पुस २६, २०७८
काठमाडौँको नागढुङ्गा र धादिङको नौबिसे सुरुङ मार्गले आकार लिन लाग्दा अरू पाँच स्थानमा सुरुङ मार्ग निर्माणका लागि सरकारले प्रक्रिया थालेको छ ।
पहाडी क्षेत्रका पाँचवटा सडकखण्डमा सुरुङ निर्माण गर्ने प्रक्रिया अगाडि बढाइएको छ । बागलुङ–बिहुँ–नरेठाँटी सुरुङ मार्ग बागलुङ, फुस्रेखोला–छोरेपाटन (पोखरा)–स्याङ्जा–गुडीखोला सडक सुरुङ कास्की–स्याङ्जा, रारा राजमार्गअन्तर्गत कुशेपाटन–जाजरकोट (ब्याउलीढुङ्गा)–जुम्ला (इमलिचा खोला), प्रवाश–जोरटे (पाल्पा) र भक्तपुरको ताथली–सिन्धुपाल्चोकको रविओपी सडकमा सुरुङ निर्माणका लागि सम्भाव्यता अध्ययन गर्न लागिएको हो । सडक विभागले ती सुरुङ मार्गको सम्भाव्यता अध्ययन गर्न परामर्शदाता छनोटका लागि राष्ट्रिय कम्पनीहरूसँग आशयपत्र मागेको छ।
सडक विभागअन्तर्गतको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका निर्देशक प्रभात झाका अनुसार प्रस्तावित हरेक सुरुङ मार्गको सम्भाव्यता अध्ययनका लागि ५०र५० लाख रुपियाँ खर्च गरिनेछ । अबको तीन महिनाभित्र कम्पनी छनोट गरिने र छनोट कम्पनीले चार महिनाभित्र सम्भाव्यता अध्ययन गरी सडक विभागलाई प्रतिवेदन बुझाउने छन् । त्यसपछि विस्तृत अध्ययनको प्रक्रिया अगाडि बढाइनेछ ।
सुरुङ मार्गको निर्माण इन्जिनियरिङ खरिद निर्माण ९ईपीसी० मोडलमा गरिने निर्देशक झाले बताउनुभयो । यस मोडलअनुसार छनोट भएका कम्पनीले सुरुङ मार्ग निर्माणको ‘सर्भे, डिजाइन र जडान’ आफैँले गर्नुपर्ने हुन्छ । त्यसैगरी सुरुङ मार्ग निर्माण सम्पन्न भएको एक वर्षसम्म गम्भीर त्रुटि देखिए त्यसको नियमित मर्मत सम्भारको पनि जिम्मेवारी निर्माण कम्पनीको नै हुनेछ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८