसँगै पश्चिम चितवनका किसान उत्साही भएका छन् । बजारमा आफ्नो कृषि उपजले मूल्य नपाउँदा जोतेर फाल्नुपरेको तितो यथार्थ रुपान्तरण हुनेमा उनीहरु विश्वस्त छन् ।

चनौलीका कृषक विश्वनाथ न्यौपानेले शीत भण्डार सञ्चालनमा आउँदा खुशी लागेको बताए । उनले आफ्नो कृषि उपज उचित मूल्य आउने बेलामा बेच्न पाइने आशा व्यक्त गरे । ‘उत्पादन हुने बित्तिकै भाउ नआउन पनि सक्छ । कोल्डस्टोरमा केही समय राखेर भाउ आएको समयमा बेच्न पाइने भयो’ उनले भने । उनले २० वर्षयता चनौलीमा आलुखेती गर्दै आएका छन् ।

‘मैले वर्षेनी कोल्डस्टोरमा कहिले धेरै कहिले थोरै आलु राख्दै आएको छु । कहिले नारायणगढमा राखेँ । कहिले त्यहाँ ठाउँ नभएर भैरहवासम्म पनि पुर्‍याउनु पर्‍यो ’ उनले भने, ‘अब गाउँमै भएपछि सजिलो होला ।’ उनले वर्षेनी दुई सय क्विन्टल आलु उत्पादन गर्दै आएका छन् ।

भरतपुर –२५ शुक्रनगरकी कृषक मुना सुवेदीले एक बोरा आलु भण्डारण गर्न बजार जानुपर्ने अवस्थाको अन्त्य भएको बताउँछिन् । शीत भण्डार सहकारी संस्थाकी सञ्चालक सदस्य रहेकी उनले किसानहरुले बेलाबेलामा तरकारी लगायतका कृषि उपजको मूल्य नपाउँदा जोतेर फाल्नुपर्ने अवस्थालाई शीत भण्डारले किसानलाई राहत दिलाउने उनको भनाइ छ । भरतपुर–२० की कृषक मेनका रायमाझी पहिले महँगोमा भण्डार गर्नुपर्नेमा अब सहुलियतमा भण्डारण गर्न सकिने विश्वास राखिन् । उनले दुई बिघामा गेडागुडी खेती गर्दै आएकी छिन् ।

  • प्रकाशित मिति : फागुन २९, २०७८, आइतवार २१:१३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८