• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

माओवादी राष्ट्रिय सम्मेलन : क-कसले पाउदैछन प्रचण्डको टीका ?

  • खबरदाता

माओवादी राष्ट्रिय सम्मेलन : क-कसले पाउदैछन प्रचण्डको टीका ?

पुस ११, २०७८

नेकपा माओवादी केन्द्रले यही पुस ११ देखि १३ सम्म राष्ट्रिय सम्मेलन गर्दै छ । नयाँ नेतृत्व चयन र पार्टीलाई दिशा निर्देश गर्ने नीति तय गर्न आयोजना गरिने यस सम्मेलनले माओवादीलाई २०६४ सालको जस्तै गरी पुनःजीवित गर्ने लक्ष्य लिएको छ ।

पार्टीलाई नयाँ जोस र जाँगरका साथ पहिलाकै अवस्थामा फर्काउने भने पनि नेतृत्वमा कुनै नयाँपन देखिने छाँट भने छैन । अध्यक्षमा पुष्पकमल दाहालको विकल्पमा कसैले दावी गर्ने आँट देखाएका छैनन् । उनै दाहाललाई अनुमोदन गर्ने मञ्च बन्दै छ आसन्न राष्ट्रिय सम्मेलन पनि ।

अध्यक्षबाहेकका पदमा भने नेताहरुबीच तँछाडमछाड देखिन्छ । दाहाल अध्यक्षमै दोहोरिने भएपछि बाँकी पदमा को आउँछन् भनेर अनुमान गर्न कार्यकर्तालाई गाह्रो परिरहेको छ । अध्यक्षमा दाहाललाई कसैले चुनौती दिने आँट नगरे पनि अरु पदका आकांक्षीबीच भने तीब्र रस्साकस्सी सुरु भइसकेको छ । भित्रभित्रै रस्साकस्सी भइरहे पनि तिनले आफ्नो चाहना सार्वजनिक रुपमा व्यक्त गर्न सकेका छैनन् । अझ रोचक पक्ष के भने ती आकांक्षीहरु सबैले अध्यक्ष दाहालकै मुख ताकिरहेका छन् ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापति र अन्य पदका धेरै आकांक्षीले सार्वजनिकरुपमा आफ्नो उम्मेदवारी घोषणा गरेका थिए । आकांक्षीहरुले प्यानल नै खडा गरेर प्रतिस्पर्धासमेत गरे । तर माओवादी केन्द्रमा आइतबारदेखि हुने राष्ट्रिय सम्मेलनबाट नेतृत्वमा पुग्नका लागि अहिलेसम्म कसैले पनि उम्मेदवारी घोषणा गरेको छैन ।

पार्टीको अन्तरिम विधान, २०७८ ले अध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिवसहित २ सय ९९ सदस्यीय केन्द्रीय कमिटीको परिकल्पना गरेको छ । विधानको व्यवस्थाले पदाधिकारीमा आकांक्षीको व्यवस्थापन हुन नसक्ने भएपछि दाहालले संख्या बढाउने गृहकार्यका लागि यसअघि नै कार्यदल बनाइसकेका छन् ।

दाहालले आफूपछिका नेता नारायणकाजी श्रेष्ठलाई व्यवस्थापन गर्न वरिष्ठ उपाध्यक्षको पद सिर्जना गर्ने तयारी गरेका छन् । माओवादीमा अध्यक्षपछि महासचिव पद शक्तिशाली मानिन्छ । यस पदमा लागि प्रवक्ता कृष्णबहादुर महरा तथा स्थायी कमिटी सदस्यहरु जनार्दन शर्मा, वर्षमान पुन र पम्फा भुसालले ताकेका छन् ।

महरा यसअघि नै महासचिवको जिम्मेवारी पाइसकेका नेता हुन् । यसपालि महासचिव हुने नेतालाई कार्यकर्ताले दाहालका उत्तराधिकारीका रुपमा लिने बुझाइका कारण चारै नेता यो पद जसरी पनि आफ्नो पक्षमा पार्न कसरतरत छन् ।

यी चारमध्ये पनि शर्मा र पुनलाई मुख्य दाबेदार मानिएको छ । महराले यसअघि नै महासचिवको जिम्मेवारी सम्हालिसकेको र भुसाल २०६९ मा पार्टी फुटाएर पुनः फर्किएकाले शर्मा र पुनलाई महासचिवको मुख्य दाबेदार मानिएको हो । भुसालप्रति दाहाल पनि त्यति सकारात्मक देखिएका छैनन् ।

पुन र शर्माबीच पार्टीमा पहिलेदेखि नै प्रतिस्पर्धा छ । पार्टीको भातृ संगठन अनेरास्वियु क्रान्तिकारीको नेतृत्व चयनमा उनीहरुको प्रतिस्पर्धा यसअघि नै छताछुल्ल भइसकेको छ । उनीहरु दुवै जना माओवादीको तत्कालीन जनमुक्ति सेनाका कमाण्डर पनि हुन् । स्वास्थ्य अवस्थाका कारण पुन अढाइ महिनादेखि विदेशमा उपचाररत छन् । शर्मा अर्थमन्त्रीको जिम्मेवारीमा छन् । पार्टीभित्र आफू अप्ठेरोमा पर्दा नजिकबाट सहयोग गरेका नेता भएकाले शर्मा र पुनमध्ये एकलाई रोज्न दाहाललाई सजिलो छैन । यो अवस्थामा महराको भाग्य चम्किन सक्ने ठानिएको छ ।

अध्यक्ष दाहालले पनि महरालाई नै अघि बढाउन खोजेको केही घटनाक्रमले देखाउँछ । गत वर्ष चारित्रिक मुद्दामा फसेपछि बेचैन बनेका महरा अदालतबाट सफाइ पाएर फर्किनेबित्तिकै प्रवक्ताको जिम्मेवारी सुम्पेर राजनीतिमा पुनःस्थापित हुने वातावरण बनाइदिएको छर्लंग छ । अब कार्यकर्तामाझ उनीप्रति कस्तो छाप छ र आमजनताले कसरी लिएका छन् भन्नेचाहिँ आगामी दिनले देखाउँदै जाला । महराका नाममा दाहालले पार्टी र स्वयं आफ्नो साखसमेत दाउमा राखेर जोखिम मोलेकोचाहिँ प्रस्टै छ ।

उपाध्यक्षमा स्थायी कमिटी सदस्यहरु हरिबोल गजुरेल, गणेश साह र देव गुरुङले अपेक्षा गरेका छन् । त्यस्तै मातृका यादव, लीलामणि पोखरेल र गिरिराजमणि पोखरेललाई पनि पदाधिकारीमै समेट्नुपर्ने चुनौती प्रचण्डसामु छ । महासचिवको पद एउटा भएकाले अरु तीन दाबेदारलाई पनि उपाध्यक्षको संख्या बढाएर व्यवस्थापन गर्नुपर्ने हुन सक्छ । विधानमा उपमहासचिवको पद भए पनि त्यसलाई हटाएर सचिवका आकांक्षी व्यवस्थापन गर्नेबारे पनि माओवादीभित्र छलफल भइरहेको छ । सचिवमा शक्ति बस्नेत, रेखा शर्मा, चक्रपाणि खनाल र देवेन्द्र पौडेलले चासो देखाएका छन् । जयपुरी घर्ती र ओनसरी घर्ती पनि सचिवकै दाबेदारका रुपमा प्रस्तुत भइरहेका छन् ।

आकांक्षी धेरै भएकाले माओवादीमा पनि प्रतिस्पर्धाबाटै नेतृत्व चयन हुनुपर्छ भन्ने जमात कम छैन । तर माओवादीमा कार्यकर्ताको लोकप्रिय मतबाट नेता चयन गर्ने लोकतान्त्रिक विधि अपनाइन्छ भन्नेमा धेरैलाई विश्वास छैन । किनभने माओवादीले पार्टीभित्र अहिलेसम्म निर्वाचनको अभ्यास नै गरेको छैन । दाहालले प्रस्ताव गर्ने नाममा ताली पिटेर अनुमोदन गर्ने माओवादीको अहिलेसम्मको स्थापित विधि हो । यसपालि पनि त्यही हुने सम्भावना बढी छ । बरु सकेसम्म धेरैको मुखमा बुजो लगाएर अबका तीनै तहका चुनावमा जानु सुरक्षित हुने धेरैको आकलन छ । त्यसैले कसले के पद पाउँछ भन्नेमा धेरै नेताहरुको नजर कार्यकर्तातिर नभई अध्यक्ष दाहालतिर सोझिएको छ ।

  • प्रकाशित मिति : पुस ११, २०७८, आइतवार ००:५१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८