• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

कानूनको समयसिमा भित्रै स्थानीय तहको निर्वाचन गर्नेबारे छलफल


कानूनको समयसिमा भित्रै स्थानीय तहको निर्वाचन गर्नेबारे छलफल

माघ ४,२०७८

काठमाडौँ –  सत्तारूढ गठबन्धन दलहरुबीच संविधान र कानूनले तोकेको समय सिमाभित्रै स्थानीय तहको निर्वाचन गर्ने विषयमा सहमति भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सरकारलाई सहयोग गर्न गठित उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकमा निर्वाचनसँग जोडिएका विषयमा छलफल केन्द्रित रहेको नेकपा (माओवादी केन्द्र) का नेता देवबहादुर गुरुङले राससलाई जानकारी दिए ।

बैठकमा नेताहरुले संविधान र कानूनले गरेको व्यवस्थाअन्तर्गत नै रहेर स्थानीय तहको निर्वाचन सम्पन्न गर्नुपर्छ भन्ने सुझाव दिएको जानकारी दिँदै उनले कोभिड–१९ को चुनौतीको कसरी सामना गर्ने भन्ने विषयमा पनि छलफल भएको बताए ।

यस बारेमा सत्तारुढ पाँच दलले आ–आफ्नो दलभित्र थप छलफल गर्ने र शीर्ष नेताहरुले एक÷दुुई दिनमा टुङ्गो लगाउने सहमति भएको नेता गुरुङले बताए । निर्वाचनको मिति भने मन्त्रिपरिषद्ले तोक्ने बैठकमा सहमति भएको छ ।

यसैगरी यही माघ १२ गते हुन गइरहेको राष्ट्रियसभा सदस्यको निर्वाचनलाई कोभिड–१९ को संक्रमणको चुनौतीका बाबजुद सफल रुपमा सम्पन्न गराउने विषयमा समेत बैठकमा छलफल भएको थियो ।

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको समन्वयमा भएको बैठकमा सत्तारूढ गठबन्धन दल कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाका शीर्षनेता सहभागी थिए ।

राष्ट्रियसभाका एक तिहाइ सदस्यको निर्वाचन यही माघ १२ गते हँुदैछ भने कानूनमा स्थानीय तहका पदाधिकारीको अवधि सकिनु अगावै निर्वाचन गर्नुपर्ने प्रावधान छ । सत्तारूढ गठबन्धन दलहरुले सरकार सञ्चालनमा सहयोग गर्न कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा उच्चस्तरीय समन्वय समिति गठन गरेका थिए ।रासस

  • प्रकाशित मिति : माघ ४, २०७८, मंगलवार ०६:५४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८