• कात्तिक २, २०८३, सोमवार Monday, 19 October, 2026

चितवनमा ५० प्रतिशत बिरामी रिफरका

  • रासस

चितवनमा ५० प्रतिशत बिरामी रिफरका

फागुन १२,२०७८

चितवन( ‘स्वस्थ नगरी’ चितवनका ठूला मेडिकल कलेजमा उपचार गर्न आउने बिरामीमध्ये ५० प्रतिशत रिफर भएर आउने गरेका छन् । जिल्लाभित्र र बाहिरी जिल्लाबाट ठूलो सङ्ख्यामा बिरामी रिफर भएर आउने गरेका हुन् । आधुनिक उपकरण र विशेषज्ञ चिकित्सक पर्याप्त हुँदा उपचारका लागि रिफर भएर आउनेको सङ्ख्या बढ्दै गएको छ ।

चितवन मेडिकल कलेजका निर्देशक डा दयाराम लम्साल अस्पतालमा आउने बिरामीमध्ये ५० प्रतिशत अन्य अस्पतालबाट रिफर भएर आउने गरेको बताउँछन । उनका अनुसार एक दर्जन विशिष्टकृत सेवासहित सबै खाले रोगको उपचार हुने भएपछि अन्य अस्पतालबाट रिफर भएर आउने गरेको उनको भनाइ छ । देशैभर र भारतबाट समेत बिरामी आउने गरेको उनको भनाइ छ । उनले भने , “अहिले अस्पतालमा दैनिक एक हजार २ सय हाराहारी बिरामी बहिरङ्ग सेवामा आउँछन्, तीमध्ये आधा अन्यत्रबाट रिफर भएर आएका हुन् ।”

अस्पतालमा ४५ प्रतिशत हाराहारी बिरामी चितवनका आउँछन् भने बाँकी अन्य जिल्लाका हुन् । यहाँको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा भारतदेखि उपचारका लागि आउने बिरामीसमेत मेडिकल कलेजमा आउने गरेको लम्सालको भनाइ छ । स्वास्थ्य बीमाको पहिलो बिन्दु सरकारी अस्पताल हुने भएकाले त्यहाँबाट थप उपचारका लागि रिफर भएर आउनेको संख्या ठूलो हुने गरेको लम्सालको भनाइ थियो । राजधानी बाहिर अन्यत्र नभएका सेवा आफ्नो मेडिकल कलेजमा हुँदा रिफरल बिरामी बढी आउने गरेको लम्साल बताउँछन ।

अस्पतालमा १८ जनाभन्दा बढी डिएम(एमसिएच गरेका विशेषज्ञ चिकित्सक रहेको उनको भनाई छ । अस्पतालमा पेडियाटिक सर्जरीमा एमसिएच गरेका चिकित्सक रहेको भन्दै उनले उपत्यका बाहिर यो सेवा अन्यत्र नरहेको दाबी गरे । इन्टरभेन्सन रेडियोलोजी सेवा अस्पतालमा रहेका छन् । रेडियोलोजीका माध्यमबाट रोग पहिचान र उपचार गर्ने उनले जानकारी दिए ।

यस्तै न्यूक्लियर मेडिसिन, कलेजो र कपाल प्रत्यारोपण, थोरासिक एण्ड भास्कुलर सर्जरी, न्यूरो सर्जरी, मुटु, बाँझोपन निवारण र कृत्रिम गर्भाधान, ट्रमा सेन्टर, म्याग्जिलोफेसियर सर्जरी, ग्यास्ट्रोजस्ता डिएम र एमसिएच चिकित्सकसहितको सेवा अस्पतालमा रहेको छ । क्रिटिकल केयरमा नेपालमै अग्रणी रहेको लम्सालको दाबी छ । उनले भने , “यो सेवाका लागि देशैभरबाट बिरामी आउने गरेका छन् ।” कोभिडको महामारीसँगै यहाँको क्रिटिकल केयरको सेवा देशैभर परिचित रहेको उनको भनाइ छ ।

अस्पतालमा विभाग मजबुद भएसँगै चिकित्सा शिक्षा आयोगले डिएम र एमसिएचमा चार वटा कोटासमेत दिएको छ । कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा डा हरिश्चन्द्र न्यौपानेका अनुसार ग्यास्ट्रो इन्टरलोजी मेडिसिन, जिआई सर्जरी, क्रिटिकल केयर मेडिकल र कार्डियोलोजीमा अध्ययन अध्यापन हुने गरेको छ । उनले भने , “उपचार सेवासँगै अध्ययनको सुविधा भएका कारण सेवा झनै प्रभावकारी छ ।” अस्पतालमा २५० भन्दा बढी विशेषज्ञ चिकित्सक रहेको भन्दै उनले यहाँ आएपछि सबै खाले उपचार हुुने भएकाले धेरै रिफर भएर आउने गरेको बताए ।

एकै व्यक्तिलाई फरक फरक समस्या हुँदा अन्यत्र धाउन नपर्ने भएकाले मेडिकल कलेज रिफरलको रुपमा विकास हुँदै गएको न्यौपाने बताउँछन । उनले भने , “हामीले मेडिकल कलेजमा जनशक्ति र उपकरणमा ठूलो लगानी गरेका छौँ, त्यसको प्रतिफल देखिन थालेको छ ।” यस कलेजमा त्रिविबाट सम्बन्धत प्राप्त आठ वटा स्नातक कार्यक्रम, स्नातकोत्तरमा २१ र सिटिइभिटीका चार कार्यक्रम रहेका छन् । सबै विभागमा गरेर एक हजार ४ सय भन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।

  • प्रकाशित मिति : फागुन १२, २०७८, बिहीवार ०४:४१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८