फागुन २९,२०७८
डेढ वर्षिय बालिकालाइ बलात्कारपछि हत्या गरेको आरोपमा मोरङ प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
जिल्लाको सुन्दरहरैँचा नगरपालिका–७, गणेशपुरकी ती बालिकालाइ घरमा कोहि नभएको मौका पारेर बलात्कारपछि हत्या गरेको आरोपमा सोही ठाउँका २५ वर्षीय अजय चौधरी र २८ वर्षीय मिथुन चौधरीलाई पक्राउ गरिएको हो।
आइतबार जिल्ला प्रहरी कार्यालय मोरङले पत्रकार सम्मेलन गरी घटनामा संलग्नलाई सार्वजनिक गरेको हो।
पक्राउ परेका दुबै जनाले ललाई फकाई गरी घरबाट नजिकैको झाडीमा लगेर घटना गराएको मोरङ प्रहरीका प्रवक्ता एसपी जनार्दन जिसीले जानकारी गराए।
उनले घटनामा संलग्नलाई आफूहरूले १२ घण्टाभित्रै पक्राउ गरेको समेत बताए।
प्रहरीका अनुसार पक्राउ परेका दुवैजनाले बलात्कारपछि बालिकाको टाउकोमा ढुंगा र बियरको बोतलले प्रहार गरेर गम्भीर घाइते बनाएका थिए।
उनीहरूविरुद्ध प्रहरीले अदालतबाट समय लिएर अनुसन्धान अघि बढाएको छ।
प्रहरीका अनुसार अजय दुई वर्षअघि बालिका अपहरण गरेको घटनामा संलग्न थिए। उनी गत मंसिरमा कैद भुक्तान गरी जेलबाट छुटेका थिए।
गम्भीर घाइते भएकी बालिकाको उपचारका क्रममा विराटनगरस्थित नोबेल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८