• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

हँसिया प्रहार गरी श्रीमतीको हत्या

  • रासस

हँसिया प्रहार गरी श्रीमतीको हत्या

 

माघ २९,२०७८

पर्वतको कुश्मा नगरपालिका–४ डम्डारेखोला बस्ने एक व्यक्तिले धारिलो हतियार हँसिया प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।

बागलुङ जिल्ला बागलुङ नगरपालिका–६ घर भई हाल कुश्माबजारस्थित डम्डारेखोला बस्दै आएका ४३ वर्षीय राजु परियारले अन्दाजी ४१ वर्षीया श्रीमती सीताको हत्या गरेका हुन् ।

शुक्रबार बिहान १० बजेको समयमा परियारले श्रीमतीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरीक्षक शिवराज बुढाथोकीले जानकारी दिए । उनका अनुसार मृतक महिलाको शरीरमा निलडामसहित टाउकोमा धारिलो हतियार प्रहार गरेको देखिएको छ । प्रहरीले आरोपित श्रीमान् राजु परियारसहित घटनास्थलबाट खुर्पा ९हँसिया० पनि नियन्त्रणमा लिएको छ ।

यसअघि पनि पटक–पटक उनीहरूबीच झगडा हुने र सामुदायिक सेवा केन्द्र र महिला तथा बालबालिका सेवा केन्द्रमा आएर मेलमिलापपश्चात फर्किने गरेका थिए । शुक्रबार बिहान पनि स्वास्थ्य परीक्षणका क्रममा श्रीमान् राजु परियारले मदिरा सेवन गरेको पर्वत अस्पतालको स्वास्थ्य परीक्षण रिपोर्ट उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक प्रदीप पौडेलले बताए ।

मृतकका एक छोरा र एक छोरी छन् । तर दुवै छोराछोरी उनीहरूका साथमा छैनन् । शुक्रबार साँझमात्रै आफन्तले किटानी उजुरी दिएको र आज उनीहरूका आफन्त आएपश्चात् मृतकको शव बुझाउने प्रहरीले जनाएको छ ।

  • प्रकाशित मिति : माघ २९, २०७८, शनिवार ०७:२२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८