• असार ११, २०८३, बिहीवार Thursday, 25 June, 2026

विदेशमा अध्ययनरत नेपाली विद्यार्थीद्वारा छात्रवृत्तिका लागि सहयोग


विदेशमा अध्ययनरत नेपाली विद्यार्थीद्वारा छात्रवृत्तिका लागि सहयोग

 

पुस २८,२०७८

मेचीनगरको धुलावारी माध्यमिक विद्यालयलाई विदेशमा अध्यययनरत नेपाली विद्यार्थीले गाँस कटाएर छात्रवृत्ति रकम पठाएका छन् ।

कक्षा १ देखि १२ सम्म अध्ययन गरिरहेका विपन्न समुदायका ३९ विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउन अमेरिका र युरोपमा अध्ययनरत नेपाली विद्यार्थीले किन्जल फाउण्डेशन नेपालमार्फत सहयोग पठाएका हुन् ।

फाउण्डेशनमार्फत रु तीन लाख १६ हजार ५०० रकम मङ्गलबार विद्यालयको बैंक खातामा जम्मा भएको प्रधानाध्यापक महेन्द्रविलाश लुइँटेलले जानकारी दिए । फाउण्डेशन र विद्यालयबीच मङ्गलबार एक समारोहबीच छात्रवृत्ति वितरण गर्ने सम्बन्धमा औपचारिक सम्झौता भएको छ । फाउण्डेशनका संयोजक आशिष लामिछाने र विद्यालयका प्रधानाध्यापक लुइँटेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन ।

फाउण्डेशनका संयोजक लामिछानेले आर्थिक अभावले पढाइ छाड्न लागेका विपन्न समुदायका विद्यार्थीलाई अध्ययनमा आर्थिक सहयोग पुर्‍याउन अमेरिका र युरोपमा अध्यययनरत नेपाली विद्यार्थीले गाँस कटाएर पठाएको छात्रवृत्ति रकमको सदुपयोग गर्न विद्यालयलाई आग्रह गरेका छन । दाताबाट प्राप्त सो रकम विद्यालयको खातामा जम्मा गरिदिएको र छात्रवृत्तिका लागि छनोट भएका विद्यार्थीको शैक्षिक आवश्यकतानुसार सहयोग रकम उपलब्ध गराइने सहमति भएको फाउण्डेशनका व्यवस्थापक हरि दाहालले जानकारी दिए ।

विद्यालयका सहप्रधानाध्यापक तेजप्रसाद चम्लागाईँका अनुसार सम्झौताबमोजिम कक्षा १ देखि ५ सम्मका विद्यार्थीले वार्षिकरूपमा रु पाँच हजार ८००, कक्षा ६ देखि ८ सम्मका विद्यार्थीले रु आठ हजार ४५० र कक्षा ९ देखि १२ सम्मका विद्यार्थीले रु ११ हजार ६०० छात्रवृत्ति पाउने भएका छन् । विद्यार्थीले छात्रवृत्तिवापत के–कस्तो सहयोग प्राप्त गरे भन्ने प्रतिवेदन विद्यालयले हरेक तीन महिनामा फाउण्डेशनलाई बुझाउनुपर्ने सम्झौतामा उल्लेख छ ।रासस

  • प्रकाशित मिति : पुस २८, २०७८, बुधवार ०३:०६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८