[ फाेटाे : Covid vaccine (Photo/iStock) ]
पुस १८,२०७८
बैतडी जिल्लाको जोरायल गाउँपालिकाले विद्यालयमा नै विद्यार्थीलाई कोरोनाविरुद्धको खोप लगाउन सुरुआत गरेको छ ।
पालिकाभरिका सबै विद्यालयमा अध्यनरत १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई खोप लगाउन सुरु गरिएको हो। इलाका स्वास्थ्य कार्यालय गड्सेराका अनमी विद्यी भण्डारीलेका अनुसार खोप कार्यक्रम सुरु भइसकेको छ।
उनले भनिन , “विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई हामीले कोरोनाविरुद्धको खोप लगाउन सुरु गरेका छौँ, विद्यार्थीहरू बढी जोखिममा पर्ने भएकाले खोप लगाउन थालिएको हो ।”
प्रायः स्कुले बालबालिका कोरोना जोखिममा पर्ने गरेका र सरकारले सबै विद्यार्थीलाई खोप दिने निर्णय गरेअनुसार उक्त पालिकामा रहेका विद्यार्थीलाई एकैसाथ खोप दिन थालिएको बताइएको छ ।
हालसम्म तोकिएका उमेर समूहका विद्यार्थीले आफ्नो विद्यालय तथा अन्य क्षेत्रमा तोकिएको खोप केन्द्रमा गएर खोप लगाउनुपर्ने व्यवस्था मिलाइएको गाउँपालिका स्वास्थ्य संयोजक गोविन्द विष्टले जानकारी दिए ।
विद्यार्थीलाई खोप लगाउने अभियान सुरु भएपछि विद्यार्थी पनि खुशी साथ खोप लगाउन आउन थालेका नवोदय मावि गड्सेरामा प्राचार्य फणेन्द्र खडायतले बताए।
कम्बल वितरण
जिल्लामा भएको हिमपातका कारण चिसो बढेपछि यहाँको दिपायल सिलगढी नगरपालिकाका विभिन्न वडाका नागरिकलाई चिसोबाट जोगाउन न्यानो कम्बल वितरण गरिएको छ । चिसोको समयमा न्यानो कम्बल पाएपछि यहाँका विपन्न वर्गका नागरिकसहित एकल महिला निकै खुशी भएका छन् ।
कांग्रेसका नेता लक्ष्मण खड्काको सहयोग एवं लायन्स क्लब अफ धनगढीको आयोजनामा दिपायल सिलगढी नगरपालिका–४ का ८०, वडा नं ८ का ७०, वडा नं ६ का ७० जना एकल महिला गरिब, विपन्न तथा ज्येष्ठ नागरिकलाई न्यानो कम्बल वितरण गरिएको छ ।
नगरपालिकाका नौ वडामा रहेका नागरिकलाई चिसोबाट जोगाउनका लागि ६४० थान कम्बल तथा ३०० थान सल ल्याइएको र बाँकी रहेका वडामा केही दिनभित्रै वितरण गरिने योजना रहेको काँग्रेस उपसभापति विजय खड्काले जानकारी दिए ।
प्रतिव्यक्ति एउटा कम्बल र न्यानो सलका दरले वितरण गरिएको छ । जाडोको समयमा वितरण गरिएका न्यानो कम्बलले यहाँका एकल महिला गरिब, विपन्न तथा ज्येष्ठ नागरिकलाई राहत पुगेको स्थानीयवासी बताउँछन् ।रासस
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८