• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

अब आयात गर्दा शतप्रतिशतसम्म नगद मार्जिन


अब आयात गर्दा शतप्रतिशतसम्म नगद मार्जिन

पुस ६, २०७८

नेपाल राष्ट्र बैंकले विभिन्न वस्तु आयात गर्न प्रतीतपत्र (एलसी) खोल्दा अनिवार्य रूपमा नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेको छ । राष्ट्र बैंकले विलासी वस्तुको हकमा यस्तो व्यवस्था गरेको हो ।

राष्ट्र बैंकले सोमवार आफ्नै बैंकिङ विभाग, प्रादेशिक कार्यलयसँगै वाणिज्य बैंक र राष्ट्रिय स्तरका बैंकहरूको नाममा एक निर्देशन जारी गर्दै यस्तो व्यवस्था गरेको हो । अब उनीहरूले तोकिएको वस्तुको आयात गर्ने प्रयोजनका लागि एलसी खोल्दा आयातकर्ताबाट अनिवार्य रूपमा नगद मार्जिन लिनुपर्ने छ ।

राष्ट्र बैंकले विभिन्न हार्मोनिक कोड भएका वस्तुहरूको आयातमा यस्तो व्यवस्था लागू गरेको हो । विशेषगरी ०९०७, १७, २२, २४, ३३०३, ३३०४, ३३०५, ४४, ६४, ६५, ६६, ६७, ६८, ६९, ७०१०, ७१०६, ८७०३, ८७११, ९४०३ / ९५०४.४०.०० हार्मोनिक कोड भएका वस्तुको आयात गर्दा ५० प्रतिशतदेखि शतप्रतिशतसम्म मार्जिन राख्नुपर्ने व्यवस्था गरेको हो । ८७०३ / ८७११ हार्मोनिक कोड भएका वस्तुको आयात गर्दा ५० प्रतिशत नगद मार्जिन राख्नुपर्नेछ । अन्य वस्तुमा शतप्रतिशत नै नगद मार्जिन राख्नुपर्ने राष्ट्र बैंकको निर्देशन छ । राष्ट्र बैंकले चाँदी, मोटर साइकल, भेइकल, चिनी, मेटल फर्निचर, पानी, सिसाजन्य पदार्थ, मेकअपका सामानलगायत वस्तुको आयातमा यस्तो व्यवस्था गरेको हो ।

राष्ट्र बैंकले विभिन्न शर्त राख्दै उक्त वस्तुहरूको आयात गर्दा मार्जिन राख्नुपर्ने व्यवस्था गरेको हो । त्यसरी राखिने मार्जिनमा ब्याज प्रदान गर्न नपाइने व्यवस्था गरिएको छ । साथै, मार्जिन रकम राख्ने प्रयोजनै लागि कर्जा पनि प्रवाह गर्न पनि नपाइने राष्ट्र बैंकको निर्देशन छ । बैंकहरूले एलसी खोल्ने बेलामा नै मार्जिन रकम लिनुपर्नेछ । साथै, आयातको भुक्तानी गर्दा त्यो रकम प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ ।

उद्योगहरूले आफ्नै प्रयोजनका लागि कच्चा पदार्थ आयात गर्दा, औषधिजन्य प्रयोजनका लागि हुने आयातमा यो व्यवस्था लागू हुने छैन । यस्तै, नेपाल सरकारका निकाय, कूटनीतिक नियोग र अस्पतालहरूले आयात गर्ने वस्तुमा पनि यो व्यवस्था लागू नहुने बताइएको छ ।

राष्ट्र बैंकले विदेशी मुद्रा सञ्चिति घट्दो अवस्थालाई दृष्टिगत गर्दै यस्तो व्यवस्था गरेको हो । पछिल्लो समय विदेशी मुद्रा सञ्चिति निरन्तर घट्दै गएको छ । विशेषगरी आयातमार्फत नै विदेशी मुद्रा बढी बाहिरीएको छ । फलस्वरूप शोधनान्तर स्थिति पनि कात्तिक मसान्तसमम् रू. १ खर्ब ५० अर्बले घाटामा गइसकेको छ ।

यी यस्ता परिसूचकलाई नियन्त्रण गर्ने उद्देश्यसहित यस्तो कदम उठाएको राष्ट्र बैंकका प्रवक्ता डा। गुणाकार भट्ट बताउँछन् । ‘आयात बढी हुँदा विदेशी मुद्रा बढी बाहिरियो । फलस्वरूप विदेशी मुद्रा सञ्चिति घट्ने र शोधनान्तर स्थितिमा पनि चाप पर्यो,’ उनले भने, ‘त्यसैले तत्कालका लागि यसमा केही नियन्त्रण गर्न खोजिएको हो । अवस्था सामान्य भएपछि यो व्यवस्था हटाउँछौं ।’ तत्काल अत्यावश्यक वस्तुबाहेकको हकमा यस्तो व्यवस्था गरिएको उनको भनाइ छ । राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा यसको परिकल्पना पनि गरेको थियो ।

केही बैंकहरूले अहिले पनि विभिन्न वस्तुको आयातका लागि एलसी खोल्दा मार्जिन लिइरहेका छन् । अहिले राष्ट्र बैंकले त्यसलाई अल्पकालीन रूपमा भए पनि नीतिगत रूपमा व्यवस्था गरेको छ ।

  • प्रकाशित मिति : पुस ६, २०७८, मंगलवार ०१:४१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८