पुष ५,२०७८
शेरबहादुर देउवा दोस्रो कार्यकालका लागि निर्वाचित भएको भोलिपल्टै उनैसँग पराजित नेता डा शेखर कोइरालाले महाधिवेशन प्रतिनिधिलाई धन्यवाद ज्ञापन कार्यक्रम आयोजना गरे। त्यहाँ उनले देउवालक्षित सम्बोधन गरे ‘जसरी साढे पाँच वर्ष पार्टी बेथितिमा चल्यो। त्यसरी नै चल्न थाल्यो भने हामी सशक्त रुपले प्रस्तुत हुनेछौँ।’
देउवाले साढे पाँच वर्षसम्म पार्टीलाई विधि र थितिभन्दा बाहिरबाट चलाएको आरोप लाग्दै आएको थियो। त्यस्तो आरोप लगाउनेमा संस्थापनइतरका समूहहरु थिए। उनी दोस्रो कार्यकालका लागि निर्वाचित भएको भोलिपल्टैदेखि शेखर पक्षले देउवालाई विगतकै कार्यशैली दोहोर्याउन नदिने सन्देश दिन थालेको छ।
तेह्रौँ महाधिवेशनपछिको चार वर्षे कार्यकाललाई लम्ब्याएर साढे पाँच वर्ष पुर्याएका देउवालाई यसपटकको कार्यकाल चार वर्षको मात्रै भएको शेखर पक्षले स्पष्ट पारिसकेको छ। ‘तपाईंको कार्यकाल चार वर्ष मात्रै हो। चार वर्षे कार्यकालको सफलताको कामना पनि गर्दछु,’ मंसिर २९ मा आयोजित धन्यवाद ज्ञापन कार्यक्रममा उनले भने। यहाँ कोइरालाले ‘चार वर्ष मात्रै’लाई विशेष जोड दिएको कुरा उल्लेखनीय छ। कार्यकाल बढाइए प्रतिवाद गरिने उनी पक्षका नेताहरुले अहिल्यैदेखि भनिरहेका छन्।
२०७२ मा देउवा निर्वाचित हुँदै गर्दा पुरानो विधान थियो। उक्त विधानमा सभापतिलाई ‘असीमित’ अधिकार रहेको भन्दै संशोधित विधानमा खुम्च्याइयो।
तत्कालीन विधानमा सभापतिसहित महामन्त्री र कोषाध्यक्ष एकरएक जना मात्रै निर्वाचित हुने व्यवस्था थियो। पदाधिकारीका अन्य सदस्य मनोनित गर्ने अधिकार सभापतिलाई थियो। त्यसले गर्दा पार्टी पदाधिकारीदेखि केन्द्रीय समितिमा सभापति निकै शक्तिशाली हुन्थे। त्यसको फाइदा देउवाले पनि उठाए। संशोधित विधानमा भने त्यस्ता कैयौं प्रावधान हटाइए। अहिले १४ सदस्यीय पदाधिकारीमा कोषाध्यक्ष मात्रै मनोनित हुने व्यवस्था छ। संशोधित प्रावधानले देउवालाई स्वभाविक प्रतिकूलता थपिदिएको छ।
पदाधिकारीमा बहुमत सदस्य देउवा पक्षका देखिए पनि उनीहरु मुख्य भूमिकामा रहँदैनन्। उपसभापतिमा निर्वाचित पूर्णबहादुर खड्का सभापति देउवा निकट हुन्। तर, सभापतिका लागि महामन्त्री आफू पक्षीय हुनुले विशेष अर्थ राख्छ। तर, महामन्त्रीमा उनले उठाएका दुवै जना पराजित भए। अर्कै समूहबाट प्रतिस्पर्धा गरेका गगन थापा र विश्वप्रकाश शर्मा महामन्त्रीमा विजयी भए।
केन्द्रीय कार्यालय रेखदेखदेखि लिएर दैनिक कार्यमा सभापतिलाई सहयोग पुर्याउने कर्तव्य पनि महामन्त्रीकै हो। बैठकका लागि प्रतिवेदन तयार गर्ने तथा प्रस्तुत गर्ने अधिकार पनि महामन्त्रीमा हुन्छ। बैठकमा छलफलका अजेण्डा नै महामन्त्रीले प्रस्तुत गर्ने भएकाले देउवाले आफू अनुकूलका प्रस्ताव मात्रै पेश गर्ने सम्भावना अब न्यून रहन्छ।
सभापतिलाई सहयोग पुर्याउने महामन्त्री नै फरक धारबाट निर्वाचित भएकाले देउवाका आगामी दिन असहज हुने देखिन्छ। तेह्रौं महाधिवेशनबाट निर्वाचित महामन्त्री डा शशांक कोइरालाको भूमिका निष्क्रिय थियो। देउवाले मनोनित गरेका महामन्त्री पूर्णबहादुर खड्का उनका लागि अनुकूल थिए।देउवा मन खुसि चलाए अब सेखर टिम रचनात्मक हुनेदेखिन्छ।हरेक इस्युमा प्रश्न उठाउन सक्ने छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८