• चैत १६, २०८०, शुक्रवार Friday, 29 March, 2024

पानस र सौराहाको बराबरी, दुबै टिमको सेमिफाइनल सम्भावना कायमै

  • खबरदाता

पानस र सौराहाको बराबरी, दुबै टिमको सेमिफाइनल सम्भावना कायमै

 

माघ ६ ,२०७८

 

चितवन – सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजनमा सौराहा युवा समाज र पानस युवा क्लब बराबरीमा रोकिएका छन् । बिहीबार सम्पन्न दोस्रो खेलमा सौराहा र पानस गोलरहित बराबरीमा रोकिएका छन् ।

दुबै टोलीले पाएका आधा दर्जन बढी अवसर सदुपयोग गर्न सकेनन् । दोस्रो हाफमा सौराहाको प्रहार पानसका गोलरक्षक सागर बस्नेतले बिफल तुल्याए । खेलको अन्त्य तिर पानसले केही सुन्दर अवसर पाएको थियो । तर सौराहाका डिफेन्डर बाधक बन्दा गोल हुन सकेन ।

खेलको म्यान अफ दि म्याच पानसका गोलरक्षक सागर बस्नेत चुनिए । बराबरीपछि दुबै टिमको सेमिफाइनल प्रवेश सम्भावना जिवितै रहेको छ । लिगमा ६ खेल खेलेको सौराहा १० अंकका साथ समूह ुएु को दोस्रो स्थानमा छ । सौराहा जारी लिगमा एक मात्र अपराजित टिम हो ।

पानस ८ अंकका साथ तेस्रो स्थानमा छ । तर लिगमा पाँच खेल मात्र खेलेको पानसको हातमा एक खेल बाँकी छ । पानसको अन्तिम खेल नारायणी मोटर्स युनिक क्लब बसेनीविरुद्ध रहेको छ । सेमिफाइनल प्रवेशका लागि पानसलाई उक्त खेल जित्नै पर्ने दबाब छ । उक्त खेलमा जित हात पार्न सके पानस ११ अंकका साथ समूह उपबिजेता बन्दै सेमिफाइनलमा स्थान बनाउन सफल हुनेछ । बराबरी वा हारले सौराहाको बाटो खुल्नेछ ।

यता आजको बराबरीपछि केबिए ग्लोबल भरतपुर फुटबल क्लब (बिएफसी) एक खेल अगावै सेमिफाइनलमा प्रवेश गरेको छ । बिएफसी ५ खेलबाट १२ अंकका साथ समूह बिजेता बन्दै सेमिफाइनल प्रवेश गरेको हो ।

यस अघि आजको पहिलो खेलमा कप्तान हिमशिखर गुरुङले हृयाट्रिक गरेपछि नारायणी मोटर्स युनिक क्लब बसेनीले माडी ११ लाई पराजित गरेको छ ।

युनिकले माडीलाई ४-१ ले पराजित गरेको हो । युनिकको जितमा कप्तान हिमशिखरको हृयाट्रिकसँगै सुरेस मल्लले एक गोल गरे । माडीका कप्तान विज्ञान खड्का र सुमन महतोले एक(एक गोल फर्काए ।

खेलको १५ औं मिनेटमा हिमशिखरले गोल गर्दै युनिकलाई अग्रता दिलाएका थिए । २७ औं मिनेटमा सुरेश मल्लले फ्री किकमा सुन्दर गोल गर्दै युनिललाई दोहोरो अग्रता दिलाए ।

४७ औं मिनेटमा माडीका कप्तामन विज्ञानले गोल गर्दै अग्रता छोट्याए । लगत्तै ४८ औं मिनेटमा हिमशिखरले ब्यक्तिगत दोस्रो गोल गर्दै युनिकलाई ३-१ को अग्रता दिलाए । ५३ औं मिनेटमा हिमशिखरले हृयाट्रिक गरेपछि युनिकले ४-२ को अग्रता लियो।

६४ औं मिनेटमा माडीका सुमनले गोल गरे पनि हार टार्न सकेनन् । खेलको म्यान अफ दि म्याच युनिकका कप्तान हिमशिखर चुनिए ।

यो जितपछि युनिक पाँच खेलबाट पाँच अंक बनाउदै तालिकाको पाचौं स्थानमा उक्लिएको छ । समान खेलबाट चार अंक बनाएको माडी तालिकाको छैटौं स्थानमा झरेको छ ।

लिगमा शुक्रबार एक मात्र खेल हुनेछ । शुक्रबार दिउँसो ३ बजे वातासिनो जि ब्वाइज र केबिए ग्लोबल भरतपुर फुटबल क्लब (बिएफसी) भिड्नेछन् । चितवन जिल्ला फुटबल संघको आयोजनामा भरतपुर ७ कृष्णपुरस्थित रंगशालामा जारी लिग १२ गतेसम्म चल्नेछ ।

  • प्रकाशित मिति : माघ ६, २०७८, बिहीवार १२:५८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८