• वैशाख १३, २०८१, बिहीवार Thursday, 25 April, 2024

चितवन जिल्ला लिगको उपाधि बिएफसीलाई

  • खबरदाता

चितवन जिल्ला लिगको उपाधि बिएफसीलाई

माघ १२,२०७८

चितवन – केबिए ग्लोबल भरतपुर फुटबल क्लब (बिएफसी) सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग च्याम्पियन बनेको छ । बुधबार  भएको उपाधि भिडन्तमा सेन्ट्रल कलेज एभरेष्ट क्लबलाई पराजित गर्दै बिएफसी च्याम्पियन बनेको हो ।

बिएफसीले एभरेष्टलाई ३-० ले पराजित गर्‍यो । बिएफसी पहिलो पटक जिल्ला लिगको फाइनलमा प्रवेश गरेको हो । पहिलो पटक फाइनल पुगेको बिएफसी पहिलो पटकमा नै च्याम्पियन बन्न सफल भएको हो । उता चौथो पटक फाइनल पुगेको एभरेष्ट यस पटक पनि उपविजेतामा नै सीमित भयो । एभरेष्ट यस अघि पनि ३ पटक फाइनलमा पराजित भएको थियो ।

बिएफसीलाई जिताउन राज भुसालले २ तथा प्रयास तामाङले एक गोल गरे । खेलको ३७ औं मिनेटमा बिएफसीले अग्रता लियो । बिएफसीका प्रयास तामाङले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाए । उनले अभिषेक चापागाईको पासमा सुन्दर गोल गरे ।

पहिलो हाफमा नै बिएफसीले अग्रता दोब्बर बनायो । पहिलो हाफमा थप गरिएको अतिरिक्त ४ मिनेटको तेस्रो मिनेटमा राज भुसालले पेनाल्टीमा गोल गर्दै बिएफसीलाई दोहोरो अग्रता दिलाए । डिबक्स भित्र एभरेष्टका डिफेन्डर बिपिन बल्लले ह्याण्ड गरेपछि रेफ्रीले पेनाल्टी दिएका थिए । प्राप्त अवसरमा राजले कुनै गल्ती नगरी बललाई जाली चुमाए ।

६९ औं मिनेटमा राजले ब्यक्तिगत दोस्रो गोल गर्दै बिएफसीलाई ३-० को अग्रता दिलाए । मैदानको कर्नर भागबाट प्रयासको क्रसमा राजले सुन्डर हेड गोल गर्दै बिएफसीको जित सुनिश्चित गरे । राज नै खेलको म्यान अफ दि म्याच चुनिए ।

विजेता बिएफसीले ट्रफीसहित एक लाख प्राप्त गरेको छ । उपविजेतामा सीमित एभरेष्टले ५० हजारमा चित्त बुझाएको छ । उनीहरुलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाले पुरस्कार वितरण गरे ।

प्रतियोगिता भर ४ गोल र ८ एसिस्ट गरेका एभरेष्टका रोशन क्षेत्री लिगको सर्वोकृष्ट खेलाडी चुनिए । उनले गोल्डेन बलसहित नगद पाँच हजार प्राप्त गरे । यस्तै लिगमा ९ गोल गरेका बिएफसीका राज भुसाल सर्वाधिक गोलकर्ता भए । उनले गोल्डेन बुटसहित पाँच हजार प्राप्त गरे ।

पानस युवा क्लबका सागर बस्नेत सर्वोकृष्ट गोलरक्षक घोषित हुँदै गोल्डेन ग्लभ्ससहित पाँच हजार प्राप्त गरे । उनले लिगका ६ खेलमा तीन क्लिनसिट गरेका थिए भने तीन गोल मात्रै खाएका थिए । चितवन जिल्ला फुटबल संघको आयोजनमा भएको लिगमा जिल्लाका १३ टोली सहभागि थिए ।

  • प्रकाशित मिति : माघ १२, २०७८, बुधवार १३:४५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८